शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

पाँचतारे ‘होटल मेची क्राउन’ को आम्दानी लोभलाग्दो, भारतीय पर्यटकले आम्दानीमा उछाल

मंगलबार, फागुन १२ २०८२
पाँचतारे ‘होटल मेची क्राउन’ को आम्दानी लोभलाग्दो, भारतीय पर्यटकले आम्दानीमा उछाल

काठमाडौं- पाँचतारे होटल मेची क्राउन प्लाजाको आम्दानी पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी भारतीय पर्यटक तथा सीमावर्ती बजारबाट आउने आगन्तुकको संख्या बढेसँगै होटलको कारोबारमा उछाल आएको हो।

झापाको मेचीनगरस्थित पाँचतारे क्यासिनो एकीकृत होटल ‘होटल मेची क्राउन प्लाजा’ले सञ्चालन गर्दै आएको भेगास सिटी इन्टरटेनमेन्ट प्रालिको आम्दानी पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको रेटिङ कम्पनी इक्रा नेपालको विवरणमा उल्लेख गरिएको छ।

वि.सं. २०७१ असारमा स्थापना भएको कम्पनीले वि.सं. २०७७ माघदेखि १०२ कोठाबाट सेवा सुरु गरेको थियो। आर्थिक वर्ष २०८१/८२ को सुरुवातमा थप १०३ कोठा विस्तार गरी कुल २०५ कोठा सञ्चालनमा ल्याएपछि आम्दानीमा उल्लेखनीय उछाल आएको छ।
 
कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७८/७९ मा १८ करोड ७० लाख रुपैयाँ रहेकोमा २०७९/८० मा २७ करोड ७० लाख रुपैयाँ पुगेको थियो। त्यसपछिको वर्ष २०८०/८१ मा २९ करोड ३० लाख रुपैयाँ पुगेको आम्दानी २०८१/८२ मा बढेर ४४ करोड ४० लाख रुपैयाँ पुगेको छ। एकै वर्षमा करिब ५२ प्रतिशतले आम्दानी बढ्नु होटल विस्तार र क्यासिनो कारोबारको प्रभावका रूपमा लिइएको छ।

होटलको सञ्चालन नाफा दर पछिल्ला दुई वर्षमा ५७ देखि ५९ प्रतिशतको बीचमा स्थिर देखिएको छ, जसले लागत नियन्त्रण र स्थिर आम्दानी संरचनालाई संकेत गर्छ।

होटल परिसरभित्रको क्यासिनो सञ्चालन भेगास रिक्रिसेन नेपाल प्रालिलाई लिजमा दिइएको छ। उक्त कम्पनीले मासिक भाडा तिर्ने व्यवस्था अनुसार सञ्चालन गर्दै आएको छ। क्यासिनो कारोबारबाट प्राप्त भाडा आम्दानीले होटलको समग्र आम्दानीमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

यद्यपि कुल आम्दानीमा क्यासिनो बुकिङको हिस्सा अघिल्लो वर्ष करिब ५२ प्रतिशत रहेकोमा हाल घटेर करिब ३१ प्रतिशतमा झरेको छ। यसले होटलको आम्दानी स्रोत क्रमशः विविधीकरण हुँदै गएको देखाउँछ।

मेची क्राउन भारत-नेपाल सीमाबाट करिब ६ किलोमिटर दूरीमा अवस्थित छ। पश्चिम बंगाल र बिहारका पर्यटक तथा क्यासिनो खेलाडीहरूलाई लक्षित गरी निर्माण गरिएको यस होटलले पूर्वी नेपालमा पाँचतारे सुविधा दिने पहिलो एकीकृत क्यासिनो रिसोर्टको रूपमा आफ्नो पहिचान बनाएको छ।

कोठा विस्तारपछि पनि औसत अधिभोग दर करिब ३५ प्रतिशत कायम रहनु प्रतिस्पर्धात्मक बजारमा सकारात्मक संकेत मानिएको छ।

कर्जा भार घट्दो तर अझै चुनौतीपूर्ण

आम्दानी बढेसँगै कम्पनीको ऋण सेवा क्षमतामा सुधार आएको छ। ब्याज तिर्ने क्षमता सूचक पछिल्लो वर्ष २.५ गुणा पुगेको छ भने ऋण सेवा वहन क्षमता १.८ गुणामा पुगेको छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः १.६ र १.३ गुणा मात्र थिए।

यद्यपि कुल ऋण र स्वपुँजी अनुपात अझै २.३ गुणा रहेको छ, जसलाई उच्च नै मानिन्छ। प्रतिकोठा लागत करिब १ करोड ५ लाख रुपैयाँ तथा प्रति कोठा ऋण करिब ५९ लाख रुपैयाँ रहेको छ।

कम्पनीको सम्पूर्ण कारोबार एकै होटलमा केन्द्रित रहेकाले भौगोलिक एकाग्रता जोखिम विद्यमान छ। होटल तथा क्यासिनो उद्योगको चक्रीय प्रकृति, प्रतिस्पर्धात्मक मूल्य दबाब र ब्याजदरको उतारचढावले भविष्यमा दबाब सिर्जना गर्न सक्ने आँकलन गरिएको छ।


प्रकाशित : मंगलबार, फागुन १२ २०८२१०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend