शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सिप्रदी यात्रीले नेपालमै बनाएको विद्युतीय स्कुटरको ७ हजार किलोमिटर परीक्षण

आइतबार, फागुन १० २०८२
सिप्रदी यात्रीले नेपालमै बनाएको विद्युतीय स्कुटरको ७ हजार किलोमिटर परीक्षण

स्कुटरलाई नेपालका विभिन्न कठिन भूभागहरु वालिङ, राम्दीघाट, भरतपुर, काठमाडौं, नुवाकोट, कुरी, हेटौँडा, जिरी, फापरबारी, मुलकोट र कटारीसम्मका सडकहरुमा गुडाएर परीक्षण गरिएको छ।

काठमाडौं- सिप्रदी यात्री स्कुटरको परीक्षण धमाधम भइरहेको छ। त्यही क्रममा यात्रीले नेपालमै डिजाइन तथा उत्पादन गरेको विद्युतीय स्कुटरको ७ हजार किलोमटिर परीक्षण भएको छ। कम्पनीले उक्त स्कुटरको नेपालका विभिन्न भूगोलमा परीक्षण गरेको जनाएको छ।  

सिप्रदी ट्रेडिङ र यात्री इलेक्ट्रिकको सहकार्यमा उत्पादन भएको नयाँ विद्युतीय स्कुटर (प्रोजेक्ट पीटू)ले हालसम्म ७ हजार किलोमिटर लामो चुनौतीपूर्ण रोड टेस्टिङ सफलतापूर्वक सम्पन्न गरेको छ। 

उक्त स्कुटरलाई नेपालका विभिन्न कठिन भूभागहरु वालिङ, राम्दीघाट, भरतपुर, काठमाडौं, नुवाकोट, कुरी, हेटौँडा, जिरी, फापरबारी, मुलकोट र कटारीसम्मका सडकहरुमा गुडाएर परीक्षण गरिएको छ। 

तराईको समथर सडकदेखि मध्यपहाडी र अफरोड सेगमेन्टमा समेत यसको क्षमता जाँचिएको यात्रीले जनाएको छ। कम्पनीले यो स्कुटरलाई दैनिक ४ सय किलोमिटरभन्दा धेरै गुडाएर यसको टिकाउपन परीक्षण गरिरहेको छ।

यात्री मोटरसाइकलले सिप्रदीसँगको सहकार्यमा स्कुटर प्रोजेक्ट अघि बढाएको थियो। त्यसअघि यात्रीले दुई मोटरसाइकल नेपालमै डिजाइन तथा उत्पादन गरेर बिक्रीमा ल्याइसकेको थियो। 

डेढ वर्षअघि स्टार्टप कम्पनी यात्रीसँगको सहकार्यमा सिप्रदीले नेपालमै विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने घोषणा गरेको थियो। सोहीअनुसार यात्रीले मोटरसाइकलका साथै विद्युतीय स्कुटरको डिजाइन सुरु गरेको थियो। 

परीक्षणलगायत कामसँगै सिप्रदी यात्रीले उत्पादन प्लान्टको काम पनि गरिरहेको छ। कच्चा पदार्थको आपूर्तिका लागि आपूर्तिकर्ताहरुसँगको छलफल र सम्झौता गर्ने क्रममा कम्पनी रहेको छ। 

२०८३ बैशाखसम्ममा नेपालमै बनेको विद्युतीय स्कुटर बजारमा ल्याउने योजना सिप्रदी यात्रीको रहेको छ। 

यात्रीको मोटरसाइकल तथा स्कुटर उत्पादन प्लान्ट धादिङको गजुरीमा बनिरकेको छ। २०७६ पुसमा नेपालमै डिजाइन तथा उत्पादन भएको यात्रीको विद्युतीय मोटरसारइकल सार्वजनिक भएको थियो।

डिजाइनमा अब्बल रहेको युवाको समूहले बनाएको यात्रीको विद्युतीय मोटरसाइकल विभिन्न उतारचढावबीच चलिरहेको थियो। त्यहीबीचमा यात्रीले सिप्रदीसँग सहकार्यको घोषणा गरेको थियो। 


प्रकाशित : आइतबार, फागुन १० २०८२१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend