बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

लाभांश घोषणापछि दुई दिनमै टेलिकमको सेयर मूल्य १४६ रुपैयाँले घट्यो, मूल्य कतिसम्म आउला?

बुधबार, चैत २ २०७८
लाभांश घोषणापछि दुई दिनमै टेलिकमको सेयर मूल्य १४६ रुपैयाँले घट्यो, मूल्य कतिसम्म आउला?

काठमाडौं- नेपाल टेलिकमले लाभांश प्रस्ताव गरेपछि दोस्रो दिन पनि भारी अंकले सेयर मूल्य घटेको छ। इतिहासमै पहिलो पटक सेयर लाभांश प्रस्ताव गरेकै दिन पनि सेयर मूल्यमा  गिरावट आएको थियो। लगातार दुई दिनमा प्रतिकित्ता १४६ रुपैयाँले मूल्य घटेकाे छ। 

टेलिकमले ४० प्रतिशत लाभांश घोषणा गरेको थियो। तर मंगलबार प्रतिकित्ता ८८ रुपैयाँले घटेको सेयर मूल्य बुधबार पनि ५८ रुपैयाँले घटेर १५६८ रुपैयाँ कायम भएको छ। 

इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरे पनि सेयर मूल्य घटिरहेको छ। ठूलो कम्पनी भएकोले चुक्ता पुँजी बढ्दै जाँदा सेयर मूल्य तल झरेर बस्ने अनुमानमा लगानीकर्ताले सेयर बिक्री गरिरहेका छन्। सबै कम्पनीको हकमा त्यस्तो लागू नभए पनि लगानीकर्ता त्रासमा हुँदा सेयरमूल्य घटेको हो। 

बुधबार पनि कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ। १ लाख ३ हजार कित्ता सेयर कारोबार हुँदा १६ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। मंगलबार टेलिकमको २ लाख ३ हजार कित्ता सेयर कारोबार हुँदा ३४ करोड २३ लाख रुपैयाँको किनबेच भएको थियो।

कम्पनीको सूचना चुहाएर एक वर्षयताकै महँगो मूल्य १७९९ रूपैयाँसम्म सेयर मूल्य पुगेको थियो। टेलिकमको ९७२ रुपैयाँ न्यूनतम मूल्यमा कारोबार भएको थियो। 

टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने दिने निर्णय गरेको थियो। कम्पनीले सेयरधनीलाई २० प्रतिशत सेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो। 

कम्पनीको बजार पुँजीकरण २ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ। मंगलबार भन्दा टेलिकमको पुँजीकरण १२ अर्ब घटेको हो। मंगलबार २ खर्ब ५७ रुपैयाँ रहेको थियो।  


प्रकाशित : बुधबार, चैत २ २०७८१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend