शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

‘बहुमत असम्भव’ भन्ने भाष्य खण्डित, सुधार दलहरूकै कार्यशैलीमा आवश्यक

सोमबार, फागुन २५ २०८२
‘बहुमत असम्भव’ भन्ने भाष्य खण्डित, सुधार दलहरूकै कार्यशैलीमा आवश्यक

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत फागुन २१ गते सम्पन्न मतदानपछिको मतगणना जारी छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ। अहिले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना भइरहेको छ। मतपरिणामका आधारमा यो निर्वाचनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ बहुमत ल्याउने निश्चित देखिएको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रास्वपालाई प्राप्त भइरहेको जित र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतको अग्रताले यस निर्वाचनमा रास्वपाको पक्षमा ठूलो जनलहर देखिएको छ। स्थापित भनिएका पुराना राजनीतिक दलहरूका लागि भने यो निर्वाचनको नतिजा अनपेक्षित र गहिरो आत्मसमीक्षाको विषय बन्न पुगेको छ।

यसपटकको निर्वाचन सरकार बदल्ने प्रक्रियामा मात्र सीमित नरही लोकतन्त्रको आत्मालाई पुनः स्मरण गराउने ऐतिहासिक क्षण नै बन्न पुग्यो। पुराना दलका 'हेभिवेट' भनिने उम्मेदवारहरूले समेत यो चुनावमा शर्मनाक हार ब्यहोरेका छन् भने मतदाताले आफूलाई नयाँ दाबी गर्ने रास्वपाप्रति अभूतपूर्व विश्वास देखाएका छन्।

अधिकांश निर्वाचन क्षेत्रहरूमा रास्वपाका उम्मेदवाहरू निकटतम प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै निर्वाचित भएका छन् भने केही निर्वाचन क्षेत्रमा उम्मेदवारको राजनीतिक चरित्र हेरेर मतदाताले नितान्त नयाँ र पुराना दलका उम्मेदवारहरूलाई समेत निर्वाचित गराएका छन्। यसले लोकतन्त्रमा जनता नै सर्वोच्च हुन् र उनीहरू आफ्नो स्वविवेकले मत परिवर्तन गर्न सक्छन् भन्ने स्पष्ट गरिदिएको छ।

जनताले चाहे भने राजनीतिक समीकरण र परिणाम दुवै परिवर्तन गर्न सक्छन् भन्ने तथ्यलाई यो निर्वाचनले प्रस्ट पारिदिएको छ। लोकतन्त्रमा जनता नै अन्तिम निर्णयकर्ता हुन्  र उनीहरू सधैँ एउटै दलको प्रभावमा रहिरहँदैनन् भन्ने सत्यलाई जनमतले पुनः एकपटक उजागार गरेको छ।

लामो समयदेखि स्थापित भनिएका दलहरूले नागरिकलाई आफ्नो स्थायी 'भोट बैंक' ठान्ने मानसिकता राख्दै आएका थिए तर यो निर्वाचनले नागरिक स्वतन्त्र चेतनाका मालिक हुन् र उनीहरू परिस्थिति, काम र विश्वासका आधारमा निर्णय गर्न सक्षम छन् भन्ने कुरा स्पष्ट गरेको छ। कुनै पनि क्षेत्र कुनै अमूक दल वा नेताको किल्ला वा गढ हुँदैन भन्ने विषय पनि यसले पुनर्पुष्टि गरेको छ। राजनीतिमा उत्तरदायित्व, पारदर्शिता र कामप्रतिको इमानदारिता मुख्य हो भन्ने सन्देश प्रवाह भएको छ।

मुख्यतः यो निर्वाचनले विद्यमान निर्वाचन प्रणालीका आधारमा कुनै पनि दलले एकल बहुमत ल्याउन सक्दैनन् भन्ने भाष्य खण्डित गरिदिएको छ। यही निर्वाचन प्रणालीमै दुई तिहाइ बहुमतसमेत सम्भव रहेको स्पष्ट भएको छ। यो निर्वाचनले समस्या निर्वाचन प्रणालीभन्दा बढी दलहरूको कार्यशैली, नेतृत्व र विश्वसनीयतामा रहेको कुरालाई पुनः एकपटक सतहमा ल्याइदिएको छ।

यो निर्वाचनले दिएको अर्को महत्त्वपूर्ण सन्देश भनेको नसच्चिनेहरूले कालान्तरमा सक्किनुपर्छ भन्ने हो। समयानुकूल आत्मसमीक्षा गर्न नसक्ने र जनताको अपेक्षा बुझ्न नसक्ने राजनीतिक शक्तिहरूको प्रभाव घट्दै जान्छ भन्ने कुरा चुनावको परिणामले देखाएको छ। राजनीतिक दलहरूका लागि यो गम्भीर चेतावनी हो। त्रुटि सच्याउन ढिलाइ गरियो भने त्यसको मूल्य निकै महँगो पर्न सक्छ भन्ने तथ्य पनि यसबाट प्रस्ट भएको छ।

यसपटकको निर्वाचनबाट दुई तिहाइ बहुमततर्फ उन्मुख रास्वपाले अब आगामी पाँच वर्षका लागि स्थिर सरकार बनाउनेछ। बीचमा कुनै अप्रिय दुर्घटना भएन भने नागरिकले लामो समयदेखि अपेक्षा गर्दै आएको राजनीतिक स्थिरता प्राप्त हुनेछ। मतदाताले यसपटकको निर्वाचनमार्फत स्थिर सरकार चाहेको कुरा मतपरिणामले पुष्टि गरिसेकेको छ। त्यसैले रास्वपाले दुई तिहाइ पाउन लागेको हो।

यस्तोमा विगतमा बहुमत नपाएका कारण राजनीति अस्थिर भयो र अपेक्षित कामकारबाही गर्न सकिएन भनेर दलहरूबाट हुँदै आएको बहानाबाजीको छुट अब रास्वपालाई हुने छैन। अब जनताले अपेक्षा गरेका परिणाम प्राप्त भए वा भएनन् भन्ने प्रश्न सिधै सत्तामा रहने दलको कार्यक्षमतासँग जोडिनेछ।

यसपटक निर्वाचित भएर आउनेहरू खासगरी रास्वपाका सांसदहरूका लागि 'अग्निपरीक्षा'समेत हुनेछ। मतदाताले रास्वपालाई परीक्षण गर्न चाहेका छन्। निर्वाचित उम्मेदवारहरूले अब आफूलाई नेता वा शासकका रूपमा नभइ जनताको सच्चा प्रतिनिधि र सेवकका रूपमा स्थापना गर्न सक्नुपर्नेछ।

नेतागिरी, सत्ता-शक्तिको दम्भ र कुशासनको चक्र तोड्नकै लागि जनताले अप्रत्याशित रूपमा मत परिवर्तन गरेका हुन् भन्ने सन्देशलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्नेछ। यदि पुरानै शैली दोहोरियो भने जनताको धैर्य धेरै समय नटिक्न पनि सक्छ। रास्वपाले जनतामाझ आफूलाई 'नयाँ' भनेर प्रस्तुत गरेकै कारण अभूतपूर्व जनसमर्थन पाएको छ। तर राजनीतिमा नयाँ वा पुरानोभन्दा बढी असल र खराबको सवाल मुख्य हो। राजनीतिमा मुख्यतः जनमुखी, नतिजामुखी  र पारदर्शी कार्यशैली नै 'असल' हो। रास्वपाले यसलाई व्यवहारमा देखाउनुपर्नेछ।

राजनीतिक प्रतिशोध देशको अर्को समस्या हो। विगतमा विपक्षीप्रति घृणा, क्षोभ, प्रतिशोध र निषेधको राजनीति मौलाउँदा नै पुराना दलहरूले आज लज्जाजनक पराजय ब्यहोर्नुपरेको हो। दलीय आबद्धता वा आस्थाको भिन्नताका आधारमा हुँदै आएको विभेद र प्रतिशोध अब अन्त्य हुनुपर्नेछ।  

रास्वपाका सभापति रवि लामिछाने स्वयंले चुनावअघिका सार्वजनिक भाषणहरूमा प्रतिशोधको राजनीति अन्त्य गर्ने बताएका थिए। अब यसलाई भाषणमा मात्र सीमित रहन नदिइ व्यवहारमै उतार्नुपर्नेछ। नागरिकले आकर्षक नारा र वाकपटुतापूर्ण भाषणमा विश्वास गर्न छाड्दै गएका छन्।

मानव समाजको सुन्दरता विचारको विविधतामा पनि निहित हुन्छ। हरेक व्यक्तिको सोच, दृष्टिकोण र राजनीतिक आस्था फरक हुन सक्छ। सबैको मत एउटै हुनुपर्छ भन्ने आवश्यकता पनि छैन। तर नेपाली समाज र राजनीतिमा फरक मत राख्नेहरूलाई शत्रुजस्तो व्यवहार गर्ने प्रवृत्ति हाबी छ।

असहमति र वैचारिक भिन्नताको सम्मान गर्न नसक्ने समाज अन्ततः असहिष्णुता र द्वन्द्वतर्फ उन्मुख हुन्छ। त्यसैले लोकतन्त्रको मर्मलाई जोगाउन फरक विचारलाई पनि सहज रूपमा स्वीकार र सम्मान गर्न जरुरी छ। राजनीतिक र वैचारिक भिन्नताकै आधारमा व्यक्तिप्रति 'वर्गशत्रु'को जस्तो दृष्टिकोण र व्यवहार  त्याग्न जरुरी छ। बरु यसलाई लोकतन्त्रको सुन्दरताका रूपमा बुझ्न र बुझाउन आवश्यक छ। आलोचना र खबरदारीले नै सत्ता र शक्तिलाई मनोमानी गर्नबाट रोक्छ वा रोक्ने प्रयास गर्छ।   

विगतमा सरकार र राजनीतिक दलहरूमा असन्तुष्ट पक्षका कुरा नसुन्ने, सुने पनि बेवास्ता गर्ने प्रवृत्ति हाबी हुँदाको परिणाममा नै गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले विद्रोह गरेका हुन्। असन्तुष्ट आवाजहरूलाई समयमै नसुन्ने, उनीहरूको पीडा र मागलाई बेवास्ता गर्ने प्रवृत्तिले अन्ततः विस्फोटको रूप लिन सक्छ। सत्ता जतिसुकै शक्तिशाली किन नहोस्, सडकको आवाजलाई सधैँ दबाएर राख्न सकिँदैन भन्ने तथ्य उक्त आन्दोलनले पनि प्रमाणित गरिसकेको छ। त्यसैले आगामी सरकार र सबै राजनीतिक दलहरूले संवाद, सहमति र आवश्यक सहजीकरणको कार्यशैली अपनाउन आवश्यक छ।

नेपाल सम्भावनाहरूले भरिएको देश हो। प्राकृतिक स्रोत, सांस्कृतिक विविधता, युवा जनशक्ति र भौगोलिक अवस्थिति सबै पक्षले यो देश अवसरहरूको भण्डार हो। समस्या सम्भावनाको अभावमा होइन, सम्भावना पहिचान गर्न नसक्नु र समयमै त्यसलाई उपयोग गर्न नसक्नुमा छ। अब बन्ने सरकारले युवासँगै सम्पूर्ण देशवासीमा आशा जगाउने, सम्भावना देखाउने र त्यसलाई व्यवहारमा उतार्ने वातावरण सिर्जना गर्नुपर्नेछ। निराशा विस्तार गरेर विकास र समृद्धि सम्भव हुँदैन; यसका लागि आशा र आत्मविश्वासको बीजारोपण अपरिहार्य छ।

नयाँ बन्ने सरकारको काँधमा असंख्य जिम्मेवारीहरू हुनेछन्। यद्यपि लोकतन्त्रप्रतिको सम्मान, जनताको अपेक्षाप्रतिको उत्तरदायित्व, पारदर्शी शासन, आशा जगाउने विकासदृष्टि नै अहिलेको मुख्य कार्यभार हुन्। यस निर्वाचनले देखाएको जनविश्वासलाई सही दिशामा प्रयोग गर्न सकियो भने नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय लेखिन सक्छ।


प्रकाशित : सोमबार, फागुन २५ २०८२१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend