काठमाडौं- प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन्।
निर्वाचित अधिकांश सांसद नयाँ अनुहार छन् भने सीमित दलका सदस्य मात्रै दुई वा दुईभन्दा बढी पटक निर्वाचित भएका छन् ।
निर्वाचनमा १८२ सदस्य विजयी भएको रास्वपामा यसपटक १४ जना सांसदहरु दोहोरिएका छन्। पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्ले यसअघि पनि सदनमा थिए।
यसैगरी दोहोरिने सांसदहरुमा इन्दिरा राना मगर, डा. अमरेशकुमार सिंह, सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, हरि ढकाल, अशोककुमार चौधरी, विराजभक्त श्रेष्ठ, निशा डाँगी, मनिष झा र डा. तोसिमा कार्की छन्। उनीहरु प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्।
यस निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका ३८ जना सांसदमध्ये आठ सदस्य दोहोरिएका छन्। सांसदहरु अजुर्ननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का, जनक गिरी, चन्द्रमोहन यादव, टेकबहादुर गुरु, योगेश गौचन थकाली, चन्द्रमोहन यादव र अभिशेकप्रताप साह यसअघि पनि सांसद थिए।
नेकपा एमालेका २५ जना निर्वाचित सांसदमध्ये रामबहादुर थापा बादल, पद्मा अर्याल, यज्ञबहादुर बोगटी, गणेशसिंह ठगुन्ना, मोहम्मद इस्तियाक राई, लक्ष्मीप्रसाद पोखरेल र सुहाङ नेम्वाङ दोहोरिएका हुन्।
नेपाली कम्युनिष्ट पार्टीको निर्वाचित १७ मध्ये पुष्पकमल दहाल प्रचण्ड, मातृकाप्रसाद यादव, वर्षमान पुन, धनबहादुर बुढा र महेन्द्रबहादुर शाही यसअघि सांसद थिए।
राप्रपाका तर्फबाट पाँच जना सांसदमध्ये ज्ञानेन्द्रबहादुर शाह दोहोरिएका छन्। उनी सो पार्टीका तर्फबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद हुन्।