काठमाडौं- भारतबेन्जको सवारी बिक्री गर्दै आएको ओम्नी समूहले चिनियाँ विद्युतीय सवारी पनि बिक्री गर्ने भएको छ। हाल ओम्नी मोटर्स प्रालिमार्फत भारतीय कमर्सियल सवारी भारतबेन्ज बिक्री गर्दै आएको समूहले ओम्नी मोबिलिटी प्रालिमार्फत विद्युतीय सवारी व्यापार सुरु गरेको हो।
ओम्नी मोबिलिटीले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी चेरी एन्ड वान्डा बस कम्पनी लिमिटेड र किटोन मोटर्सका सवारी आयात गरेर बिक्री गर्ने छ। विद्युतीय सवारीमात्र आयात तथा व्यापार गर्नेगरी ओम्नी समूहले ओम्नी मोबिलिटी प्रालि कम्पनी बनाएको जनाएको छ।
हाल नेपाली बजारमा चेरी वान्डाका विद्युतीय बस जगदम्बा मोटर्स र शशिला मोटर्सले आयात गर्दै आएको छ। ओम्नी मोबिलिटीले पनि आयात गर्ने घोषणा गरेसँगै चेरी वान्डाका विद्युतीय बस तीनवटा कम्पनीले आयात गर्ने भएका छन्।
२०१५ देखि डिमलर इन्डिया कमर्सियल भेहिकल्सले उत्पादन गर्ने भारतबेन्जका कमर्सियल सवारीको आधिकारिक बिक्रेता ओम्नी मोटर्स रहिआएको छ। वीरगञ्जबाट व्यवसाय सुरु गरेको ओम्नी मोटर्सले हाल देशभर व्यवसाय विस्तार गरेको छ।
काठमाडौंमा कर्पोरेट कार्यालय रहेको ओम्नी मोटर्सको हेडअफिस भने वीरगञ्जमा रहेको छ। आईसी इन्जिन कमर्सियल सवारी व्यवसायमा रहेको ओम्नी समूह विद्युतीय कमर्सियल सवारी व्यापारमा प्रवेश गरेको ओम्नी ग्रुपका निर्देशक उदयन काब्राले लेखेका छन्।
ओम्नी मोबिलिटी प्रालिले नेपालमा ईभी कमर्सियल सवारी व्यवसाय सुरु गरेको काब्राले बताएका छन्। ‘यस कमर्सियल ईभी यात्रामा हामीले चेरी एन्ड वान्डा बस कम्पनी लिमिटेडसँग विशेष साझेदारी गरेका छौँ,’ काब्राले लेखेका छन्। कम्पनीले चेभो ईभीका भ्यान र वान्डाका सिटी र इन्टरसिटी लक्जरी ईभी बस आयात गरेर बिक्री गर्ने छ।
त्यस्तै ओम्नी मोबिलिटीले अर्को विद्युतीय माइक्रोबस पनि आयात गर्ने भएको छ। नेपालका लागि किटोन मोटर्स ईभी भ्यानको एकमात्र आधिकारिक वितरकको रूपमा पनि नियुक्त भएका दाबी काब्राले गरेका छन्। यसअघि किटोन ब्रान्डका विद्युतीय माइक्रोबस शशिला मोटर्सले आयात गरेर बिक्री गर्दै आएको छ।
चीनमा किटोन ब्रान्डको आफ्नै उत्पादन प्लान्ट छैन। कम्पनीले विभिन्न भेन्डरहरुसँग सबै प्रकारका कम्पोनेन्ट आयात गरेर किटोनको ब्रान्ड नेममा एसेम्बल मात्र गर्दै आएको छ। यस्तो ब्रान्डले स्पेयर पार्टस दिन सक्दैन। जसका कारण किटोन ब्रान्डका विद्युतीय माइक्रोबस खरिद गर्ने उपभोक्ताले स्पेयर पार्टस तथा सर्भिस पाउन निक्कै कठिन हुन्छ।
नेपाल विश्वकै द्रुत गतिमा फैलिरहेको ईभी बजारहरूमध्ये एकको रूपमा उदीयमान छ। क्मर्सियल सवारीको क्षेत्रले अर्थपूर्ण परिवर्तन ल्याउने भएकाले ओम्नी मोबिलिटीमार्फत विद्युतीय सवारी व्यावपामा प्रवेश गरेको कम्पनीको भनाइ छ। ‘हाम्रो लक्ष्य स्पष्ट छ, देशमा भरपर्दाे, दक्ष र भविष्यका लागि तयार इलेक्ट्रिक मोबिलिटी भित्र्याउनु रहेको छ,’ काब्राले भनेका छन्।
लामो समयसम्म आईसीई व्यावसायिक सवारी साधन बिक्री गरी बलियो जग बसालेपछि ईभी क्षेत्रमा प्रवेश गरेको हो।
हाल नेपालमा चीनबाट तीन दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय कमर्सियल सवारी आयात तथा बिक्री हुँदै आएको छ। कयौँ ब्रान्डले विद्युतीय माइक्रोबस तथा भ्यान बिक्री गरेपनि समयमा सर्भिस तथा स्पेयर पार्टस उपलब्ध गराउन नसकेको गुनासो आउन थालिसकेको छ। केही सीमित ब्रान्डले मात्र स्पेयर पार्टसको स्टक गरेर सर्भिस उपलब्ध गराउँदै आएका छन्। उपभोक्तले स्पेयर पार्टस र मुख्य सहरमा सर्भिस उपलब्ध गराइरहेका ब्रान्डका सवारी खरिद गर्नुपर्ने हुन्छ।