काठमाडौं- विश्वकै धनाढ्य एलन मस्कले आफै चिप सेमिकन्डक्टर बनाउने घोषणा गरेका छन्। अमेरिकी विद्युतीय कार निर्माता टेस्ला तथा स्पेसएक्सका सीईओ एलन मस्कले आइतबार यस्तो घोषणा गरेका हुन्।
सीईओ एलन मस्कले स्पेसएक्स र टेस्लाले टेक्सासको अस्टिनमा एउटा विशाल फ्यासिलिटी भित्र दुईवटा उन्नत चिप कारखानाहरू निर्माण गर्ने घोषणा गरेका छन्। जसमध्ये एउटाले कार र ह्युमनोइड रोबोटहरूमा प्रयोग हुनेछ भने अर्को अन्तरिक्षमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डेटा सेन्टरहरूका लागि डिजाइन गरेर उत्पादन गरिने छ।
एलन मस्कले अस्टिनमा टेराफ्याब नामक उन्नत एआई चिप कम्प्लेक्स निर्माण गर्ने योजना सार्वजनिक गरेको एक दिनपछि आएको हो। मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'प्राविधिक रूपमा टेराफ्याब दुईवटा फ्याब (कारखाना) हुनेछन्, जसमा प्रत्येकले केवल एउटा चिप डिजाइन उत्पादन गर्नेछन्।'
यसअघि मस्कले टेस्लालाई आफ्नै एआई चिप प्लान्ट आवश्यक पर्ने बताए पनि स्पेसएक्सको संलग्नता भने अहिलेसम्म बाहिर ल्याएका थिएनन्। स्पेसएक्सले आईपीओको तयारी गरिरहेको छ र जसको भ्यालुएसन करिब १७ खर्ब अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ। हालै मस्कको सामाजिक सञ्जाल र एआई फर्म 'एक्सएआई' सँग गाभिएको छ।
शनिबार अस्टिनको एक कार्यक्रममा प्रस्तुतीकरण दिँदै मस्कले भने, 'हामीले कि त टेराफ्याब बनाउनुपर्छ, नत्र हामीसँग चिप्स हुने छैनन्।' हालको विश्वव्यापी चिप उत्पादनले मस्कका टेस्ला तथा स्पेसएक्सलगायत कम्पनीहरूको भविष्यको आवश्यकताको सानो हिस्सा मात्रै पूरा गर्न सक्ने मस्कले जिकिर गरेका छन्। मस्कले यस नयाँ परियोजनाको लागि कुनै निश्चित समयसीमा तोकेर कहिलेदेखि उत्पादन हुनेलगायत कुरा बताएका छैनन्।
मस्क निकै महत्वाकांक्षी परियोजनाहरू घोषणा गर्ने अर्बपति व्यावसायीका रुपमा चिनिन्छन्। यद्यपि तीमध्ये कतिपयमा ढिलाइ हुने वा कार्यान्वयन नहुने गरेको रोयटर्सले लेखेको छ। मस्कले टेराफ्याब परियोजनामा २० देखि २५ अर्ब डलर लगानी गर्ने अनुमान गरिएको अमेरिकी सञ्चार माध्यमले लेखेका छन्।
मस्कका अनुसार टेराफ्याबले प्रति वर्ष एक टेरावाट कम्प्युटिङ क्षमता उत्पादन गर्नेछ, जबकि हाल सम्पूर्ण अमेरिकाभरि करिब आधा टेरावाट मात्र उत्पादन भइरहेको छ। उनले स्पष्ट पारे कि एउटा चिप टेस्लाका सवारी साधन र 'अप्टिमस' ह्युमनोइड रोबोटहरूमा प्रयोग गरिनेछ। त्यस्तै अर्को चिप अन्तरिक्षमा एआई उपग्रहहरूका लागि डिजाइन गरिनेछ।
हाल एलम मस्कका कम्पनीहरुले सामसङ, टीएसएमसी, माइक्रोनलगायत कम्पनीले उत्पादन गरेका चिप प्रयोग गर्दै आएको छ।