काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा आगामी सरकारमा अर्थमन्त्रीको तयारीमा रहेका डा. स्वर्णिम वाग्लेले गएको दशकमा नेपालको घरेलु नीतिगत तहमा बसेर वा निकट रहेर विभिन्न काम तथा पैरवी गर्दै आएका छन्।
वाग्लेले यस्ता बहस तथा छलफलमा भाग लिँदा अक्सर 'रिफ्रेन्स' लिने केही व्यक्ति तथा पुस्तक हुन्छन्। त्यसमध्ये एक हो पचास वर्ष पहिले लेखिएको एउटा अनुसन्धान पत्र। एरोन विल्डाभस्कीको सन् १९७२ मा लेखेको ‘ह्वाई प्लानिङ फेल्स इन नेपाल’ हो।
नेपालको विकास मोडल जुन ५० वर्ष पहिले नै फेल भइसकेको थियो त्यसलाई अहिलेसम्म बोक्नु नै नेपालको बिडम्बना रहेको उनको भनाइ रहँदै आएको छ। उक्त अनुसन्धान लेखमा नेपालमा योजना तथा विकास फेल हुनका पछाडिका विभिन्न कारण छन्। तीमध्ये एक हो प्रशासनिक निष्क्रियताको विरासत। जुन आजका दिनसम्म आइपुग्दा डरलाग्दो ढंगले जरा गाडेर बसेको छ।
एरोन विल्डाभस्कीले ५० वर्षपहिले लेख्दा नै राणा शासनदेखिको नेपालको प्रशासनिक यही संस्कारका कारणले पनि निर्णय प्रक्रिय जटिल रहेको र यही कारणे विकासले परिणाम दिन नसकेको औँल्याएका थिए।
जिम्मेवारीबाट पन्छिनु नै आफ्नो जागिर जोगाउने उत्तम उपाय रहेको भन्दै कर्मचारी प्रशासन नै निष्क्रियतातर्फ उन्मुख थियो। यो राणा शासनको कठोर प्रक्रियामुखी परम्पराको विरासतको निरन्तरता थियो। निर्णयका क्रममा गल्ती हुँदा त्यस्तो अधिकारीमात्र होइन उसको आगामी पुस्तासमेत दण्डित हुनपर्ने राणा शासनको परम्परा थियो। त्यति नै कठोर नभएपनि पञ्चायतमा पनि प्रशासन त्यही त्रासबाट गुज्रिएको थियो।
निर्णय गर्नुभन्दा टार्नु नै उत्तम मान्ने संस्कृति पञ्चायतको ठूलो समस्या रहेको उक्त लेखमा उल्लेख गरिएको छ। जुन अनुसन्धान पत्रको आधारमा मोडल नै परिवर्तन गर्नुपर्ने पैरवी वाग्लेले गर्दै आएका थिए। अब उनी नै शक्तिशाली सरकारको शक्तिशाली मन्त्री बन्ने तयारीमा छन्। यो समस्या अहिले पनि उस्तै छ, अझ डरलाग्दो प्रवृत्तिसहित।
५० वर्ष पहिले निर्णयबाट पन्छिने संस्कृतिले विकासमा बाधामात्र हालेको थियो तर अहिले त चारैतिर सेटिङ भएपछि जस्तो पनि निर्णय गर्ने र मुलुकलाई नोक्सानी गराउने तर स्वार्थपूर्ति नहुने भएपछि दशथरी नियम र प्रक्रिया देखाएर अल्झाउने प्रवृत्ति रहेको प्रधानमन्त्री सुशीला कार्कीले नै आफ्नो छोटो अनुभव सुनाएकी छिन्।
अहिलेको प्रशासनिक संयन्त्रमा दुई कित्ता रहेको छ, एउटा निष्क्रिय रहने सकभर निर्णय प्रक्रियामा सहभागी नहुने र हुनै परे एकल होइन सामूहिक खोजी गर्ने। अर्कोथरी, जसको चारैतिर सेटिङ भएको र कसैले केही गर्न सक्दैन भनेर ढुक्क भएकाहरू। यी जे पनि जस्तो पनि निर्णय गरिदिने गर्छन्।