काठमाडौं- टाटा मोटर्सले आफ्नो क्रसओभर एसयूभी पन्च ईभीको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ। शुक्रबार भारतीय बजारका लागि टाटाले पन्च ईभीको फेसलिफ्ट भर्सन नयाँ अपडेटसहित सार्वजनिक गरेको हो।
टाटा मोटर्सले टाटा पन्च ईभीको फेसलिफ्ट ६ भेरियन्टमा बजारमा ल्याएको छ। कम्पनीले फेसलिफ्ट पन्चको बेस भेरियन्टको मूल्य ९ लाख ९६ हजार र टप भेरियन्टको मूल्य १२ लाख ५९ हजार भारु तोकेको छ। अघिल्लो महिना पेट्रोल भर्सनको फेसलिफ्ट सार्वजनिक गरेको टाटा मोटर्सले अहिले पन्च ईभीको फेसलिफ्ट बजारमा ल्याएको हो।
टाटाले पन्चको फ्रन्ट डिजाइनमा परिर्वतनसहित फेसलिफ्ट मोडल ल्याएको हो। पन्च ईभी फेसलिफ्टमा अगाडि परिमार्जित बम्पर राखेको छ भने ग्रिल यसअघिको जस्तो खुला डिजाइन दिएको छैन।
टाटाले नयाँ पन्च ईभीमा हालकोभन्दा ठूलो ब्याट्री प्याक दिएको छ। नयाँ पन्च ईभी ३० किलोवाट आवर र ४० किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध छ। यी ब्याट्रीले क्रमशः ३ सय ५५ किलोमिटर र ४ सय ६८ किलोमिटर रेन्ज एआरएआईले प्रमाणित गरेको छ। ४० किलोवाट आवर ब्याट्री भएको नयाँ पन्चले रियल वल्र्ड रेन्ज ३ सय ५५ किलोमिटर रहेको कम्पनीले जनाएको छ।
यसअघिको पन्च ईभी २५ किलोवाट आवर र ३५ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध थियो।
पन्च फेसलिफ्टलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन २६ मिनेटमात्र लाग्ने छ। यसले ६५ किलोवाटको डीसी फास्ट चार्ज सर्पाेट गर्छ। नयाँ पन्चलाई १५ मिनेट चार्ज गर्दा १ सय ३५ किलोमिटर रेन्ज पाउन सकिने कम्पनीको भनाइ छ।
पन्च ३० किलोवाट आवर ब्याट्री अप्सनमा दुई भेरियन्ट स्मार्ट र स्मार्ट प्लस उपलब्ध छ। त्यस्तै ४० किलोवाट आवर ब्याट्री अप्सनमा भने स्मार्ट प्लस, एड्भेन्चर, इम्पावर्ड र इम्पावर्ड प्लस एस गरी ४ भेरियन्टमा उपलब्ध छ।
नयाँ पन्च ईभीमा टाटाका ठूला ईभी मोडेलहरूबाट प्रेरित १६ इन्चका एरो अप्टिमाइज अलोय ह्वील दिइएके छ। पछाडिको भागमा आइस पन्च फेसलिफ्टको जस्तै जडान गरिएका एलईडी टेललाइट रहेको छ। पन्च ईभीमा १ सय ९५ एमएमको ग्राउन्ड क्लियरेन्स छ।
नयाँ पन्चमा वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी, ३६० डिग्री क्यामेरा दिइएको छ। सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट, हाइ बिम एसिस्टलगात विशेषता छन्।
भारतीय उपभोक्ताले आजैदेखि पन्च ईभी फेसलिफ्टको बुकिङ खुलाएको छ। टाटाले पन्चमा लाइफटाइम अनलिमिटेड किलोमिटर वारेन्टिलाई निरन्तरता दिएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाका विद्युतीय कार बिक्री गर्दै आएको छ। त्यसमा पन्च ईभी पनि नेपाली बजारमा लोकप्रिय छ।
हालसम्म सिप्रदीले करिब ११ सय वटा पन्च ईभी बिक्री गरिकेको छ। भारतमा सार्वजनिक भएको पन्भ ईभीको फेसलिफ्ट भर्सन छिट्टै नेपाली बजारमा आउने छ। राम्रो सर्भिस नेटवर्क र ब्रान्ड ट्रस्टका कारण टाटाका विद्युतीय कार नेपाली उपभोक्ता माझ लाकप्रिय रहेको छ।