शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

आन्तरिक उडानमा आउँदै डाँफे एयर, अस्पष्ट व्यावसायिक योजनाबीच तीन जहाज ल्याउने अनुमति

शुक्रबार, फागुन २९ २०८२
आन्तरिक उडानमा आउँदै डाँफे एयर, अस्पष्ट व्यावसायिक योजनाबीच तीन जहाज ल्याउने अनुमति

दुर्घटनापछि मकालु एयर उडानमा फर्कन सकेको थिएन। अन्तत: व्यवस्थापन र नाम नै परिवर्तन गरेर उडानमा आउन लागेको हो।

काठमाडौं- तीनवटा जहाज दुर्घटनापछि मकालु एयरबाट नाम परिवर्तन गरेको डाँफे एयरले तीनवटा एटीआर जहाज ल्याउन अनुमति पाएको छ। डाँफे एयरले एक वर्षभित्र तीनवटा जहाज ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एनओसी पाएको हो।

कुनै पनि वायुसेवा कम्पनीले उडान अनुमति (एओसी) पाउनुअगाडि पूरा गर्नुपर्ने पाँचवटा चरणमध्ये डाँफेले चार वटा चरणमा एनओसी पाएको हो। डाँफेले जहाज ल्याएर प्रुफिङ उडान गरेपछि एओसी पाउने छ। जसपश्चात आन्तरिक उडानमा फर्कने छ।

उडानमा प्रयोग भएका तीनवटै जहाज दुर्घटनापछि आर्थिक संकटकै कारण बन्द भएको मकालु एयरले पुन: 'डाँफे एयर'को नाममा नेपाली आकाशमा उडानको तयारी अन्तिम चरणमा पुर्‍याएको हो।

डाँफे एभिएसन कर्पोरेशन प्रालिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट २०८० माघ २४ गते मकालु एयरको नाम परिर्वतन गरी इजाजत नवीकरण गरेको थियो।

सन् २००९ मा स्थापन भएको मकालु एयर तीनवटा जहाजबाट आन्तरिक उडानमा प्रवेश गरेको थियो। सुर्खेत बेस बनाएर उडान गरेको मकालु एयरको उडान अनुमतिपत्र २०२० मा नै खारेज भएको थियो। एओसी निलम्बन भने २०१८ मे महिनामा भएको थियो।

मकालुको तीनमध्ये पहिलो जहाज २०११ को नोभेम्बरमा ताल्चा विमानस्थलमा दुर्घटना भएको थियो। दोस्रो जहाज २०१६ को अप्रिल ८ र तेस्रो जहाज २०१८ मे १६ मा दुर्घटना भएको थियो। तीनवटा जहाजमध्ये अन्तिम जहाज २०१८ को मे १६ मा सिमिकोटमा दुर्घटना भएसँगै मकालु एयर बन्द थियो। तीनवटै जहाज कार्गो उडानका क्रममा दुर्घटना भएको थियो।

दुर्घटनापछि मकालु एयर उडानमा फर्कन सकेको थिएन। अन्तत: व्यवस्थापन र नाम नै परिवर्तन गरेर उडानमा आउन लागेको हो।

योसँगै आन्तरिक उडानमा अब बुद्ध, यती, श्री, सौर्य, गुण र डाँफे एयर हुने छन्। गुण एयरको भने अहिले उडान बन्द छ। गुण एयरको एओसी निलम्बनमा छ।

डाँफेले एटीआर जहाजमार्फत उडान गर्नेगरी पेस गरेको व्यावसायिक योजना केही महिनाअगाडि नै स्वीकृत भएको थियो। डाँफे एयरले प्राधिकरणले तोकेको बेसलाई आधार बनाएर काठमाडौंबाट माउन्टेन उडानदेखि नेपालगञ्ज, सुर्खेत, पोखरा, विराटनगर, भद्रपुर, सिमरा, धनगढी, जनकपुर, भरतपुर, भैरहवा र तुम्लिङटारलगायतका गन्तव्यमा उडान गर्ने योजना बनाएको छ।

डाँफे व्यावसायिक योजनामा केही अस्पष्टता रहेको थियो। अस्पष्टतालाई पूरा गर्ने सर्तमा प्राधिकरणले योजना स्वीकृत गरेको थियो।

व्यावसायिक योजनामा देखिएको अस्पष्टता

प्राधिकरणले व्यावसायिक योजना स्वीकृत गर्दैगर्दा सबैभन्दा पहिले कम्पनीको जारी पुँजीको विषयमा प्रश्न उठाएको थियो। डाँफेले प्राधिकरणलाई बुझाएको डकुमेन्टमा २५ करोडको चुक्ता पुँजीको कम्पनी भएपनि जारी पुँजी १५ करोड रुपैयाँमात्रै छ।

यद्यपि पहिलो वर्षको वित्तीय प्रक्षेपणले ८० करोड चुक्ता पुँजी प्रतिबिम्बित गर्दछ। १५ करोड र ८० करोड बीचको खाडल परिपूर्ति हुने विश्वासिलो आधार नदेखिएको विषय प्राधिकरणले देखाएको थियो। उडान सुरु गरेको पाँच वर्षभित्र पाँचवटा जहाज अनिवार्य हुनुपर्ने छ तर कम्पनीले १० वर्षको सम्भाव्यता अध्ययनमा तीनवटा जहाजमात्रै उल्लेख गरेको छ।

डाँफेले तीनवटा एटीआर जहाज भित्र्याउन २५.५ मिलियन डलर लागत राखेको छ। तर यो मूल्य बजारअनुरुप छैन। डाँफे आफैले सुरुवाती चरणमा बुझाएको डकुमेन्टमा एउटै जहाजको १२.५ मिलियन डलर राखेको थियो। उसले जहाजको मूल्य परिवर्तनमा कुनै चित्तबुझदो जवाफ दिएको थिएन तर पनि प्राधिकरणले एनओसी जारी गरेको हो।

कम्पनीको कुल लगानी ३ अर्ब ९७ करोड हुने र त्यसमा ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट उठाउने जनाएको छ। कम्पनीले ऋणको ब्याज ९.५ प्रतिशत सरदर राखेको छ। तर कम्पनीले ऋण लिन धितो स्पष्ट खुलाएको छैन।

कम्पनीको लगानी रकमको विषयमा अन्योल नै छ। जसका कारण उसको व्यावसायिक योजना लक्ष्यअनुसार हुन सक्दैन। कम्पनीले ३८ प्रतिशत ग्रस प्रोफिट राखेको छ। जुन नेपालको नागरिक उड्डयन इतिहासलाईलाई हेर्दा सम्भव छैन।

कसको लगानी?

डाँफे एभिएशन कर्पोरेशन प्रालि कम्पनी दर्ता हुँदा सञ्चालकमा ललितपुर महालक्ष्मी नगरपालिकाका राजु कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर १७ की सञ्जु श्रेष्ठ, काठमाडौं महानगरपालिका १५ का अभिशेषमान श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका वडा नम्बर १० की सुमना कँडेल रहने उल्लेख छ।

उद्योग विभागमा २०६६ कात्तिम ११ मा भएको उद्योग दर्ताअनुसार (साविकको मकालु एयर) कम्पनीको कुल पुँजी २५ करोड, स्थिर पुँजी २२ करोड ५० लाख र चालु पुँजी २ करोड ५० लाख रुपैयाँ उल्लेख रहेको छ। जसमा प्रतिकित्ता एक सय रुपैयाँको दरमा राजुकुमार श्रेष्ठको ५ लाख कित्ता, सञ्जु श्रेष्ठको ३ लाख ५० हजार कित्ता, अभिशेषमानको १ लाख ५० हजार कित्ता, सुमना कंडेलको ५ लाख कित्ता सेयर राखिएको छ।


प्रकाशित : शुक्रबार, फागुन २९ २०८२१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend