शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

जे पनि स्मरण गरिदिन्छन् एआई : उठिरहेको छ प्रतिलिपि अधिकारलगायत गम्भीर कानूनी प्रश्न

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ११ २०८२
जे पनि स्मरण गरिदिन्छन् एआई : उठिरहेको छ प्रतिलिपि अधिकारलगायत गम्भीर कानूनी प्रश्न

काठमाडौं- एआईका क्षेत्रमा विकसित भइरहेका ठूला भाषा मोडेल (एलएलएम्स)हरूले आफ्ना डाटाबाट अपेक्षाभन्दा धेरै सामग्री स्मरण गरेर राख्ने गरेको नयाँ अनुसन्धानले देखाएको छ। यसले एआईले कपिराइटयुक्त सामग्रीबाट सिक्छन् तर त्यसको प्रतिलिपि भण्डारण गर्दैनन् भन्ने एआई कम्पनीहरूको  दाबीमाथि गम्भीर प्रश्न उठाएको छ।

हालै सार्वजनिक भएका अध्ययनहरूका अनुसार विश्वका अग्रणी एआई कम्पनीहरू जस्तै ओपन एआई, गुगल, मेटा, एन्थ्रोपिक र एक्सएआईका मोडेलहरूलाई विशेष ढंगले प्रम्प्ट गर्दा चर्चित बेस्टसेलर उपन्यासहरूका अंशहरू लगभग शब्दशः निकाल्न सक्ने देखियो।

स्ट्यानफोर्ड युनिभर्सिटी र एल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गत महिना प्रकाशित गरेको अध्ययनमा १३ वटा पुस्तकबाट हजारौँ शब्द एआई मोडेलमार्फत निकाल्न सफल भएको देखाएका छन्। ती पुस्तकहरूमा अ गेम अफ थ्रोन्स, दि हंगर गेम्स र दि होबिट जस्ता विश्वप्रसिद्ध कृतिहरू समावेश थिए।

अनुसन्धानकर्ताहरूले पुस्तकका वाक्य पूरा गर्न मोडेललाई निर्देशन दिएका थिए। त्यसक्रममा गुगलको जिमिनी २.५ ले ह्यारी पोटर एन्ड दि फिलोसोफर्स स्टोन को ७६.८ प्रतिशत अंश उच्च शुद्धतासहित दोहोर्‍याएको पाइएको छ भने एक्सएआईको गोर्क थ्रीले ७०.३ प्रतिशत सामग्री पुनः उत्पादन गरेको थियो।

त्यस्तै एन्थ्रोपिकको क्लाउड ३.७ सोनेट मोडेलबाट ‘जेलब्रेक’ प्रविधि प्रयोग गरेर उपन्यासको झण्डै सम्पूर्ण अंश निकाल्न सकिएको अनुसन्धानले जनाएको छ। ‘जेलब्रेक’ भन्नाले प्रयोगकर्ताले मोडेलमा राखिएका सुरक्षात्मक सीमाहरू बेवास्ता गराउन सक्ने तरिका बुझिन्छ।

यसअघि एआई विज्ञहरू ‘ओपन’ मोडेलहरू जस्तै मेटाको लिमाले आफ्ना प्रशिक्षण पुस्तकहरूको ठूलो हिस्सा स्मरण राख्ने गरेको पत्ता लागिसकेको थियो। तर ‘क्लोज्ड’ मोडेलहरू जसमा अवाञ्छित सामग्री उत्पादन हुन नदिन कडा सुरक्षा संयन्त्र राखिएको हुन्छ, त्यस्ता मोडेलहरू पनि यति ठूलो मात्रामा सामग्री स्मरण गर्न सक्षम हुन्छन् भन्ने अपेक्षा कम थियो।

स्मरण क्षमताको परिमाण पहिले सोचेभन्दा धेरै ठूलो देखिँदै गएको छ। गार्डरेल्स हुँदाहुँदै पनि मोडेलहरूले पूरै पाठ स्मरण गर्न सक्नु आश्चर्यजनक थियो।

एआई कम्पनीहरूले लामो समयदेखि मोडेलहरूले प्रशिक्षण डाटाको प्रतिलिपि भण्डारण नगर्ने दाबी गर्दै आएका छन्। सन् २०२३ मा अमेरिकी कपिराइट कार्यालयलाई लेखेको पत्रमा गुगलले 'मोडेलभित्र प्रशिक्षण डाटाको कुनै प्रतिलिपि पाठ, तस्बिर वा अन्य ढाँचामा रहँदैन' भनेर स्पष्ट पारेको थियो।

उद्योगले कपिराइटयुक्त पुस्तकमा आधारित प्रशिक्षणलाई 'फेयर युज'को दायराभित्र पर्ने तर्क पनि गर्दै आएको छ। उनीहरूको भनाइमा प्रविधिले मूल कृतिलाई रूपान्तरण गरेर अर्थपूर्ण रूपमा नयाँ सिर्जना गर्छ। तर नयाँ अनुसन्धान निष्कर्षले यो तर्कलाई चुनौती दिएको कानूनी विज्ञहरूको भनाइ छ। यी अनुसन्धान निष्कर्षले एआई मोडेलले कपिराइट कृति भण्डारण वा पुनः उत्पादन गर्दैन भन्ने दाबीलाई चुनौती दिन सक्छ।

कपिराइट विवाद एआई उद्योगका लागि विश्वभर ठूलो कानूनी लडाइँको विषय बनिरहेको छ। गत वर्ष अमेरिकाको एक अदालतले एन्थ्रोपिकले केही कपिराइट सामग्रीमा आधारित प्रशिक्षणलाई 'ट्रान्सफरमेटिभ' भन्दै फेयर युजको रूपमा मान्न सकिने ठहर गरेको थियो। तर सोही अदालतले पायरेटेड सामग्री भण्डारण गर्नु 'मूलतः र अक्षम्य रूपमा उल्लंघन' भएको निष्कर्ष निकालेको थियो। त्यसपछि एन्थ्रोपिकले मुद्दा टुंग्याउन १.५ अर्ब डलर तिर्न सहमति जनाएको थियो।

यस्तै जर्मनीमा गत नोभेम्बरमा आएको एक ऐतिहासिक निर्णयले ओपन एआईले गीतका शब्दहरू स्मरण गरेर कपिराइट उल्लंघन गरेको ठहर गरेको थियो। यो मुद्दा संगीत सिर्जनाकर्ता, गीतकार र प्रकाशकहरूको प्रतिनिधित्व गर्ने संस्था जीईएमएले दायर गरेको थियो। उक्त फैसला युरोपेली संघमा महत्वपूर्ण नजिरका रूपमा हेरिएको छ।

पूरै पुस्तक पुनः उत्पादन हुनु स्पष्ट कपिराइट उल्लंघन हो। यो कति मात्रामा भइरहेछ भन्ने आधारमा मात्र एआई कम्पनीहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष जिम्मेवार ठहर गर्न सकिन्छ।

अनुसन्धानकर्ताहरूले अझैसम्म भाषा मोडलहरूले किन केही सामग्री स्मरण गर्छन् भन्ने स्पष्ट व्याख्या गर्न सकेका छैनन्। मोडेलबाट उत्पादन हुने सामग्रीमा प्रशिक्षण डाटाको कति अंश देखापर्छ भन्ने पनि अस्पष्ट छ। यो समस्या कपिराइटसम्म सीमित छैन। स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा प्रयोग भइरहेका मोडेलहरूले यदि गोप्य प्रशिक्षण डाटाबाहिर निकाल्ने जोखिम बोकेका छन् भने त्यसले गोपनीयता र विश्वाससम्बन्धी गम्भीर प्रश्न उठाउन सक्छ।

एआई मोडेलहरूको 'स्मरण' क्षमता अपेक्षाभन्दा धेरै शक्तिशाली देखिँदै जाँदा कम्पनीको आधारभूत कानूनी बचाउ ‘हामी सिक्छौँ, भण्डारण गर्दैनौँ’ भन्ने विषय कमजोर बन्दै गएको छ। प्रश्न केवल प्रविधिको सीमाबारे होइन यसको नैतिक र कानूनी सीमाबारे पनि उठिरहेको छ। 

एन्थ्रोपिकले भने आफ्ना अध्ययनमा प्रयोग गरिएको ‘जेलब्रेक’ प्रविधि सामान्य प्रयोगकर्ताका लागि व्यावहारिक नभएको र पुस्तक किन्नुभन्दा धेरै मेहनत लाग्ने दाबी गरेको छ। कम्पनीका अनुसार मोडेलले विशिष्ट डाटासेटको प्रतिलिपि राख्दैन, बरु शब्द र वाक्यांशबीचका ढाँचाबाट सिक्छ।


प्रकाशित : सोमबार, फागुन ११ २०८२०९:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend