काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत उत्पादन तथा प्रशोधन कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म वित्तीय सुधार देखाएका छन्।
सिमेन्ट उद्योगमा शिवम् सिमेन्ट र सर्वोत्तम सिमेन्टले अघिल्लो वर्षको तुलनामा उल्लेख्य नाफा वृद्धि गरेका छन्। शिवम् सिमेन्टले दोस्रो त्रैमाससम्म ३५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै गत आवको ५ करोड ६८ लाख रुपैयाँ नाफाबाट ५२८ प्रतिशत वृद्धि गरेको छ। सर्वोत्तम सिमेन्टले पनि २४ करोड १४ लाख रुपैयाँबाट बढेर ५३ करोड ८३ लाख रुपैयाँ नाफा पुर्याएको छ।
घाटाबाट नाफातर्फ फर्किएका कम्पनीमा सोनापुर मिनरल्स एन्ड आयल पर्छ। गत आवको दोस्रो त्रैमासमा १२ करोड २० लाख रुपैयाँ घाटामा रहेको कम्पनीले चालु आवमा ४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीले व्यवसायमा प्रभाव पार्ने कारणका रूपमा जेनजी आन्दोलन, प्रतिनिधिसभा निर्वाचनको वातावरण, विकास निर्माण कार्यमा सुस्ती र डेडिकेटेड तथा ट्रंकलाइन विवादलाई औँल्याएको छ।
अझै घाटामै रहेको घोराही सिमेन्टले पनि आफ्नो घाटा करिब ६० प्रतिशत घटाएको छ। गत आवमा ६६ करोड ७१ लाख रुपैयाँ घाटा भोग्नुपरेको कम्पनीको चालु आवको दोस्रो त्रैमाससम्मको घाटा २६ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ।
नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको नाफामा भने गिरावट आएको छ। यस वर्ष दोस्रो त्रैमाससम्मको खुद नाफा ४३ करोड ९ लाख रुपैयाँमा झरेको छ, जुन गत आवको सोही अवधिको ४७ करोड ७८ लाख रुपैयाँबाट १० प्रतिशत कम हो। कम्पनीले राजनीतिक अस्थिरता, बजार सुस्ती, कच्चा पदार्थको लागत वृद्धि र अमेरिकी डलरसँग नेपाली रुपैयाँको अवमूल्यनलाई नाफा घट्ने प्रमुख कारणको रूपमा औंल्याएको छ।
त्यस्तै बोटलर्स नेपाल तराईले गत आवमा ११ करोड ८९ लाख रुपैयाँ घाटा भोगे पनि चालु आवमा १३ करोड ५४ लाख रुपैयाँ नाफा कमाएर सकारात्मक अवस्थामा फर्केको छ। बोटलर्स नेपाल बालाजु-ग्रूपले पनि गत आवको २४ करोड ५० लाख रुपैयाँ घाटाबाट ३ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
हिमालय डिस्टिलरीले ४० करोड ४९ लाख रुपैयाँबाट बढेर ४४ करोड ८४ लाख रुपैयाँ नाफा पुर्याएको छ। श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले ५० लाख रुपैयाँ आसपासको नाफाबाट १ करोड ५६ लाख रुपैयाँ नाफा पुर्याएको छ। कम्पनीले लागत नियन्त्रण, दक्षता सुधार, उत्पादन वृद्धि र कन्ट्रयाक्ट फार्मिङ तथा गुणस्तरीय बीउ उत्पादन-वितरण विस्तारलाई मुख्य कारण भनेको छ।
विदेशी लगानी रहेको एसवाई प्यानल नेपालको नाफा घटेर ०.७८ करोड रुपैयाँमा पुगेको छ। नेपाल ल्युब आयलले सामान्य अवस्थामा वित्तीय प्रदर्शन कायम राखेको छ, २.२० करोडबाट २.११ करोड रुपैयाँ नाफा कायम राखेको छ।
घाटा र नाफामा मिश्रित परिणाम देखिएका अन्य कम्पनीहरूमा सागर डिस्टिलरी (-२.६१ करोड), रिलायन्स स्पिनिङ मिल्स (१८.८८ करोडबाट १३.७४ करोड), र बोटलर्स नेपाल बालाजु-ग्रूप (गत आव २४.५० करोड घाटाबाट ३.१२ करोड नाफा) पर्छन्।
१४ कम्पनीको वित्तीय अवस्था (करोडमा)
|
कम्पनी |
आव २०८१/८२ |
आव २०८२/८३ |
विवरण |
|
शिवम् सिमेन्ट |
५.६८ |
३५.७० |
नाफामा ५२८% वृद्धि |
|
घोराही सिमेन्ट |
-६६.७१ |
-२६.४९ |
घाटा ६०% घट्यो |
|
युनिलिभर नेपाल |
४७.७८ |
४३.०९ |
नाफा १०% घट्यो |
|
सोनापुर मिनरल्स एन्ड आयल |
-१२.२० |
४.७५ |
घाटाबाट नाफामा फर्कियो |
|
सर्वोत्तम सिमेन्ट |
२४.१४ |
५३.८३ |
नाफा दोब्बरभन्दा बढी |
|
बोटलर्स नेपाल तराई |
-११.८९ |
१३.५४ |
घाटाबाट नाफा |
|
हिमालय डिस्टिलरी |
४०.४९ |
४४.८४ |
नाफामा सामान्य वृद्धि |
|
बोटलर्स नेपाल बालाजु-ग्रूप |
-२४.५० |
३.१२ |
घाटाबाट नाफा |
|
श्रीनगर एग्रिटेक इन्डस्ट्रिज |
०.५० |
१.५६ |
नाफा तीन गुणाले बढ्यो |
|
एसवाई प्यानल नेपाल |
२.७२ |
०.७८ |
नाफा घट्यो |
|
नेपाल ल्युब आयल |
२.२० |
२.११ |
स्थिर वित्तीय प्रदर्शन |
|
सागर डिस्टिलरी |
-१.४५ |
-२.६१ |
घाटा बढ्यो |
|
रिलायन्स स्पिनिङ मिल्स |
१८.८९ |
१३.७४ |
नाफा घट्यो |