शनिबार, साउन १२ गते २०८१    
images
images
images

जर्मन ब्रान्ड मर्सिडिज-बेन्जको व्यापारमा शंकर समूहको प्रवेश

images
सोमबार, चैत ७ २०७८
images
images
जर्मन ब्रान्ड मर्सिडिज-बेन्जको व्यापारमा शंकर समूहको प्रवेश
images

काठमाडौं- जर्मन विलाशी कार निर्माता कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता गौतम ट्रेडर्सको सेयर बिक्री भएको छ। गौतम ट्रेडर्सको करिब ५० प्रतिशत सेयर शंकर समूहले खरिद गरेको हो। यसअघिका दुई साझेदारको सेयर शंकर समूहका निर्देशक साहिल अग्रवालले किनेका हुन्। 

images
images

अग्रवालले मर्सिडिजको नेपालका लागि आधिकारिक बिक्रेता गौतम ट्रेडर्सको सेयर खरिद गरेसँगै शंकर समूह मर्सिडिजको व्यापारमा प्रवेश गरेको हो। मर्सिडिज बेन्जका विलाशी कार दुई दशकभन्दा अघिदेखि नेपाली बजारमा आधिकारिक रुपमा बिक्री हुँदै आइरहेको छ।

images

अटोमोबाइल व्यापारमा आक्रामक बजार विस्तारको रणनीतिमा रहेको शंकर समूह पछिल्लो समय विभिन्न ब्रान्ड भित्र्याइरहेको छ। यो समूहले केही समय अघिमात्र चिनियाँ ब्रान्ड जेएमसी भित्र्याएको थियो। 

शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले नेपाली बजारमा भारतीय दुईपांग्रे ब्रान्ड टीभीएसका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ। तीन वर्षअघि जगदम्बा मोटर्सले मलेसियन ब्रान्ड प्रोटोनका कारसमेत नेपाल ल्याएर बिक्री गर्दै आएको छ। 

images

दुईपांग्रेमा राम्रो पर्फमेन्स गरिरहेको शंकर समूहले चारपांग्रे अर्थात कारको व्यापारमा भने आशातित उपलब्धि हासिल गर्न सकेको छैन। यसको मुख्य कारण मलेसियन ब्रान्ड भएको र त्यसमा नेपाली उपभोक्ताले रोज्ने रेन्जका कार नहुनु हो। त्यसैले शंकर समूह उपयुक्त ब्रान्डको खोजिमा थियो। 

प्यासेन्जर कार बिक्री गर्नु/आधिकारिक बिक्रेता हुनु नेपाली व्यवसायिक घरानाका लागि ‘प्रेष्टिज’कै विषय बनिसकेको छ। त्यसमा शंकर समूहले जुन अपेक्षा गरेर प्रोटोन ब्रान्ड ल्याएको थियो त्यसबाट उपलब्धी नहुने भएपछि नयाँ ब्रान्डको खोजीमा थियो। 

नेपाली उपभोक्ताले रोज्ने खालका र यहाँको बाटोअनुसार सुहाउँदो नयाँ ब्रान्ड तत्कालै फेला नपरेपछि शंकर समूहका निर्देशक साहिल यहाँ बिक्री हुँदै आएका ब्रान्डतर्फ केन्द्रित भए र मर्सिडिजको नेपालका लागि आधिकारिक बिक्रेता गौतम ट्रेडर्समा पुगे। 

गौतम ट्रेडर्समा यसअघि दीपक गौतम, विनोद सिंह, विकास राणा र किशोरचन्द्र बादे श्रेष्ठ गरि चार जना लगानीकर्ता थिए। साहिलले उक्त कम्पनीमा विकास राणा र किशोरचन्द्र बादे श्रेष्ठको नाममा रहेको सेयर खरिद गरेर प्रवेश गरेका हुन्। बिजनेस न्युजलाई प्राप्त जानकारी अनुसार यसअघिका चारजना लगानीकर्ताको नाममा कम्पनीको समान सेयर हिस्सा थियो। 

यही हिसाबले साहिल अग्रवालले मर्सिडिजको आधिकारिक बिक्रेता गौतम ट्रेडर्सको ५० प्रतिशत सेयर खरिद गरेका हुन्। हालसम्म मर्सिडिजको आधिकारिक बिक्रेता गौतम ट्रेडर्स रहेको र कारसमेत यही कम्पनीको एलसी खुलेर आए पनि बिक्री तथा बिक्री पछिको काम भने किशोर गेयर/युरो गेयरले गर्दै आएको थियो। तर दीपक गौतम तथा विनोद सिंह किशोरचन्द्र बादे श्रेष्ठको कार्यशैलीबाट असन्तुष्ट रहँदै आएका थिए। 

सोही कारण उनीहरूले पुराना साझेदार राण र श्रेष्ठलाई बिदा गरेर नयाँ साझेदार भित्र्याएका हुन्। गौतम ट्रेडर्समा भित्रिएका नयाँ साझेदार साहिल अग्रवालको कम्पनीले नै अब मर्सिडिज बेन्जको आयातलगायत सम्पूर्ण कामको व्यवस्थापन गर्ने छ। आधिकारिक बिक्रेता कम्पनीको नाम गौतम ट्रेडर्स नै रहन्छ वा नयाँ कम्पनी आउँछ त्यो भने अहिले यकिन छैन।  

नेपाली बजारमा विलाशी कार कम्पनीहरूबीच समेत प्रतिस्पर्धा हुँदै गएको छ। जर्मन ब्रान्ड मर्सिडिजका साथै बीएमडब्लू, अउडी तथा अन्य देशका ब्रान्डहरू टेस्ला, ज्यागुअर, ल्यान्ड रोभर, लेक्ससलगायत कार कार बिक्री हुँदै आएको छ। 

मर्सिडिज बेन्जको व्यापारमा शंकर समूह प्रवेश गरेसँगै विलाशी कार बजारको प्रतिस्पर्धा थप पेचिलो बन्ने देखिन्छ।

अटोमोबाइलका साथै शंकर समूह अन्य विभिन्न व्यवसायमा संलग्न रहेको छ। 


प्रकाशित : सोमबार, चैत ७ २०७८०४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend