बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सात महिनामा करिब सात अर्बको फलफूल आयात

शनिबार, चैत ५ २०७८
सात महिनामा करिब सात अर्बको फलफूल आयात

छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार रुपैयाँ मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ। 

काठमाडौैं- चालु आर्थिक वर्षको सात महिनामा फलफूलको आयात उल्लेख्य बढेको छ। सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६ सय रुपैयाँ मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो। 

तीमध्ये सबैभन्दा बढी स्याउ आयात भएको छ। छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार रुपैयाँ मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ। 

नेपालमा स्याउ खेतीको प्रचुर सम्भावना छ। यति हुँदाहुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा फलफूलको परनिर्भरता चुलिँदै गएको छ। नेपाल सरकारले आगामी तीन वर्षमा नेपाललाई फलफूलमा आत्मानिर्भर बनाउने घोषण आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत घोषणा गरेको थियो।  

नेपालमा ठूलो परिमाणमा स्याउ आयात हुने अर्का छिमेकी मुलुक भारत हो। चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट एक अर्ब १५ करोड ३२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार सोही अवधिमा टर्कीबाट २६ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ आयात भएको छ। समग्रमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा कुल चार अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। 

यसैगरी सोही अवधिमा नेपालमा ७८ करोड ५१ लाख १५ हजार छ सय रुपैयाँ बराबरका सुन्तलाको आयात भएको छ। नेपालमा सुन्तला भारत, दक्षिण अफ्रिका र इजिप्टबाट आउने गर्छ। सो अवधिमा भारतबाट ७७ करोड ४८ लाख ७२ हजार, साउथ अफ्रिकाबाट ९० लाख ७७ हजार र टर्कीबाट ११ लाख ६६ हजार ६ सय रुपैयाँ मूल्य बराबरका कुल एक करोड ४५ लाख ७० हजार तीन केजी सुन्तलाको आयात भएको छ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ५३ करोड ९६ लाख पाँच हजार रुपैयाँ मूल्य बराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ। पाँच प्रकारका फलफूलमा कागतीको आयात तेस्रो स्थानमा छ। कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्यांकले देखाएको छ। पहाडी डाँडाकाँडामा राम्रो आम्दानी लिन सकिने कागती खेतीमा पछिल्लो समय नेपालीको आकर्षण बढ्दै गएको छ। १३ रोपनी जग्गामा कागती खेती गर्दा करिब १० लाख रुपैयाँ आम्दानी हुने कृषि विज्ञको भनाइ छ। 

नेपालमा आँपको परनिर्भरता पनि बढ्दै गएको छ। तराई र भित्री मधेसमा आँप खेती गर्न सकिन्छ। तर आयात भने रोकिएको छैन। चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ। 

त्यस्तै सोही अवधिमा अङ्गुरको आयातमा उल्लेखनीय वृद्धि भएको छ। नेपालमा विशेष गरी चीन, भारत र इजिप्टबाट अङ्गुरको आयात हुने गर्दछ। चालु आर्थिक वर्षको सात महिनामा ४५ करोड ५६ लाख ७७ हजार मूल्य बराबरका सुक्खा र ताजा गरी कुल ४८ लाख ९३ हजार आठ किलोग्राम अङ्गुर आयात भएको तथ्यांक छ। 

यसैगरी सोही अवधिमा नेपालमा भारतबाट झन्डै १० करोड मूल्य बराबरको भुइँकटहर, युगान्डा र मेक्सिकोबाट दुई करोडको एभोकाडो, भारतबाट १६ करोडको खर्बुजा, चीनबाट १३ करोडको नासपाती भारतबाट चार करोडको किवी, नौ करोडको अनार तथा चीन र भारतबाट अमिलो तथा अमिलोजन्य एंव विभिन्न थरीका अन्य फलफूल गरी झन्डै तीन अर्बको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। रासस


प्रकाशित : शनिबार, चैत ५ २०७८०८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend