शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

विनोद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो, सार्कमा भारतीय बाहेकका एक मात्र अर्बपति

बुधबार, फागुन २७ २०८२
विनोद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो, सार्कमा भारतीय बाहेकका एक मात्र अर्बपति

फोर्ब्सका अनुसार चौधरीको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर पुगेको छ, जुन नेपाली रुपैयाँमा करिब ३ खर्ब २ अर्ब रुपैयाँ बराबर हुन्छ।

काठमाडौं- नेपालको निजी क्षेत्रका अग्रणी व्यवसायी विनोद चौधरी विश्वका धनी व्यक्तिहरूको सूचीमा पुनः समावेश भएका छन्। अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍यांकिङ अनुसार सन् २०२६ को विश्व अर्बपति सूचीअनुसार चौधरी विश्वका १९८२औँ धनी व्यक्ति बनेका छन्।

फोर्ब्सका अनुसार चौधरीको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर पुगेको छ, जुन नेपाली रुपैयाँमा करिब ३ खर्ब २ अर्ब रुपैयाँ बराबर हुन्छ।

गत वर्ष सार्वजनिक गरिएको सन् २०२५ को सूचीमा चौधरी १७६३औँ स्थानमा थिए। त्यतिबेला उनको सम्पत्ति करिब २ अर्ब डलर हाराहारीमा रहेको फोर्ब्सले जनाएको थियो। पछिल्लो एक वर्षमा मात्रै चौधरीको सम्पत्ति १० करोड डलरले वृद्धि भएको देखिएको छ।

फोर्ब्सको सूचीअनुसार दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) का सदस्य मुलुकहरूमा भारतीय अर्बपतिहरू बाहेक अर्बपतिको सूचीमा पर्ने व्यक्ति चौधरी मात्र हुन्।

यसअघि सन् २०१९ मा चौधरी १३४९औँ स्थानमा पुगेका थिए। तर कोभिड-१९ महामारीका कारण केही वर्ष उनको सम्पत्तिमा गिरावट आएको थियो। पछिल्ला वर्षमा व्यवसाय विस्तार र लगानीमार्फत उनले आफ्नो सम्पत्ति पुनः बढाउन सफल भएका छन्।

फोर्ब्सको अर्बपति सूचीमा पहिलो स्थानमा अमेरिकी उद्यमी  एलन मक्स रहेका छन्। उनको कुल सम्पत्ति करिब ८३९ अर्ब डलर रहेको उल्लेख गरिएको छ। दोस्रो स्थानमा अमेरिकी प्रविधि उद्यमी ल्यारी पेज रहेका छन्। सूचीमा सबैभन्दा धेरै अर्बपति अमेरिका, चीन र भारतका रहेको फोर्ब्सले जनाएको छ।

को हुन् विनोद चौधरी ?

विनोद चौधरी नेपालको बहुराष्ट्रिय व्यावसायिक समूह चौधरी ग्रुप (सीजी) का अध्यक्ष हुन्। सीजी समूहले खाद्य उद्योग, बैंकिङ, होटल, रियल इस्टेट, ऊर्जा, दूरसञ्चार तथा उपभोक्ता वस्तु लगायत दर्जनौँ क्षेत्रमा लगानी विस्तार गरेको छ। सीजी समूहले उत्पादन गर्ने वाइवाइचाउचाउ विश्वका धेरै देशमा निर्यात हुने नेपाली ब्रान्डका रूपमा परिचित छ।

व्यवसायसँगै चौधरी राजनीतिमा पनि सक्रिय छन्। उनी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य समेत भइसकेका छन्।


प्रकाशित : बुधबार, फागुन २७ २०८२०७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend