काठमाडौं- प्रसिद्ध धार्मिक गन्तव्य मनकामना मन्दिरनजिकै करिब १ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको 'सोल्टी वेस्टेन्ड रिसोर्ट' को सफ्ट लन्च गरिएको छ। मन्दिरबाट झण्डै ५०० मिटर दूरीमा अवस्थित रिसोर्टले बुधबारदेखि औपचारिक उद्घाटनअघि नै सेवा सुरु गरेको हो।
नेपालकै प्रतिष्ठित पाँचतारे होटल 'द सोल्टी होटल काठमाडौं'ले आफ्नो ब्रान्ड विस्तारअन्तर्गत मनकामनामा पनि रिसोर्ट व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ। धार्मिक पर्यटनलाई स्तरीय आतिथ्य सेवासँग जोड्ने उद्देश्यका साथ निर्माण गरिएको रिसोर्टमा ५१ वटा सुविधायुक्त कोठा छन्, जसमा सुइट कोठासमेत समावेश छन्।
सफ्ट लन्च अवधिमा प्रतिकोठा १६ हजार रुपैयाँ 'ओपनिङ अफर' तोकिएको छ भने औपचारिक सञ्चालनपछि प्रतिकोठा २० हजार रुपैयाँ कायम गरिने व्यवस्थापनले जनाएको छ। रिसोर्टमा ब्याङ्क्वेट हल, बैठक कक्ष, स्पा, फिटनेस सेन्टर, खुला योग डेक, बालबालिकाका लागि स्विमिङ पुल तथा बालक्षेत्रलगायत सुविधा उपलब्ध छन्।
आवास सेवासँगै रिसोर्टले साहसिक पर्यटन प्रवर्द्धन गर्ने योजना पनि अघि सारेको छ। दोस्रो चरणमा जिपलाइन, एटीभी बाइक र अन्य साहसिक गतिविधि थपिने जनाइएको छ। साथै 'भिलेज गाइडेड टुर'मार्फत पाहुनालाई शहीद लखन गाउँपालिका-२ स्थित बेतिनी सामुदायिक होमस्टेसम्म पुर्याउने व्यवस्था गरिएको छ, जसले स्थानीय समुदायको आयआर्जनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
सोल्टी समूहले भैरहवा, पोखरा, वीरगञ्ज, चितवन, मनकामना, इटहरी र नगरकोटलगायत स्थानमा होटल तथा रिसोर्ट व्यवस्थापन गर्दै आएको छ। केही परियोजनामा व्यवस्थापनसँगै लगानीसमेत रहेको जनाइएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि ब्रान्ड विस्तार गर्दै समूहले जर्मनीसम्म आफ्नो उपस्थिति विस्तार गरिसकेको छ।