काठमाडौं- पहिलो संस्करणमा प्रदर्शक तथा अवलोकन्कर्ताहरूको प्रशंसनीय सहभागिता पछि दोस्रो संस्करणको वाडा अटो शो यही चैत ११ देखि १५ गतेसम्म पोखरामा हुने भएको छ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा)द्वारा ११ गतेदेखि १५ गतेसम्म पोखराको लेकसाइड ताल बराही चोकस्थित खेल मैदानमा दोस्रो 'नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६' आयोजना हुने भएको छ।
प्रदेशकै सबै भन्दा वृहत अटो प्रदर्शनीमा पोखरा महानगरपालिका प्रवर्द्धक रहेको छ भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गरी रहेको छ।
प्रदर्शनी सञ्चालनलाई सहजबनाउन प्रायोजनगरी सहयोग प्रदान गर्ने, पावर्डबाईमा राइड इनर्जी, इन्सुरेन्स पार्टनरमा शिखर इन्सुरेन्स, हस्पिटल पार्टनरमा दीर्घायु पोखरा हस्पिटल, टिकटिङ पार्टनरमा खल्तीलगायत रहेका छन्।
यस संस्करणमा सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भइ रहेका आधुनिक प्रविधि विकास बारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनुका साथै अवलोकनकर्ताहरूलाई प्रशंसनीय सेवा प्रवाहमा जोड दिइने छ।
अटो व्यवसायको सुदृढीकरण एवं प्रबद्र्घन, क्षेत्रिय बजारमा सहज पहुँच तथा बढ्दो मागलाई ध्यानमा राखी नेपालमै उत्पादनको सम्भाव्यतालाई समेत समयानुकूल दिशानिर्दिष्ट गर्नका लागि आवश्यक एवं व्यवस्थित वातावरण निमार्ण गर्न यस व्यापारिक प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेमा आयोजक विश्वस्त रहेको छ।
नाडा प्रजेन्ट्स वाडा अटो शो २०२६ मा १६ वटा ब्रान्डका ४ पाङ्ग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल, १० वटा ब्रान्डका २ पाङ्ग्रे, एउटा हेभी कमर्सियललगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तिय संस्थाहरूका २० वटा स्टलहरू रहने छन्।
प्रदर्शनीको थप आकर्षणका निम्ति तथा नया पुस्तालाई नेपालमा भित्रिएका र गुडाइएका एैतिहासिक पुराना मोडलका कारहरूको जानकारी उपलब्ध गराउने उदेश्यकासाथ यस संस्करणमा विशेष भिन्टेज कार शोको आयोजना गरिने छ।
यसका साथै अत्याधुनिक प्रविधि विकास एवं नवपरिवर्तन संग आम सर्वसाधारणलाई साक्षात्कार गराउनकालागि रोबोटहरू पनि प्रदर्शनमा राखिने छ जसमा युनीट्रि जि वान ह्युमानोइड रोबोट, युनिट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरू रहने छन्।
५ दिनसम्म चल्ने यस दोस्रो नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ मा ४५ हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वासका आयोजकको रहेको छ।
टिकटमा विशेष आकर्षण स्वरूप खल्ती एपबाट टिकट खरिद गर्दा प्रत्येक दिन पहिलो १ सय जना साधारण टिकटमा पचास प्रतिशत तथा पहिलो १ सय जना विद्यार्थी टिकटमा सय प्रतिशत फिर्ता हुने गरी यस अटो शोका क्यु आर पार्टनर युनियन पेद्वारा क्यास ब्याकको ब्याबस्था गरिएको छ।