काठमाडौं- यामाहाले दुईपांग्रे सवारी साधनको सुरक्षामा एउटा ऐतिहासिक मानक स्थापित गरेको छ। कम्पनीले विश्वमै पहिलो पटक एयरब्यागसहितको स्कुटर सार्वजनिक गरेको हो।
यामाहाले आफ्नो नयाँ २०२६ यामाहा ट्राइसिटी ३०० सार्वजनिक गर्दै सो स्कुटरमा यात्रुको सुरक्षाका लागि विश्वकै पहिलो एयरब्याग जडान गरिएको व्यावसायिक स्कुटर बनाएको छ।
यसले दुई पांग्रे सवारीमा नयाँ मानक स्थापित गरेको छ। हालसम्म चार पाग्रे सवारीमा सुरक्षाका लागि एयरब्याग उपलब्ध हुँदै आएको थियो। यामाहाले दुई पांग्रे सवारीमा पनि एयरब्याग सम्भव बनाएको हो।
यस स्कुटरको सबैभन्दा ठूलो विशेषता भनेको यसमा रहेको एयरब्याग हो। कारहरूमा जस्तै दुर्घटना भएको खण्डमा चालकलाई गम्भीर चोटपटकबाट बचाउन यसले मद्दत गर्छ। यो एयरब्याग स्कुटरको अगाडिको लेग-सिल्ड भएको ठाउँमा जडान गरिएको छ।
सेन्सरले ठक्करको तीव्रता पत्ता लगाउनेबित्तिकै मिलिसेकेन्डमै एयरब्याग खुल्छ, जसले चालकको छाती र टाउकोमा हुने सीधा असरलाई कम गर्न सहयोग गर्नेछ।
ट्राइसिटी ३०० एक थ्री-ह्विलर (तीन पांग्रे) स्कुटर हो, जसमा अगाडि दुईवटा र पछाडि एउटा पाङ्ग्रा हुन्छ। यसले सडकमा उत्कृष्ट सन्तुलन र पकड कायम राख्छ। यो स्कुटरमा २९२ सीसीको सिंगल-सिलिन्डर, लिक्विड-कुल्ड इन्जिन रहेको छ।
यामाहा ट्राइसिटी ३०० ले २८ एचपी पावर र २९ एनएम टर्क जेनेरेट गर्छ। यसमा यामाहाको चर्चित 'ब्लु कोर' प्रविधि प्रयोग गरिएको छ, जसले इन्धन खपत घटाउन र कार्यक्षमता बढाउन मद्दत गर्छ।
स्कुटरका मुख्य सुविधाहरू
यसमा 'लिनिङ मल्टी-ह्विल' प्रविधि छ। यसले मोडहरूमा स्कुटरलाई ढल्काउँदा पनि स्थिरता कायम राख्छ। यो स्कुटरमा नयाँ टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल छ, जसमा ब्लुटुथ र स्मार्टफोन कनेक्टिभिटीको सुविधा उपलब्ध छ।
सुरक्षाका लागि यसमा एबीएस र युनिफाइड ब्रेकिङ सिस्टम दिइएको छ। सिटमुनि दुईवटा हेलमेट अटाउने ठूलो स्पेस यामाहाले ट्राइसिटी ३०० उपलब्ध गराएको छ।
यामाहाले यो प्रविधिमार्फत स्कुटर चालकहरूको सुरक्षालाई प्राथमिकतामा राखेको छ। युरोपेली बजारलाई लक्षित गरी ल्याइएको यो स्कुटरले आगामी दिनमा अन्य कम्पनीहरूलाई पनि दुई पांग्रे सवारीमा एयरब्याग राख्न प्रोत्साहित गर्ने देखिन्छ।