शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सांसदको शपथसँगै विदुषी राणाको प्रतिबद्धता : घरेलु उत्पादन प्रवर्द्धन, आयात प्रतिस्थापनमा जोड

बिहीबार , चैत १२ २०८२
सांसदको शपथसँगै विदुषी राणाको प्रतिबद्धता : घरेलु उत्पादन प्रवर्द्धन, आयात प्रतिस्थापनमा जोड

आयात प्रतिस्थापनको माध्यमबाट विदेशी वस्तुमा निर्भरता घटाउने र नेपालको अर्थतन्त्रमा आत्मनिर्भरता बढाउने योजनामा पनि उनी केन्द्रित रहने बताएकी छिन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद विदुषी राणाले आज संघीय संसदमा शपथ ग्रहण गरेसँगै आफ्नो राजनीतिक यात्रामा प्राथमिकताका रूपमा घरेलु उत्पादन प्रवर्द्धन, आयात प्रतिस्थापन र निर्यात वृद्धिमा जोड दिने बताएकी छिन्।

शपथ ग्रहण समारोहपछि राणाले जिम्मेवारीपूर्ण क्षणमा आफ्नो अनुभव, सिकाइ र अवसर अब देशको सेवा र समृद्धिका लागि समर्पित गर्ने बताइन्। उनले भनिन्, 'मैले सिकेका हरेक कुरा, पाएको हरेक अनुभव अब म आफ्नै देशको विकास र समृद्धिका लागि समर्पित गर्छु। यो केवल सुरुवात हो, यो जिम्मेवारी हो र देशको सेवा गर्ने मेरो वाचा पनि।'

राणाले घरेलु उत्पादन प्रवर्द्धनमा विशेष ध्यान दिने योजना अघि सारेकी छिन्। उनले स्थानीय उद्योग र कृषिजन्य उत्पादनको गुणस्तर सुधार, बजार पहुँच विस्तार र मूल्य श्रृंखला सुदृढीकरणमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

यससँगै आयात प्रतिस्थापनको माध्यमबाट विदेशी वस्तुमा निर्भरता घटाउने र नेपालको अर्थतन्त्रमा आत्मनिर्भरता बढाउने योजनामा पनि उनी केन्द्रित रहने बताएकी छिन्।

निर्यात वृद्धिको लक्ष्यअनुसार राणाले प्रतिस्पर्धी उत्पादन, गुणस्तरीय उत्पादन र प्रविधि विकासमार्फत विदेशी बजारमा नेपाली उत्पादनको उपस्थिति मजबुत बनाउने वचन दिएकी छिन्। साथै औद्योगिकीकरणलाई गति दिने र सीपमार्फत महिलालाई आर्थिक रूपमा सशक्त बनाउने क्षेत्रमा पनि उनी प्रतिबद्ध रहने बताइन्।

संसदमा प्रवेश गर्दै राणाले आफ्नो राजनीतिक गतिविधिलाई केवल व्यक्तिगत उपलब्धि नभइ देशको विकास र नागरिकको जीवनस्तर सुधारको साधनका रूपमा अघि बढाउने लक्ष्य राखेकी छिन्। 


प्रकाशित : बिहीबार , चैत १२ २०८२१८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend