आइतबार, असोज ६ गते २०८१    
images
images

संरचनागत विकासमा फड्को मार्दै चन्द्रागिरि नगरपालिका

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २ २०७८
images
images
संरचनागत विकासमा फड्को मार्दै चन्द्रागिरि नगरपालिका

स्थानीय पाठ्यक्रमले नगरपालिकाको पहिचान, ऐतिहासिक वैभव, प्राकृतिक तथा सांस्कृतिक सम्पदा, पर्यटकीय सम्भावना, आर्थिक एवं पूर्वाधार विकासको अवस्था, स्थानीय सरकारलगायतका विषयमा जानकारी गराउन सहयोग।

images
images

काठमाडौं- स्थानीय सरकार सञ्चालनमा राजनीतिक दलका प्रतिनिधिबीचमा सहकार्य, सहमति र एकता भएमा स्थानीय विकासमा फड्को मार्न सकिँदोरहेछ भन्ने उदाहरण चन्द्रागिरि नगरपालिकाले प्रस्तुत गरिरहेको छ। ‘स्थानीय सरकार’ गठनपश्चात पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनलगायतका संरचनागत विकासका क्षेत्रमा नगरपालिकाले उल्लेख्य सफलता हासिल गरेको छ।

images
images
images

विशेषगरी नगरप्रमुख घनश्याम गिरीले नगरका १५ वटै वडाको समान विकासका लागि निर्वाह गरेको समन्वकारी भूमिका र नेतृत्वलाई नगरवासीले उच्च प्रशंसा गरेका छन्।

पूर्वाधार विकासका लागि योजना छनोट, बजेट विनियोजन तथा कार्यान्वनमा उनले प्रदर्शन गर्नुभएको निष्पक्षता र अग्रसरताले नगरवासीको मन जित्न सफल भएका छन्। नगरप्रमुख गिरीले भने, 'नगरवासीका आवश्यकताका आधारमा नीति तथा योजना बनाई यसलाई कार्यपालिकाबाट सहमतिमै अनुमोदन गराइ कार्यान्वयन गरिरहेका छौँ।' शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, खेलकुद, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा नगरपालिकाले महत्वपूर्ण योजना सम्पन्न गरेको र केही योजना सम्पन्न हुने चरणमा पुगेको जनाइएको छ। 

नगरपालिकाभित्रका २४ सामुदायिक विद्यालयमध्ये २२ विद्यालय भूकम्प प्रतिरोधि आधुनिक सुविधासम्पन्न भवन बनेका छन्। करिब तीन दशक अध्यापन पेशामा व्यतित गर्नुभएका नगरप्रमुख गिरीका अनुसार ती विद्यालयमा आवश्यकतानुसार सिसीटिभी, कम्प्युटर तथा सूचना प्रविधि प्रयोगशाला र पुस्तकालयसमेत छन्।

images

उनले भने, 'शिक्षक हुँदा आर्जन गरेका ज्ञान, सीप र दक्षतालाई नगरप्रमुख भइसकेपछि अधिकतम् उपयोग गरेँ। यसले समृद्ध गरिपालिका बनाउन सहयोग पुर्‍याइरहेको छ।  ‘हाम्रो चन्द्रागिरि’ स्थानीय पाठ्यक्रम ( आधारभूत तह कक्षा १-८) पठनपाठन सुरु भइसकेको छ। यसले नगरपालिकाको पहिचान, ऐतिहासिक वैभव, प्राकृतिक तथा सांस्कृतिक सम्पदा, पर्यटकीय सम्भावना, आर्थिक एवं पूर्वाधार विकासको अवस्था, स्थानीय सरकारलगायतका विषयमा जानकारी गराउन सहयोग पुर्‍याएको छ।'

नगरपालिकाले नगरवासीको स्वास्थ्यको स्तर माथि उठाउन उच्च प्राथमिकता दिँदै थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण गर्न लागेको छ। यसका लागि जर्मन विकास बैंक (केएफडब्लु)ले एक अर्ब रूपैयाँ बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्ने सम्झौतासमेत गरिसकेको छ। विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि-४ थानकोटमा १५ श्ययाका अस्पताल सञ्चालनमा आइसकेको छ। प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ। अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटुरोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सेवा प्रदान गरिराखेको जनाएको छ। कोरोना महामारीको सुरुआती दिनदेखि यसको असर हुन नदिन नगरपालिकाले विशेष कार्ययोजना बनाई काम गरेको थियो। 

उनले भने, 'कोभिड-१९ विरुद्धको खोप नगरवासीलाई सहज उपलब्ध भइरहेको छ। स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन भइसकेको छ। हरेक वडामा जनशक्ति, उपकरण तथा प्रयोगशालासहित स्वास्थ्यचौकी सञ्चालनमा छन्। यसका अतिरिक्त सामुदायिक अस्पताल निर्माणमा उच्च प्राथमिकता दिएका छौँ।'

उज्यालो चन्द्रागिरि

नगरपालिकाले ‘एक घर एक धारा’ नीतिअनुरुप काम गरिरहेको नगरप्रमुख गिरीले जानकारी दिए । यसका लागि खानेपानीका मुहान तथा ढुङ्गेधारा संरक्षण गर्दै थप बोरिङ निर्माण जारी रहेको बताइएको छ। उज्यालो चन्द्रागिरि अभियानअन्तर्गत अधिकांश सडकमा बत्ती जडान गरिएका छन्। विशेषगरी कलङ्की-नागढुङ्गा राजमार्गमा सिसीटिभी क्यामेरा तथा सडकबत्ती जडानले सुरक्षित यातायातलाई सहयोग पुर्‍याएको छ। समुदायमा उत्कृष्ट काम गरेवापत नेपाल प्रहरीले नगरपालिकालाई पहिलो पुरस्कारसमेत प्रदान गरेको थियो।

नगरप्रमुख गिरीले भने, 'सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाइएको छ। ज्येष्ठ नागरिक दिवासेवा सञ्चालन तथा उनीहरूलाई विभिन्न स्थानको भ्रमण गराइएको छ। पूर्वाधार अपाङ्गतामैत्री बनाइएको छ।'

नगरपालिकाले सडक पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको जनाएको छ। उसले कलङ्की-नागढुङ्गा-पिपलामोड राजमार्ग विस्तारमा समन्वय गरेको थियो। साथै वाडभञ्ज्याङ-मसिने, गुर्जुधारा-बलम्बु-सिर्जनाचोक, सिप्रदी-विष्णुदेवी, सतुगङ्ल-मातातीर्थ-बौथलीचोक, भकुण्डेचौर-ढाक्सी-मच्छेगाउँ-चुनदेवी, दूरसञ्चार-किसिपिडी-मातातीर्थलगायत तथा सबै वडाका भित्री बस्तीमा जाने शाखा सडक सम्पन्न भएका छन्। उनका अनुसार बाडभञ्ज्याङ-मसिने-सातघुम्ती सडक कालोपत्र, किट्नीभञ्ज्याङ-स्वीट्जरल्याण्ड उद्यान सडक स्तरोन्नति तथा प्रशासकीय भवनको हातामा उद्यान निर्माण जारी रहेको तथा नगरका अधिकांश पुराना बस्तीमा ढुङ्गा छाप्ने काम, पक्की, ढलान तथा ढलको व्यवस्था गरिएको जनाइएको छ।

'चन्द्रागिरि चक्रपथ योजना क्रमागतरूपमा अगाडि बढेको छ। यसले नगरको समृद्धिमा सहयोग पुग्नेछ। बल्खुखोला करिडोर निर्माण सुरुआत भएको छ', उनले भने, 'नगरका किसिपिडी र बलम्बुलाई सम्पदा बस्ती घोषणा गरी संरक्षणका काम सुरुवात भएको छ। मच्छेगाउँमा ‘पिस प्यागोडा’ निर्माण भइरहको छ।'

आफ्नै भवन

काठमाडौं जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाका रूपमा रहेको सो नगरपालिकाले गुर्जुधारामा आफ्नै नयाँ प्रशासकीय भवन बनाएको छ। उपत्यकाको मौलिक, सांस्कृतिक एवं कलात्मक आँखीझ्याल शैलीमा नवनिर्मित छ तलाको सोही भवनबाट नगरपालिकाले आफ्नो दैनिक कार्यसम्पादन तथा सेवा प्रवाह गरिरहेको छ।

नगरप्रमुख गिरीले आफ्नो चुनावी घोषणापत्रमा नगरपालिकासहित आफ्नै वडा कार्यालयका भवन नरहेका वडाको नयाँ प्रशासकीय भवन बनाउने प्रतिबद्धता जनाएका थिए। उनले भने, 'नगरपालिकाका सेवा अब प्रविधिमैत्री हुनेछन्। जिपीएस र जिआइएसमार्फत नगरपालिकाको प्रोफाइल तयार गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ। नगरपालिका स्मार्टसिटीमा रुपान्तरण हुँदैछ।'

नगरपालिकाले नगरवासीलाई स्वरोजगार बनाउन विभिन्न आयमूलक तालिम सञ्चालनलाई उच्च प्राथमिकतामा राख्दै क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिराखेको जनाएको छ। अर्काेतर्फ देशका उत्कृष्ट १०० पर्यटकीय गन्तव्यमा रहेको इन्द्रदह क्षेत्रको थप प्रवर्द्धन गर्न ‘हाइकिङ’ र ‘साइक्लिलिङ’ निर्माण सम्पन्न भएका छन्।

नगरप्रमुख गिरीका अनुसार विपद् व्यवस्थापनका लागि दमकल खरिद गरी सञ्चालनको अन्तिम तयारी गरिएको छ। हाल नगरपालिकाको आफ्नै एम्बुलेन्स र वडा नं २ र ३ ले पनि एम्बुलेन्स सञ्चालन गरिराखेका छन्। उनले भने, 'थानकोट, बलम्बुमा हाल साविको काम भइरहेको छ। बलम्बुका बस्तीमा लालपुर्जा वितरण जारी छ।'

नगरपालिकाले आन्तरिक सोतअन्तर्गत वार्षिकरूपमा ७० करोड रूपैयाँभन्दा बढी रकम सङ्कलन गरी विकास पूर्वाधारमा खर्च गर्ने गर्दछ। नगरप्रमुख गिरीले भने, 'मैले निर्वाचनका समयमा नगरवासीसमक्ष गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको छु। समृद्धिका यात्राका लागि आवश्यक पूर्वाधार तयार भएका छन्। राजनीतिक सहकार्य, सहमति र एकतामार्फत स्थानीय विकासमा फड्को मार्न सकिँदोरहेछ भन्ने उदाहरण नगरपालिकाले प्रस्तुत गर्न सफल भएको छ।' विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उनले १३ हजार ३०९ मत प्राप्त गरी नगरप्रमुखमा विजयी भएका थिए। 

काठमाडौं जिल्लाका दक्षिणी पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर बनाइएको चन्द्रागिरि नगरपालिकाको पछिल्लो जनसङ्ख्या १ लाख ३६ हजार ९ सय २८ छ। रासस


प्रकाशित : बुधबार, चैत २ २०७८०५:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend