काठमाडौं- ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)ले आफ्नो चर्चित एसयूभी भेलारको इलेक्ट्रिक संस्करणमा काम गरिरहेको छ। हालै सडक परीक्षणका क्रममा यसको प्रोटोटाइप 'क्यामोफ्लाज'मा देखिएको हो।
बेलायती विलासी कार निर्माता कम्पनी जेएलआरले ज्यागुअर ब्रान्ड अन्तर्गत सबै विद्युतीय कारमात्र उत्पादन गर्ने भन्दै २०२४ देखि नै आईसी इन्जिन तथा हाइब्रिड कार उत्पादन बन्द गरेको थियो। कम्पनीले २०२६ देखि पुन: उत्पादन सुरु गर्ने र नयाँ उत्पादन हुने सबै कार विद्युतीय हुने बताएको थियो। सोही अनुसार जेएलआरले नयाँ कारको परीक्षण गरेको हो।
जेएलआरले परीक्षण गरिरहेको विद्युतीय कार आकर्षक डिजाइनमा आउन लागेको छ। रोचक कुरा के छ भने नयाँ ईभी भेलारको डिजाइन टाटा मोटर्सको विद्युतीय कन्सेप्ट टाटा अभेन्यासँग मिल्दोजुल्दो देखिएको छ। टाटा मोटर्सले दुई वर्षअघि अभेन्या ईभीको कन्सेप्ट सार्वजनिक गरेको थियो।
टाटा मोटर्सले २०२६ भित्रै अभेन्या ईभी बिक्रीका लागि बजारमा ल्याउने बताइसकेको छ। बेलायती ब्रान्ड ज्यागुअर ल्यान्ड रोभरको पूर्ण स्वामित्य टाटा मोटर्ससँग रहेको छ। टाटाका कयाैँ कारहरुमा जेएलआरका केही प्लेटफर्महरु सेयर समेत हुँदै आएको छ।
डिजाइन
नयाँ भेलार ईभीको लुक्स हालको इन्धनबाट चल्ने मोडलभन्दा निकै फरक र आधुनिक देखिएको छ। यसको बडी 'लो-स्लङ' र धेरै हदसम्म 'स्पोर्टब्याक' वा 'क्रसओभर' जस्तो देखिन्छ।
टाटा अभिन्याको प्रभाव : यसको पछिल्लो भागको बनावट र छतको ढल्काइ टाटा अभिन्यासँग मिल्दोजुल्दो देखिन्छ। टाटा र जेएलआरबीचको प्राविधिक साझेदारीका कारण यो समानता देखिएको अनुमान गरिएको छ।
नयाँ भेलारको मुख्य विशेषताका रुपमा 'फ्लस' डोर ह्यान्डलहरू, पातला एलईडी हेडल्याम्पहरू र ठूला आकारका एलोय ह्वीलहरू देख्न सकिन्छ।
प्लेटफर्म र प्रविधि
ईएमए प्लेटफर्म : भेलार ईभी जगुआर ल्यान्ड रोभरको नयाँ इलेक्ट्रिफाइड मोडुलर आर्किटेक्चर प्लेटफर्ममा आधारित हुनेछ। मुख्य कुरा के छ भने टाटाको अभिन्या सिरिजका कारहरू पनि यही ईएमए प्लेटफर्ममा बन्नेछन्। यसले गर्दा दुवै कम्पनीका गाडीहरूले समान ब्याट्री र मोटर प्रविधि प्रयोग हुने सम्भावना धेरै छ। टाटाले अभेन्या सिरिजका कार पनि पूर्ण विद्युतीय बनाउने घोषणा यसअघि नै गरिसकेको छ।
जेएलआर भेलारको क्याबिनमा निकै कम बटनहरू हुनेछन् र धेरैजसो नियन्त्रणहरू टचस्क्रिनबाट हुनेछन्। यसमा नयाँ 'पीभी प्रो' इन्फोटेनमेन्ट सिस्टम, ठूलो प्यानोरामिक सनरुफ र उन्नत ड्राइभर असिस्टेन्स सिस्टमजस्ता विशेषता रहनेछन्।
भेलार ईभी बजारमा आएपछि यसले मुख्य रूपमा पोर्सा, बीएमडब्लू, मर्सिडिजलगायतका ईभीसँग सीधा प्रतिस्पर्धा गर्नेछ। रेन्ज रोभर भेलार ईभी २०२६ को अन्त्यसम्ममा विश्व बजारमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।