शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

अस्तित्व संकटमा पर्ने भन्दै चिनियाँ गाडीहरू रोक्न अमेरिकी अटो समूहद्वारा ट्रम्प प्रशासनसँग आग्रह, डेटा सुरक्षामा पनि चासो

आइतबार, चैत १ २०८२
अस्तित्व संकटमा पर्ने भन्दै चिनियाँ गाडीहरू रोक्न अमेरिकी अटो समूहद्वारा ट्रम्प प्रशासनसँग आग्रह, डेटा सुरक्षामा पनि चासो

आर्थिक पक्षबाहेक पत्रमा सुरक्षा जोखिमलाई पनि जोड दिइएको छ। आधुनिक 'कनेक्टेड' गाडीहरूमा हुने सफ्टवेयर, क्यामेरा र सेन्सरहरूले अमेरिकी पूर्वाधार र नागरिकका संवेदनशील जानकारीहरू संकलन गरी चीन पठाउन सक्ने खतरा औँल्याइएको छ।

काठमाडौं- अमेरिकी अटोमोबाइल उद्योगका प्रमुख व्यापारिक संगठनहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनमा निर्मित सवारी साधन र तिनका पार्टपुर्जाहरूलाई अमेरिकी प्रवेशमा कडाइ गर्न आग्रह गरेका छन्। उनीहरूले हालै चीनमा बनेर अमेरिकी बजारमा प्रवेश गर्ने सवारी र सवारीजन्य पार्ट्स रोक्नका लागि थप आक्रामक कदम चाल्न दबाब दिएका हुन्। 

अमेरिकी अटोमोबाइल उद्योगीहरूको तर्क छ कि चीनको सरकारी अनुदान प्राप्त सस्तो गाडीहरूको बाढीले अमेरिकाको ऐतिहासिक अटो उद्योगलाई 'अस्तित्वको संकट' मा पार्न सक्छ। त्यसका लागि अमेरिका सरकारले कडा कदम चाल्न आवस्यक रहेको उनीहरू जिकिर गरेका छन्। 

अटोमोबाइल एन्ड म्यानुफ्याक्चरिङ एशोसिएसनले ह्वाइट हाउसलाई बुझाएको पत्रमा उल्लेख गरे अनुसार चिनियाँ सवारी साधन निर्माताहरूले त्यहाँको सरकारबाट ठूलो मात्रामा आर्थिक सहयोग पाउँछन्। यसले गर्दा अमेरिकी कम्पनीहरूले चीनमा बनेका उत्पादनसँग प्रतिस्पर्धा गर्नै नसक्ने गरी अत्यन्तै कम मूल्यमा गाडीहरू बजारमा उतार्ने गरेको ह्वाइट हाउसमा बुझाइएको पत्रमा उल्लेख गरिएको रोयटर्सले लेखेको छ। 

अमेरिकी अटो उद्योगीहरूको मुख्य चासो मेक्सिकोतर्फ पनि केन्द्रित छ। धेरै चिनियाँ कम्पनीहरूले मेक्सिकोमा प्लान्टहरू स्थापना गरिरहेका छन् जसका कारण उनीहरूले 'अमेरिका-मेक्सिको-क्यानाडा सम्झौता'को फाइदा उठाउँदै शून्य वा नगन्य भन्सार शुल्कमा अमेरिकामा गाडी पठाउन सक्ने छन्। उद्योग समूहले राष्ट्रपति ट्रम्पलाई यो लुपहोललाई पनि बन्द गर्न र मेक्सिकोमा बनेका चिनियाँ ब्रान्डका गाडीमा पनि उच्च भन्सार लगाउन आग्रह गरेका हुन्।

आर्थिक पक्षबाहेक पत्रमा सुरक्षा जोखिमलाई पनि जोड दिइएको छ। आधुनिक 'कनेक्टेड' गाडीहरूमा हुने सफ्टवेयर, क्यामेरा र सेन्सरहरूले अमेरिकी पूर्वाधार र नागरिकका संवेदनशील जानकारीहरू संकलन गरी चीन पठाउन सक्ने खतरा औँल्याइएको छ। उनीहरूले चिनियाँ प्रविधि प्रयोग भएका सवारी साधनलाई अमेरिकी सडकमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन्।

सवारीमा डेटा सुरक्षामा इजरायल र पोल्यान्डको सेनाले सतर्कता अपनाइसकेको छ। विशेषगरी बीवाईडीका गाडी इजरायल र पोल्यान्डको सेनाले प्रयोग नगर्ने निर्णय नै गरिसकेको छ। यता नेपालमा भने चीनकै सिम कार्डसहित बीवाईडीका गाडी प्रयोग भइरहँदा सरकार तथा नेपाली सेनाले कुनै कदम नचालेर मुकदर्शक बनिरहेको छ। 

चीनमा बनेका गाडी अमेरिका आउन दिँदा अमेरिकाका लाखौँ अटो मजदुरहरूको रोजगारी जोगाउन कठिन हुनेछ। यदि सस्तो चिनियाँ विद्युतीय सवारी साधनले बजार ओगटेमा डेट्रोइटका ठूला कार निर्माताहरू जनरल मोटर्स फोर्ड र स्टेलेन्टिसले आफ्ना कारखानाहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी अमेरिकी अटोमोबाइल उद्योगीहरूले दिएका छन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि नै चिनियाँ सामानमा ६० प्रतिशतदेखि १०० प्रतिशतसम्मको नयाँ भन्सार शुल्क लगाउने संकेत दिइसकेका छन्।

ह्वाइट हाउसका एक प्रवक्ताका अनुसार ट्रम्प प्रशासनले हाल यी मागहरूको समीक्षा गरिरहेको र अमेरिकी कामदारको हितमा कडा निर्णय लिने तयारीमा रहेको रोयटर्सले उल्लेख गरे‍को छ। अटोमोबाइल उद्योगीहरूको यो मागले अमेरिका र चीनबीचको व्यापारिक युद्ध अझै चर्किने संकेत गरेको छ। 


प्रकाशित : आइतबार, चैत १ २०८२१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend