काठमाडौं- पश्चिम एसियामा बढ्दो तनाव र 'स्टेट अफ हर्मुज' क्षेत्रमा देखिएको अवरोधका कारण विश्व ऊर्जा आपूर्ति प्रणालीमा परेको दबाबको असर नेपालसम्म आइपुगेको छ। यसको प्रत्यक्ष प्रभाव नेपाली भान्सामा देखिन थालेको छ, जहाँ खाना पकाउने ग्यासको आंशिक अभावसँगै विद्युतीय चुलोप्रति आकर्षण बढ्दै जाँदा विद्युत् खपत उल्लेख्य रूपमा बढेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार पछिल्लो एक महिनामा विद्युत् माग १० देखि १५ प्रतिशतले वृद्धि भएको छ भने केही स्थानमा यो वृद्धि १५ देखि २० प्रतिशतसम्म पुगेको छ। गत वर्षको यही अवधिसँग तुलना गर्दा यो वृद्धि असामान्य रहेको उनले बताए। 'तेल संकटका कारण उपभोक्ताहरू वैकल्पिक ऊर्जातर्फ आकर्षित भइरहेका छन्, जसले विद्युत् खपत बढाएको हो,' उनले भने।
प्राधिकरणको प्रक्षेपणअनुसार सामान्य अवस्थामा गर्मी याममा विद्युत् माग २ हजार ५०० देखि २ हजार ६०० मेगावाटसम्म पुग्ने गर्छ। तर अहिलेको अवस्थालाई ध्यानमा राख्दा यो माग २ हजार ८०० देखि ३००० मेगावाटसम्म पुग्ने अनुमान गरिएको छ। अर्थात्, ऊर्जा संकटका कारण करिब ४०० मेगावाट अतिरिक्त माग थपिने देखिएको छ।
यस अवस्थालाई प्राधिकरणले चुनौतीसँगै अवसरका रूपमा पनि हेरेको छ। 'यदि अहिलेको बढेको मागलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्यौं भने भविष्यमा इन्धनको संकट हटेपछि पनि उपभोक्ताहरू विद्युत्मै निर्भर रहने सम्भावना रहन्छ,' शाक्यले भने। प्राधिकरण अहिले माग व्यवस्थापनमा केन्द्रित रहेको र आगामी दिनमा विद्युतीय उपकरण प्रयोगलाई थप प्रोत्साहन गर्ने योजना बनाइएको उनले जानकारी दिए।
अर्कोतर्फ, नेपाल आयल निगमले सम्भावित आपूर्ति संकटलाई ध्यानमा राख्दै सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने, भान्सामा विद्युतीय चुलोको प्रयोग बढाउने तथा समग्र ऊर्जा खपत व्यवस्थापनका विकल्पहरूमा काम गरिरहेको जनाएको छ। निगमका अनुसार बजारमा ग्यासको आंशिक अभाव देखिए पनि समग्र आयातको अवस्था भने सन्तोषजनक नै रहेको छ।
विद्युत् आपूर्ति सन्तुलनका लागि प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्जमार्फत भारतसँग विद्युत् किनबेच गरिरहेको छ। मार्च अन्त्यमा केही सम्झौताहरू नवीकरण गर्नुपर्ने भए पनि अप्रिल महिनामा २४ घण्टा विद्युत् आपूर्ति हुने मौखिक आश्वासन प्राप्त भएको शाक्यले बताए।
मे महिनामा भने केही परिवर्तन आउन सक्ने संकेत गरिएको छ। भारतबाट दिउँसो (सोलार आवर) र रातिको समय गरी करिब २० घण्टा विद्युत् उपलब्ध हुनसक्ने र साँझको करिब ४ घण्टा आपूर्ति नहुन सक्ने अवस्था रहन सक्छ। तर त्यो समयमा आन्तरिक ‘पिकिङ’ आयोजना सञ्चालन गरेर माग व्यवस्थापन गर्न सकिने प्राधिकरणको भनाइ छ।
वैशाख मध्यपछि नदीहरूको बहाव बढ्ने भएकाले आन्तरिक उत्पादनसमेत बढ्ने र त्यसले विद्युत् आपूर्तिमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ। यसरी, पश्चिम एसियाको भू-राजनीतिक तनावले सिर्जना गरेको ऊर्जा संकटले नेपालमा वैकल्पिक ऊर्जातर्फको रूपान्तरणलाई तीव्र बनाइरहेको देखिन्छ।