शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

माथिल्लो ठूलोखोला जलविद्युत आयोजना निर्माण सम्पन्न, परीक्षण उत्पादन सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २८ २०८२
माथिल्लो ठूलोखोला जलविद्युत आयोजना निर्माण सम्पन्न, परीक्षण उत्पादन सुरु

आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिए।

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका-७ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ।

ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युतगृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिए।

'बाँध, विद्युतगृह, पाइपलाइन, प्रसारणलाइन र विद्युतगृहका उपकरण जडानका साथै आन्तरिक परीक्षण सकिएको छ,' उनले भने, 'नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा परीक्षण उत्पादनमा जुटेका छौँ।'

विसं २०७८ मा उक्त आयोजना निर्माण सुरु भएको थियो। आयोजना निर्माणस्थल भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ। सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), २ हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान, फेदीमा विद्युतगृह निर्माण गरिएको छ। विद्युतगृह परिसरमा ‘स्वीचयार्ड’ निर्माण गरिएको छ।

यो आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको हो। फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रशारण लाइन निर्माण गरिएको छ। बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला-मंगले-राहुघाट जलविद्युत आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत केन्द्रीय प्रणालीमा आवद्ध गराइएको छ।

देव ऊर्जा कन्ट्रक्सन सिभिल, हाइड्रोमेकानिकल र बिएफएल बेङलोर इलेक्ट्रोमेकानिकल ठेकेदार हुन्। ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छ्रे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्। प्रवर्द्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ।

राहुघाट र सहायक नदीमा यसअघि तीन वटा जलविद्युत आयोजना निर्माण भइसकेका छन्। तुँदी पावरले प्रवद्र्धन गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला-राहुघाट-मंगले र त्यसको क्यासकेडको रूपमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आइसकेका छन्।

राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। रासस


प्रकाशित : बिहीबार , फागुन २८ २०८२१३:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend