काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँद र गर्मी मौसममा विद्युत् माग-आपूर्ति सन्तुलन कायम राख्न व्यापक तयारी सुरु गरेको छ। प्रणालीमा प्राविधिक अवरोध न्यूनीकरण र ट्रान्सफर्मर अभाव हुन नदिन २५/५० केभी क्षमता भएका १२ सय नयाँ ट्रान्सफर्मर खरिद प्रक्रियामा मुख्य प्राथमिकता दिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार, गर्मी महिनामा लोड बढ्दा ट्रान्सफर्मर जल्ने र विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या समाधान गर्न नयाँ ट्रान्सफर्मर खरिद आवश्यक देखिएको हो। यसबाहेक हाल रहेका पुराना ट्रान्सफर्मरलाई काठमाडौँ, हेटौँडा, नेपालगन्ज, बुटवल र जनकपुरस्थित पाँचवटा मर्मत केन्द्रमा युद्धस्तरमा मर्मत भइरहेको छ।
विद्युत् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन करिब ६०० स्मार्ट मिटर वितरण प्रणालीमा जडान गरिएको छ। यसले कुन ट्रान्सफर्मरमा लोड बढी छ भन्ने जानकारी तत्काल प्रणालीमा उपलब्ध गराउनेछ र लोड सिफ्टिङमार्फत ट्रान्सफर्मर जल्ने समस्या घटाउने अनुमान गरिएको छ। प्राधिकरणका अनुसार ट्रान्सफर्मर जल्ने समस्या कम भएसँगै विद्युत् आपूर्ति अवरुद्ध हुने घटना स्वतः घट्ने छ।
यस वर्ष हिउँदको पिक माग २८०० मेगावाट पुग्ने अनुमान गरिएको छ, जुन गत वर्षको २६०० मेगावाटभन्दा उच्च हो। ग्यास अभावका कारण उपभोक्ताहरू विद्युतीय चुलोतर्फ आकर्षित भएमा माग अझै बढ्न सक्ने देखिएको छ।
आन्तरिक उत्पादन र आयातको सन्तुलन मिलाउन प्राधिकरणले माथिल्लो तामाकोसी (४५६ मेगावाट), कालीगण्डकी (१४४ मेगावाट), मर्स्याङ्दी-१ (७० मेगावाट) र मर्स्याङ्दी-२ (६९ मेगावाट) गरी ७३५ मेगावाट आंशिक जलाशय विद्युत् केन्द्र तयारी अवस्थामा राखेको छ। यस्तै, कुलेखानी जलाशय (१०६ मेगावाट) सहित कुल ८४१ मेगावाट क्षमताले उच्च मागको व्यवस्थापन गर्ने रणनीति लिइएको छ।
विद्युत् आपूर्ति बढाउन भारतबाट आयातको विकल्पमा पनि प्राधिकरण तयारी अवस्थामा रहेको छ। हाल भारतबाट दैनिक करिब ३०० मेगावाट (६-७ हजार मेगावाट घन्टा) विद्युत् आयात भइरहेको छ। नेपालले भारतबाट कुल १०८० मेगावाटसम्म आयात गर्न सक्ने स्वीकृति पाएको छ। यसमा ९०० मेगावाट ढल्केबर-मुजफ्फरपुर सीमापार प्रसारण लाइनबाट र बाँकी १८० मेगावाट ‘पावर एक्सचेन्ज कमिटी (पीईसी)’ अन्तर्गत अन्य लाइनमार्फत ल्याइनेछ।
यद्यपि भारतबाट विद्युत् आयातको सम्भाव्यता करिब १२ सय मेगावाटसम्म रहेको छ। अप्रिलसम्म मागअनुसार विद्युत् उपलब्ध गराइने भए पनि मे महिनादेखि ‘सोलार आवर’मा मात्र आयात सम्भव रहेको जानकारी भारतले दिएको छ।