पर्वत- पर्वतमा चैते धान रोपाइँ हुने क्षेत्रफल बर्सेनि घट्दै गएको छ। कतिपय धानखेती हुने फाँटमा सडक विस्तार र बजार विस्तार हनु, बाँदर आतंक, जनशक्ति अभावलगायत कारणले चैते धान रोपाइँ हुने क्षेत्रफल घट्दै गएको हो।
अर्थविज्ञ प्रकाश चौधरीले सिँचाइ अभाव, जनशक्ति नहुनु, मल र बीउको अभाव, मौसमी परिवर्तनलगायत कारणले यसप्रति किसानको आकर्षण घट्नाले पनि रोपाइँ हुने क्षेत्रफल घट्दै गएको बताए।
'जिल्लामा सबैभन्दा बढी चैतेधान खेती हुनेमा पैँयू गाउँपालिकाको हटिया, अर्थुनलगायत स्थानमा गाउँपालिकाको केन्द्र स्थापना भइ बजार विस्तार भएपछि रोपाइँ हुन छाडेको छ' उनले भने।
यसैगरी विहादी गाउँपालिकाको बर्राचौर फाँटमा पनि कालीगण्डकी लोकमार्ग निर्माण तथा बजार विस्तार हुनाले धान रोपाइँ हुने फाँटमा अहिले घर निर्माण हुन थालेका अर्थविज्ञ चौधरीले बताए।
फलेवास नगरपालिकाको पाङराङमा चैतेधान लगाउने खेत क्रमशः घडेरी बन्दै गएका छन्। उनका अनुसार कुश्माको पाङ, खुर्कोट मोदीको बाजुङ, देउपुरलगायत फाँटहरूमा पनि चैतेधान लगाउन छोडिएको छ।
चैतेधानको बीउ अभाव, जनशक्तिको अभाव, लगानी भन्दा उत्पादन कम हुनेलगायत कारण खेती गर्न छाडेका कुश्मा नगरपालिका-२ का कृषक वैकुण्ठ शर्माले बताए। कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा चार सय ४० हेक्टर क्षेत्रफलमा गरिएको चैतेधानको खेती चालु आवमा तीन सय ४० हेक्टर क्षेत्रफलमा सीमित भएको छ।
कार्यलयका अर्थविज्ञ चौधरीका अनुसार चैतेधान हुने खेतका फाँट क्रमशः बजार क्षेत्रमा परिणत हुनु, जनशक्तिको अभाव, मलर बीउको अभाव, सिँचाइको कमी, बाँदर आतंकलगायत समस्याका कारण चैतेधान लगाउने किसानको संख्या घटेको हो। पर्वतमा ‘चैते-५’ र ‘स्थानीय टकमारे’ जातका धान लगाउने गरिएको उनले जानकारी दिए।
संघीय सरकारको धान जोन इकाई, गण्डकी प्रदेशअन्तर्गतको कृषि विकास कार्यलय र सात स्थानीय सरकारका कृषि विकास शाखाले धान उत्पादनको क्षेत्रमा बर्सेनि बजेट कार्यान्वयन गरिरहेको भएपनि क्रमशः चैतेधान रोपाइँ हुने फाँटको क्षेत्रफल घट्दै गइरहेको अर्थविज्ञ चौधरीले बताए। उनका अनुसार जिल्लाका बर्खेधान नौ हजार २१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ। रासस