शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

दुर्गा प्रसाईंको 'बी एन्ड सी' मेडिकल कलेजको कारोबार बढ्यो, ऋण भार भने अझै उच्च

मंगलबार, फागुन २६ २०८२
दुर्गा प्रसाईंको 'बी एन्ड सी' मेडिकल कलेजको कारोबार बढ्यो, ऋण भार भने अझै उच्च

यद्यपि कारोबार बढे पनि कम्पनीको नाफा मार्जिन भने केही घटेको देखिएको छ। आर्थिक वर्ष २०२४ मा कम्पनीको पीबीआईएलडिटि मार्जिन २६ दशमलव ६९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२५ मा यो घटेर २२ दशमलव ८३ प्रतिशतमा झरेको छ।

काठमाडौं- झापामा सञ्चालित 'बी एन्ड सी' मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरको कारोबार विस्तार हुँदै गए पनि कम्पनीको पुँजी संरचना अझै कमजोर र ऋणको भार उच्च रहेको देखिएको छ।

केयर रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीको दीर्घकालीन बैंक सुविधामा ‘केयर-एनपी बी प्लस’ र अल्पकालीन बैंक सुविधामा ‘केयर-एनपी ए फोर’ रेटिङ प्रदान गरिएको छ।

केयर रेटिङ एजेन्सीका अनुसार कम्पनीले लिएको बैंक सुविधा रकम बढेर ४ अर्ब ४ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यसमध्ये ३ अर्ब ९४ करोड ७६ लाख रुपैयाँ दीर्घकालीन र १० करोड रुपैयाँ अल्पकालीन कर्जा रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल बैंक सुविधा ३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ थियो।

प्रतिवेदनअनुसार कम्पनीको कारोबार पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो क्रममा रहेको छ। सन् २०२३ मा कम्पनीले ८१ करोड ५० लाख रुपैयाँ कारोबार गरेको थियो भने सन् २०२४ मा कारोबार बढेर ९६ करोड ३० लाख रुपैयाँ पुगेको छ।

अस्पताल सेवासँगै मेडिकल कलेज सञ्चालन सुरु भएपछि नयाँ आम्दानी स्रोत थपिएको र बिरामीको आवागमन बढेकाले आम्दानीमा उल्लेख्य वृद्धि भएको रेटिङ एजेन्सीले जनाएको छ।

यद्यपि कारोबार बढे पनि कम्पनीको नाफा मार्जिन भने केही घटेको देखिएको छ। आर्थिक वर्ष २०२४ मा कम्पनीको पीबीआईएलडिटि मार्जिन २६ दशमलव ६९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२५ मा यो घटेर २२ दशमलव ८३ प्रतिशतमा झरेको छ। नयाँ सुविधा सञ्चालन, पूर्वाधार विस्तार तथा प्रशासनिक खर्च बढेकाले मार्जिन घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कम्पनीले अघिल्लो वर्षको नगद घाटाबाट सुधार गर्दै आर्थिक वर्ष २०२५ मा करिब २ करोड ८० लाख रुपैयाँ सकल नगद सञ्चिति हासिल गरेको छ। चालु सन् २०२६ को पहिलो छ महिनामै कम्पनीले ७० करोड ८० लाख रुपैयाँ कारोबार गरिसकेको प्रतिवेदनमा उल्लेख छ।

यद्यपि कम्पनीको पूँजी संरचना अझै उच्च ऋणमा आधारित रहेको रेटिङ एजेन्सीले जनाएको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीको कुल ऋण करिब ३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३ अर्ब ६६ करोड रुपैयाँ थियो।

मुख्यतः होस्टल लगायत शैक्षिक पूर्वाधार निर्माणका लागि लिइएको ऋण तथा ब्याज पूँजीकरणका कारण कुल ऋण बढेको बताइएको छ। आर्थिक वर्ष २०२४ र २०२५ मा संचित घाटा रहेकाले कम्पनीको नेटवर्थ पनि कमजोर बनेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

ऋणको भार उच्च भए पनि कम्पनीको ऋण सेवा क्षमता भने केही सुधारिएको देखिएको छ। आर्थिक वर्ष २०२४ मा ० दशमलव ७१ गुणा रहेको ब्याज भुक्तानी क्षमता आर्थिक वर्ष २०२५ मा बढेर १ दशमलव १० गुणा पुगेको छ। बैंकहरूको ब्याजदर घट्दै जानु र सञ्चालनबाट नगद प्रवाह सुधारिनुले ऋण सेवा क्षमतामा सुधार आएको रेटिङ एजेन्सीले जनाएको छ।

सन् २०११ मा स्थापना भएको बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर पूर्वी नेपालमा बहुविशेषज्ञ स्वास्थ्य सेवा, आधुनिक डायग्नोस्टिक सुविधा तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निजी स्वास्थ्य संस्था हो। कम्पनीको अध्यक्ष डा. रामबाबु गिरी रहेका छन् भने कार्यकारी निर्देशक दुर्गा प्रसाईं हुन्।


प्रकाशित : मंगलबार, फागुन २६ २०८२०७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend