शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

हुन्डाई मोटर ग्रुपले एआई डेटा सेन्टर र रोबोट प्लान्टमा ६.२ अर्ब डलर लगानी गर्ने

शुक्रबार, फागुन १५ २०८२
हुन्डाई मोटर ग्रुपले एआई डेटा सेन्टर र रोबोट प्लान्टमा ६.२ अर्ब डलर लगानी गर्ने

हुन्डाई मोटर ग्रुप र दक्षिण कोरियाली सरकारबीच शुक्रबार देशको पश्चिमी तटीय क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डेटा सेन्टर, रोबोट उत्पादन प्लान्ट र अन्य पूर्वाधार विकासका लागि करिब ९ ट्रिलियन वन (६.२६ अर्ब अमेरिकी डलर) लगानी गर्ने सम्झौता भएको छ।

काठमाडौं- हुन्डाई मोटर ग्रुपले कोरियामा एआई डेटा सेन्टर बनाउन ठूलो लगानी गर्ने भएको छ। यो ग्रुपले एआई डेटा सेन्टरसँगै रोबोट उत्पादन प्लान्ट पनि बनाउने भएको हो। 

हुन्डाई मोटर ग्रुप र दक्षिण कोरियाली सरकारबीच शुक्रबार देशको पश्चिमी तटीय क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डेटा सेन्टर, रोबोट उत्पादन प्लान्ट र अन्य पूर्वाधार विकासका लागि करिब ९ ट्रिलियन वन (६.२६ अर्ब अमेरिकी डलर) लगानी गर्ने सम्झौता भएको छ।

हुन्डाईले करिब ५.८ ट्रिलियन वन खर्चेर एउटा विशाल एआई डाटा सेन्टर निर्माण गर्नेछ। यस सेन्टरमा ५० हजार वटा ग्राफिक्स प्रोसेसिङ युनिट जडान गरिनेछ। जसले कम्पनीको भविष्यका प्रविधिहरूलाई सघाउने गरी उक्त लगानी गर्न लागेको हो। 

हुन्डाई मोटर समूहले रोबोट उत्पादनका लागि ४ सय बिलियन वन लगानी गर्नेछ। यहाँ विशेष गरी मानिस जस्तै ह्युमेन्वड रोबोटहरू उत्पादन गरिने लक्ष्य राखिएको छ। 

हाइड्रोजन उत्पादन सुविधाका लागि हुन्डाई मोटर समूहले १ ट्रिलियन वन र सौर्य ऊर्जाका लागि १.३ ट्रिलियन वन लगानी गर्ने घोषणा गरेको छ। यी सबै परियोजनाका लागि हुन्डाईले कोरियन सरकारसँग साझेदारीलगायत सम्झौता गरेको छ। 

यो परियोजना दक्षिण कोरियाको पश्चिमी तटमा रहेको 'सेमानगुम' क्षेत्रमा सञ्चालन हुनेछ। यो क्षेत्रलाई सरकारले औद्योगिक केन्द्रको रूपमा विकास गरिरहेको छ।

हुन्डाईले सन् २०२६ देखि आगामी पाँच वर्षका लागि घोषणा गरेको कुल १२५ ट्रिलियन वनको आन्तरिक लगानी योजना अन्तर्गतको यो पहिलो ठोस कदम हो। यसले कम्पनीलाई केवल कार निर्माता मात्र नभइ रोबोटिक्स र एआई क्षेत्रको विश्वव्यापी नेतृत्वकर्ता बनाउने लक्ष्य राखेको छ। 

विशेष गरी 'बोस्टन डाइनामिक्स'सँगको सहकार्यमा हुन्डाईले मानवाकार रोबोट 'एटलास'को व्यवसायिक उत्पादनलाई तीव्रता दिने देखिएको छ। 

हुन्डाई मोटर ग्रुपअन्तर्गत हुन्डाई र किया ब्रान्डका कार उत्पादन हुँदै आएको छ। हुन्डाई विश्वको पाँचौँ धेरै कार बिक्रेता कम्पनी समेत हो। पछिल्लो पटक हुन्डाई विद्युतीय कार उत्पादनमा केन्द्रित रहेको छ। यसका सथै हुन्डाईले हाइड्रोजन फ्युलसेलमा पनि लगानी गरिरहेको छ। 


प्रकाशित : शुक्रबार, फागुन १५ २०८२१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend