शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

विशाल समूह र वैद्यज् अर्गनाइजेसनबीच एसेम्ब्ली साझेदारी : सुजुकी र मर्भिडेली एकै प्लान्टमा बन्ने

आइतबार, चैत ८ २०८२
विशाल समूह र वैद्यज् अर्गनाइजेसनबीच एसेम्ब्ली साझेदारी : सुजुकी र मर्भिडेली एकै प्लान्टमा बन्ने

सुजुकीका सबै मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल हुँदै आएका छन्। सोही प्लान्टमा सुरुवाती चरणमा मर्भिडेलीका ५ वटा मोटरसाइकल एसेम्बल हुनेछन्। त्यसपछि मर्भिडेलीका जति नयाँ मोडलका मोटरसाइकल नेपाल आउने छन् ती सबै सोही प्लान्टमा एसेम्बल भएर बजारमा आउने छन्।

काठमाडौं- नेपालमा बिक्री हुने अधिकांश मोटरसाइकल तथा स्कुटर यहीँ नै एसेम्बल भइरहेका छन्। त्यसका लागि धेरैजसो आयातकर्ताले एसेम्बल प्लान्ट स्थापना गरिसकेका छन्। अब भएकै प्लान्टसँग साझेदारी गर्ने अभ्यास पनि सुरु भएको छ। 

प्लान्ट साझेदारी गरेर मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न विशाल समूह र वैद्यज् अर्गनाइजेसन सहमत भएका छन्।

विशाल समूहले जापानी कम्पनी सुजुकीका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ भने वैद्यज् अर्गनाइजेसन करिब एक वर्षअघिदेखि इटालियन ब्रान्ड मर्भिडेली (यसअघि बेनेली)को आधिकारिक बिक्रेताको रुपमा रहेको छ। त्यस्तै वैद्यज् अर्गनाइजेसनअन्तर्गतको वैद्य इनर्जीले दुई वर्षभन्दा अघिदेखि दुईपांग्रे सेगमेन्टमा एथरका विद्युतीय स्कुटर पनि बिक्री गर्दै आएको छ।

विशाल समूहले पर्साको बिन्दाबासिनी गाउँपालिकामा सुजुकी मोटरसाइकल तथा स्कुटर उत्पादन गर्नेगरी एसेम्बल प्लान्ट स्थापना गरेर एसेम्बल गर्दै आएको छ। विशाल समूहले ठूलो क्षेत्रफलमा अत्यधुनिक सुविधासहित एसेम्बल प्लान्ट बनाएको हो। 

वार्षिक ३० हजार मोटरसाइकल तथा स्कुटर र ५ हजार तीनपांग्रे अटोरिक्सा उत्पादन क्षमतासहित विशाल समूहले एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको थियो। सो क्षमताअनुसार सुजुकीका मोटरसाइकल तथा स्कुटर उत्पादन भने भइरहेको थिएन। सोही कुरालाई सम्बोधन गर्दै प्लान्टको उत्पादन क्षमताको उपयोग गर्न र वैद्यज् अर्गनाइजेसनले मर्भिडेलीका मोटरसाइकलका लागि नयाँ प्लान्ट बनाउनुको सट्टा प्लान्ट साझेदारी गर्ने निष्कर्षमा पुगेका हुन्। 

सुजुकीका सबै मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल हुँदै आएका छन्। सोही प्लान्टमा सुरुवाती चरणमा मर्भिडेलीका पाँचवटा मोटरसाइकल एसेम्बल हुनेछन्। त्यसपछि मर्भिडेलीका जति नयाँ मोडलका मोटरसाइकल नेपाल आउने छन् ती सबै सोही प्लान्टमा एसेम्बल भएर बजारमा आउने छन्। 

वैद्यज् अर्गनाइजेसनअन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले आधिकारिक बिक्रेताको रुपमा भित्र्याएको इटालियन मोटरसाइबल ब्रान्ड मर्भिडेलीका मोटरसाइकल वीरगञ्ज प्लान्टमा परीक्षण उत्पादन सुरु भइरहेको छ। परीक्षण उत्पादन सफल भएर त्यसको सर्टिफिकेसनलगायतको काम चलिरहेको छ।

नेपालमा सुजुकीका मोटरसाइकल सुजुकी मोटर कर्पोरेसन जापानको प्रत्यक्ष समन्वयमा भइरहेकाले मर्भिडेलीका मोटरसाइकल सो प्लान्टबाट साझेदारीमा एसेम्बल गर्न उनीहरूले पनि स्वीकृति दिइसकेका छन्। 

यूटीएसले सुरुवाती चरणमा मर्भिडेलीका केही मोटरसाइकल सीबीयू (कम्प्लिटली बिउड युनिट) मै पनि आयात गरेको छ। त्यस्तैगरी कम्पनीले मर्भिडेलीका पाँच मोडलका मोटरसाइकलको सीकेडी (कम्प्लिटली नकडाउन युनिट) आयात गरेर परीक्षण गरिरहेको हो। यूटीएसले आगामी बैशाखमा मर्भिडेलीका मोटरसाइकल औपचारिक रुपमा नेपाली बजारमा बिक्रीका लागि ल्याउने तयारी गरिरहेको छ। 

विशाल समूहअन्तर्गतको भीजी अटोमोबाइल जापानी मोटरसाइकल कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता हो। यो समूहले सुजुकीका मोटरसाइकल तथा स्कुटर चार वर्षभन्दा बढी समयदेखि नेपालमै एसेम्बल गर्दै आएको छ। पहिलोपटक एसेम्बल प्लान्ट सेयर गर्ने साझेदारी भएको छ। 

मोटरसाइकल तथा स्कुटर र तीनपांग्रे सवारी उत्पादन गर्ने विशाल समूहले ग्लोबल अटोमोबाइल्स प्रालि दर्ता गरेको थियो। विशाल समूहले उक्त कम्पनीमार्फत वार्षिक ३० हजार मोटरसाइकल तथा स्कुटर र ५ हजार तीनपांग्रे अटोरिक्सा उत्पादन गर्ने प्रस्तावसहित उद्योग दर्ता गरेको थियो। उक्त उद्योगमा ४६ करोड ४५ लाख ९२ हजार ६ सय १० रुपैयाँ लगानी हुने र मध्यम वर्गको यो उद्योगले १ सय ५० जनालाई प्रत्यक्ष रोजगारी दिने दर्ता विवरणमा उल्लेख थियो। 

सरकारले एसेम्बल उद्योगलाई प्राथमिकता दिने नीतिसहित तयारीमा कर वृद्धिगरी एसेम्बल किटका लागि कर सहुलियत दिने व्यवस्था गरेको हो। योसँगै हालसम्म आइपुग्दा सबैजसो मोटरसाइकल तथा स्कुटर आयातकर्ताहरूले एसेम्बल उद्योगमार्फत नेपालमै मोटरसाइकल तथा स्कुटर उत्पादन गर्दै आएका छन्। सरकारले तयारी मोटरसाइकल तथा स्कुटरको तुलनामा सीकेडी किट आयातमा ५० प्रतिशत अन्तःशुल्क छुटसहित आयकरलगायतमा पनि सहुलियत दिँदै आएको छ। 

नयाँ कर्पोरेट मानक

नेपालमा मोटरसाइकल बिक्री संख्याको तुलनामा एसेम्बल उद्योगको वार्षिक उत्पादन क्षमता धेरै रहेको छ। यसरी सबै आयातकर्ताले एसेम्बल उद्योग लगाउँदा लागत स्वाभाविक रुपमा बढ्छ नै। तर अब विशाल समूह र वैद्यज् अर्गनाइजेसनले एसेम्बलका लागि जसरी साझेदारी गर्ने भएका छन् यसले नेपाली कर्पोरेट जगतमा नयाँ मानक स्थापित भएको छ। 

मूलतः यस्तो समझदारीले उत्पादन लागत र एसेम्बल प्लान्ट निर्माणको झन्झट हटाउने छ। नयाँ ब्रान्ड आयात गर्नेहरूका लागि समयको समेत बचत हुनेछ। लागत सेयरिङका आधारमा नयाँ ब्रान्ड आयात गर्ने कम्पनीले एसेम्बल प्लान्ट सञ्चालन गरिरहेको कम्पनीसँग सम्झौता गरेर तत्काल सीकेडी आयात गरेर परीक्षण गरी उत्पादन बजारमा ल्याउन सक्छ। 

यस्ता निर्णयहरूले ‘कर्पोरेट कल्चर’को उदाहरण पनि दिन्छन्। दुई वा त्योभन्दा बढी ब्रान्डको एसेम्बल एकै प्लान्टमा गर्दा त्यहाँ धेरैले रोजगारी पाउँछन्। सिफ्टमा काम गर्ने अभ्यासको विकास हुन्छ। 

वीरगञ्जको प्लान्टमा पनि सुजुकी र मर्भिडेलीका मोटरसाइकल एकैदिन सिफ्टमा वा एक साता एउटा ब्रान्ड र अर्को साता अर्को ब्रान्ड उत्पादन हुनेगरी व्यवस्थापन भएको छ। विशाल समूह र वैद्यज् अर्गनाइजेसनबीच प्रतिमोटरसाइकल वा वार्षिक या त बल्क नम्बरमा लागत साझेदारीको अभ्यासमा काम हुन सक्छ। 


प्रकाशित : आइतबार, चैत ८ २०८२१६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend