बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

३२ वर्ष पार गर्‍यो नागरिक लगानी कोषले, १ खर्ब ८३ अर्ब लगानी 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ४ २०७८
३२ वर्ष पार गर्‍यो नागरिक लगानी कोषले, १ खर्ब ८३ अर्ब लगानी 

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भइसकेको जानकारी दिए। 

काठमाडौं- नागरिक लगानी कोषले आफ्नो स्थापनाको ३२ वर्ष पूरा गरेको छ। कोषले आफ्नो ३२ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ। 
 
कोषले यो  आर्थिक वर्षको पुस मसान्तसम्म १ खर्ब ८३ अर्ब रुपैयाँ लगानी गरेको छ। १ खर्ब ८४ अर्ब ९० करोड निक्षेप मौज्दात रहेको कोषले सुरक्षित र उच्च प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजनामा लगानी गरिरहेको कार्यकारी निर्देशक रमण नेपालले बताएका छन्। 

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भइसकेको जानकारी दिए। 

कोषका विभिन्न कार्यहरूलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको उनको भनाई थियो । कार्यकारी निर्देशक नेपालले कोषले आवकास कर्जा बापत सहभागीलाई १५ वर्षको सुरु तलबमानको रकम वा ८० लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सो बराबरको रकम प्रदान गर्ने कार्य सुरु गरी सकेको जानकारी दिए। 

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका थिए।  कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दे उनले बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने काम बन्द गर्नुपर्ने बताए। 

कोष जस्तै संस्थाहरूले सृजना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री शर्माले अहिले मुलुकलाई १७/२० खर्बको लगानी जुटाउन आवश्यक रहेको बताए। 

नेपाल वायु सेवा निगमलाई कोषले प्रवाह गरेको ऋणको सम्बन्धमा मन्त्री शर्माले सरकारले जमानत बसेर लिएको ऋणको जिम्मेवारी सरकारले नै पुरा गर्ने भन्दै यसको लागि सम्बन्धित संस्थालाई पनि जिम्मेवार बनाउनु सरकारको कर्तव्य भएको बताए। 

 


प्रकाशित : शुक्रबार, चैत ४ २०७८१३:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend