काठमाडौं- सुविधाजनक बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार बन्न अझै हप्ता दिन लाग्ने जानकारी दिएको छ। संसदीय दलको नेता चयनलगायतका प्राविधिक काम बाँकी भएकाले केही समय अझै लाग्ने भएको हो।
प्राविधिक कामसँगै आगामी सरकार कस्तो हुने, मन्त्रिपरिषद कस्तो बनाउने र मन्त्री कसलाई बनाउने भन्ने विषयमा सँगसँगै छलफल भइरहेको नेताहरूले बताएका छन्।
धेरै सांसद भएका कारण मन्त्री हुने आकांक्षी जति धेरै भएपनि मन्त्रिपरिषदको आकार भने सकेसम्म सानो बनाउने तयारीमा बालेनको टिम रहेको छ। महानगरको मेयर हुँदादेखिकै बालेनको कोर टिम रहेको छ। सो टिमले प्राविधिक तयारीलाई सघन बनाएको छ।
पार्टीका सभापतिसँग पनि बालेनले सँगसँगै परामर्शलाई अघि बढाएको नेताहरू बताउँछन्। १५ जनाको मन्त्रिपरिषद बनाउने बारे छलफल भएपनि १८ जनासम्म हुनसक्ने नेताहरु बताउँछन्। एकातिर सानो मन्त्रिपरिषद बन्ने छ, त्यसमाथि प्रधानमन्त्रीका रुपमा बालेन शाहले अलि फरक अभ्यास गर्ने तयारी गरेका छन्।
बालेन नेतृत्वको मन्त्रिपरिषदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सबैभन्दा शक्तिशाली हुनेछ। प्रधानमन्त्री कार्यालयमा अहिले पनि धेरे सचिव भएपनि कामविहीन हुने गरेका छन्। यस्तोमा बालेन सरकारले भने प्रधानमन्त्री कार्यालयबाट पूरै सरकार सञ्चालन हुने वास्तविक अधिकारको प्रयोग गर्ने गरी कार्यकारी अधिकारको अभ्यास गर्ने तयारी छ।
मन्त्री जोसुकै भएपनि धेरे कुरा मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयबाट डिक्टेट हुनेगरी अभ्यास अघि बढाउने तयारी छ। विषयगत मन्त्रालयलाई नियमित फलोअपमात्र होइन गम्भीर मनिटरिङ पनि प्रधानमन्त्री कार्यालयबाट नियमित हुनेछ। यसले गर्दा मन्त्रालयहरूलाई प्रधानमन्त्री कार्यालय र मन्त्रीहरूलाई प्रधानमन्त्रीसँग सिधै उत्तरदायी बनाउने व्यवाहरिक अभ्यास गर्ने तयारी छ।
बालेन नेतृत्वको सरकारमा मन्त्री हुन कस्सिएकाहरूलाई विगतको जस्तो स्वतन्त्रता नहुने निश्चित भएको रास्वपाकै नेताहरू बताउँछन्। एक त एकल बहुमतको सरकार त्यसमाथि बालेनको व्यक्तित्वका कारणले मन्त्रीहरूको स्वतन्त्रता र खेल्ने ठाउँ हुने छैन।
बालेन नेतृत्वको सरकारमा मन्त्रिपरिषदालाई शक्तिशाली बनाउनका लागि विषयगत विज्ञ सल्लाहकार हुनेछन्। जसले नियमित र विषयत मनिटिरिङ, अध्यन गर्ने गराउनेछन्। त्यसलाई कार्यान्वयन गर्न प्रशासनिक हिसाबले प्रधानमन्त्री कार्यालयका सचिवहरूले नेतृत्व गर्नेछन्। फलोअप र मनिटरिङमात्र नभएर कतिपय इनिसियसनका लागि पनि त्यहीबाट डिक्टेट हुने छ।