शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

उबरले रोबोट्यास्कीका लागि मस्कको टेस्ला छाडेर रिभियन रोज्यो, एक अर्ब डलरभन्दा बढी लगानी गर्ने

शनिबार, चैत ७ २०८२
उबरले रोबोट्यास्कीका लागि मस्कको टेस्ला छाडेर रिभियन रोज्यो, एक अर्ब डलरभन्दा बढी लगानी गर्ने

योजना अनुसार सन् २०२८ को अन्त्यसम्ममा अमेरिकाका सान फ्रान्सिस्को र मियामी जस्ता प्रमुख सहरहरूमा पहिलो चरणको १० हजार वटा रोबोट्याक्सीहरू सञ्चालनमा आउनेछन्।

काठमाडौं- संसारकै अग्रणी यातायात सेवा प्रदायक उबेरले रोबोट्याक्सीका लागि एलन मस्कको टेस्ला छाडेर अर्को कम्पनी रोजेको छ। उबरले रोबोट्याक्सीका लागि अर्को विद्युतीय सवारी उत्पादक कम्पनी रिभियर रोजेको हो। 

हालै उबर र विद्युतीय सवारी निर्माता रिभियनबीच एक ऐतिहासिक रणनीतिक साझेदारीको घोषणा भएको छ। यस सम्झौता अन्तर्गत उबरले रिभियनको ‘आर–टू’ प्लेटफर्ममा आधारित ५० हजार वटासम्म पूर्ण स्वचालित रोबोट्याक्सीहरू आफ्नो नेटवर्कमा सञ्चालन गर्ने योजना अघि सारेको हो। 

यस साझेदारीलाई मूर्त रूप दिन उबरले रिभियनमा १ अर्ब २५ करोड अमेरिकी डलरसम्म लगानी गर्ने प्रतिबद्धता जनाएको छ। सम्झौताअनुसार उबरले तत्काल ३० करोड डलरको प्राथमिक लगानी गर्नेछ भने बाँकी रकम सन् २०३१ सम्ममा प्रविधि विकास र आफ्नो लक्ष्य पूरा भएपछि चरणबद्ध रूपमा उपलब्ध गराउने दुई पक्षबीच भएको समझदारीमा उल्लेख भएको इलेक्ट्रिक डटकोले लेखेको छ। 

यस परियोजनाको मुख्य आकर्षण रिभियनको नयाँ आरटू एसयूभी मोडेल हुनेछ। यी गाडीहरूमा ११ वटा उच्च क्षमताका क्यामेरा, ५ वटा राडार र अत्याधुनिक लिडार सेन्सरहरू जडान गरिनेछ। 

यो प्रविधिले गर्दा सवारी साधनले ‘लेभल ४’ स्तरको अटोनोमस ड्रइभिङ स्किल हासिल गर्ने लक्ष्य राखिएको छ। यसको अर्थ निश्चित शहरी क्षेत्रहरूमा यी गाडीहरू मानवीय चालक बिना नै सुरक्षित रूपमा सञ्चालन हुन सक्नेछन्।

योजना अनुसार सन् २०२८ को अन्त्यसम्ममा अमेरिकाका सान फ्रान्सिस्को र मियामी जस्ता प्रमुख सहरहरूमा पहिलो चरणको १० हजार वटा रोबोट्याक्सीहरू सञ्चालनमा आउनेछन्। सन् २०३१ सम्ममा यो सेवालाई अमेरिका, क्यानडा र युरोपका २५ वटा प्रमुख सहरहरूमा विस्तार गर्ने लक्ष्य राखेर उबरले रिभियनमा सो लगानीको घोषणा गरेको हो। 

अटोमोबाइल विश्लेषकहरूका अनुसार यो साझेदारी रिभियनका लागि ठूलो वित्तीय राहत साबित हुनेछ भने उबेरका लागि आफ्नो ‘एआई–ड्रिभन’ भविष्यतर्फको यात्रामा एक महत्त्वपूर्ण खुड्किलो बन्नेछ। 

संसारभर आर्टिफिसियल इन्टेलिजेन्स एआई र अटोनोमस ड्राइभिङ प्रणालीको विकास तीव्र गतिमा भइरहेको छ। यातायात सेवा उपलब्ध गराउँदै आएको उबरले पनि यसको प्रयोगलाई व्यापक बनाउन खोजेको देखिन्छ। 

यसले विशेष गरी व्यावसायिक प्रयोजनका लागि तयार पारिएका विद्युतीय गाडीहरूको मागलाई विश्व बजारमा थप प्रोत्साहन गर्ने देखिएको छ।


प्रकाशित : शनिबार, चैत ७ २०८२१३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend