शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको लागत ३० अर्ब रुपैयाँले बढ्ने प्रक्षेपण

सोमबार, फागुन ४ २०८२
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको लागत ३० अर्ब रुपैयाँले बढ्ने प्रक्षेपण

आयोजनाको लागत ३६ अर्ब ४८ करोड ३७ लाख ९२ हजार रुपैयाँबाट बढेर ६६ अर्ब १२ करोड २५ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। २०१३ सालमा नै ३६ अर्ब ४८ करोड रुपैयाँको लागत अनुमानसहित वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत भएको थियो।

काठमाडौं- माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको लागत बढ्ने भएको छ। २१६ मेगावाट क्षमताको आयोजनाको लागत  करिब ३० अर्ब रुपैयाँले बढ्ने प्रक्षेपण भएको छ।

आयोजनाको लागत ३६ अर्ब ४८ करोड ३७ लाख ९२ हजार रुपैयाँबाट बढेर ६६ अर्ब १२ करोड २५ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। २०१३ सालमा नै ३६ अर्ब ४८ करोड रुपैयाँको लागत अनुमानसहित वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत भएको थियो।

तर आयोजनाको काम अघि बढ्न सकेको छैन। १२ वर्षपछि आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ। पूरक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा आयोजनको लागत अस्वाभाविक रूपमा बढेर ६६ अर्ब रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको प्रस्तावक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि हो। 

आयोजनाले माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको डिजाइनमा गरिएका परिवर्तनदेखि बाँधसम्मको पहुँच सडक खारेजी, थप तीनवटा बेलीब्रिजहरूको निर्माण, आयोजनाका संरचनाहरूमा सामान्य परिमार्जन तथा लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र आयोजनाका गतिविधिहरूको स्थान निर्धारणका कारण पूरक वातावरणीय प्रभाव मूल्यांकन गरिएको स्पष्ट पारेको छ।

आयोजना नदीको बहावमा आधारित छ। प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज ७६ घनमिटर प्रतिसेकेन्ड छ। यस आयोजनाबाट कुल २१६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ। आयोजनाको हेडवर्क्स त्रिशूली नदी र भोटेकोशी नदीको दोभानभन्दा २७५ मिटर तल्लो तटमा छ भने विद्युतगृह मैलुङ खोला र त्रिशूली नदीको दोभानभन्दा ५०० मिटर माथिल्लो तटमा अवस्थित छ। 

यस जलविद्युत आयोजनाको ग्रस हेड ३४२.६ मिटर छ। आयोजनाबाट उत्पादित ऊर्जा आयोजनाको स्विचयार्डबाट चिलिमे-त्रिशूली-३ बी हब स्टेसनमा २२० केभी एकल प्रसारण लाइनमार्फत जोडिने छ। 

आयोजनाका मुख्य संरचनाहरू डाइर्भजन सुरुङ, इन्टेक, डिसेन्डर, हेडरेस सुरुङ, सर्ज साफ्ट, पेनस्टोक, विद्युतगृह, टेलरेस, स्विचर्याड छन्। आयोजनाका सम्पूर्ण मुख्य संरचनाहरू त्रिशूली नदीको दाँयातर्फ छन् भने शिविर र हेडवर्क्समा रहेका अस्थायी संरचनाहरू लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ ।

प्रस्तावित आयोजनाको हेडवर्क्स क्षेत्रसम्म पुग्न गल्छी-बेत्रावती-मैलुङ-स्याफ्रुबेसी-केरुङ राष्ट्रिय राजमार्गअन्तर्गत बेत्रावतीबाट २३ किलोमिटर सडक छ भने विद्युतगृह क्षेत्रसम्म बेत्रावतीदेखि १३ किलोमिटर कच्ची सडक छ।


प्रकाशित : सोमबार, फागुन ४ २०८२१३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend