शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भारतमा कार्यरत नेपाली श्रमिकलाई नयाँ सरकारले स्वदेशमै रोजगारीको वातावरण बनाउने आशा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ५ २०८२
भारतमा कार्यरत नेपाली श्रमिकलाई नयाँ सरकारले स्वदेशमै रोजगारीको वातावरण बनाउने आशा

दिनभरि भारी बोकेर साँझ ७ सय भारतीय रुपैयाँ ज्याला पाउने गरेको उनले बताए। रेग्मी एक उदाहरण मात्र हुन्। उनीजस्ता धेरै नेपाली श्रमिकले लामो समयदेखि नैनीतालमा ज्यालादारी गर्दै आएका छन्।

भारत- दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी बुधबार भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोक्दै गरेको अवस्थामा भेटिए। तीन दशकदेखि नैनीतालमा ज्याला श्रम गरेर जीविका चलाउँदै आएका रेग्मीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बन्ने सरकारले श्रमिक वर्गको उत्थान गर्ला कि भन्ने अपेक्षा गरेका छन्।

'हुनेखानेका लागि नैनीताल पर्यटकीय गन्तव्य हो, यहाँ गर्मी छल्न धेरै ठाउँका मानिस आउने गर्छन्,' रेग्मीले भने, 'हामी जस्ता गरिबको गुजारा गर्ने ठाउँ पनि नैनीताल नै हो। जेनजी आन्दोलनपछि मुलुकमा सुशासनका लागि भएको परिर्वतनले देशभित्र रोजगारीका अवसर प्राप्त हुने आशा गरेको छु।'

दिनभरि भारी बोकेर साँझ ७ सय भारतीय रुपैयाँ ज्याला पाउने गरेको उनले बताए। रेग्मी एक उदाहरण मात्र हुन्। उनीजस्ता धेरै नेपाली श्रमिकले लामो समयदेखि नैनीतालमा ज्यालादारी गर्दै आएका छन्। उनीहरू अब गठन हुने सरकारले देशमै रोजगारी दिने आशामा छन्।

'युवाले देश चलाउने खबरले खुसी छौँ र युवा पुस्ताले देशभित्रै काम गर्ने वातावरण पाउन् भन्ने आशा छ,' दैलेखका ६५ वर्षीय बमबहादुर ठकुरीले भने, 'देशभित्र स्मृद्धिको वातावरण बनाउन सबै पार्टी एकजुट हुनुपर्छ।'

विगत २० वर्षदेखि नैनीतालमा काम गर्दै आएका ठकुरीले यहाँको आम्दानीले घरखर्च चलिरहेको बताए। 'नैनीताल आउजाउ गर्न थालेको २० वर्ष भयो,' उनले भने, 'नैनीताल क्षेत्रमा मात्रै एक हजार बढी नेपाली ज्याला श्रम गर्छन्।'

त्यसैगरी कालीकोटको नरहरिनाथ गाउँपालिकाका ७५ वर्षीय पदमबहादुर विष्ट दैनिकजसो नैनीतालमा फलफूल र तरकारीका भारी बोक्छन्। विष्ट पहिलो पटक ज्याला श्रम गर्न २०५२ सालमा नैनीताल आएका थिए। हाल उनी कान्छो छोरासहित नैनीतालमा श्रम गर्छन्।

'नेपालमा पनि सामाजिक सुरक्षा भत्ता पाउँछु,' विष्टले भने, 'तर त्यही भत्ताले मात्र घर चलाउन पुग्दैन। फलफूलको भारी बोकेर यहाँ पनि दैनिक एक हजार जति कमाइरहेको छु।' उनले वृद्धावस्थामा घर छाडेर ज्यालादारीमा परदेश आउनु आफ्नो रहर नभएर बाध्यता भएको बताए।

नैनीतालको तल्ली र मल्लीताल क्षेत्रमा सामग्री ढुवानीमा ठूला सवारी साधन प्रयोग हुँदैनन्। तोकिएको स्थानमा सामग्री ढुवानी भए पनि ताल वरपरको क्षेत्रमा निर्माण सामग्रीदेखि खाद्यान्न ढुवानीका अधिकांश काम नेपाली श्रमिकले गर्छन्।

कालीकोट पलाँता गाउँपालिकाका ३० वर्षीय जयबहादुर बुढा मल्ली तालमा नाङ्लो र डोरी लिएर काम खोज्दै हिँडेको अवस्थामा भेटिए। 'कहिलेकाहीँ त ढुवानीका लागि सामान पाउन पनि गाह्रो हुन्छ,' उनले भने, 'महिनामा २०/२२ हजार कमाइ हुन्छ।' उनले पनि नयाँ बन्ने सरकारले युवाहरूलाई स्वदेशमै रोजगारीको वातावरण बनाइदिनुपर्ने माग गरे। रासस

 


प्रकाशित : बिहीबार , चैत ५ २०८२१६:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend