शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १२ २०८२
संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

तीनवटै दल एउटै बेञ्चमा बस्न लागेको ‍यो पहिलो पटक हो। यसपटक तीन दलमध्ये कांग्रेस प्रमुख प्रतिपक्ष र अन्य दुई दल प्रतिपक्षको भूमिकामा रहनेछन्।

काठमाडौं- संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी अब भने एउटै बेञ्चमा बस्ने भएका छन्।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यी तीन पार्टीको तत्कालको संसदीय स्थान प्रतिपक्ष बेञ्च तय गरिदिएको हो। यसअघि मुलुकका प्रमुख तीन दलको पहिचानमा रहँदै आएको थियो।

विसं २०६३ मा लोकतन्त्रको स्थापना र तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि गठन भएको अन्तरिम संसदमा यी तीनवटै दल एउटै बेञ्चमा थिए। तर २०६४ सालको संविधानसभा निर्वाचनबाट बनेको सभा र त्यसपछिका संसदमा भने कांग्रेस, एमाले र माओवादीमध्ये कुनै दुई दल सत्तामा हुँदा प्रायः एक दल प्रतिपक्षमा बस्ने गरेको अवस्था थियो।

तीनवटै दल एउटै बेञ्चमा बस्न लागेको भने यो पहिलो पटक हो। यसपटक तीन दलमध्ये कांग्रेस प्रमुख प्रतिपक्ष र अन्य दुई दल प्रतिपक्षको भूमिकामा रहनेछन्। एउटै विपक्षी बेञ्चमा तीन दल रहनेछन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आज मात्र प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

समारोहमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराए। सपथका क्रममा तीन दलका सांसदहरू प्रतिपक्षी बेञ्चमा उभिएर शपथ लिए। राजनीतिक दलहरूको सिट संख्याका आधारमा संघीय संसद सचिवालयले दलहरूको बस्ने बेञ्चको व्यवस्था गरेको छ। रासस


प्रकाशित : बिहीबार , चैत १२ २०८२१६:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend