शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भारतीय दुईपांग्रे ईभी बजार : परम्परागत कम्पनीहरू लयमा आउँदा स्टार्टपहरू संकटतर्फ

दुईपांग्रे ईभीमा टीभीएस, बजाज र हिरोको हिस्सा ६० प्रतिशत

आइतबार, फागुन ३ २०८२
भारतीय दुईपांग्रे ईभी बजार : परम्परागत कम्पनीहरू लयमा आउँदा स्टार्टपहरू संकटतर्फ

पछिल्लो तथ्यांक अनुसार यी तीन ठूला कम्पनीहरूको बजार हिस्सा एक वर्षअघिको ३४ प्रतिशतबाट बढेर अहिले २०२६ जनवरीमा आइपुग्दा ६० प्रतिशत पुगेको छ।

काठमाडौं- भारतको दुईपांग्रे विद्युतीय सवारी बजारमा ठूलो परिवर्तन देखिएको छ। पहिले स्टार्टअप कम्पनीहरूको वर्चस्व रहेको दुईपांग्रे ईभीमा अब परम्परागत कम्पनीहरु नै लयमा फर्किएका छन्। परम्परागत कम्पनीहरु बजाज, टीभीएस, हिरो, यामाहा, होन्डालगायत कम्पनीले दुईपांग्रे ईभीमा लगानी बढाएन नयाँ उत्पादन बजारमा ल्याएसँगै स्टार्टपहरु संकटमा पर्ने देखिएको छ। 

जवनरी २०२६ मा बिक्री भएको दुईपांग्रे ईभीको तथ्यांकले स्टार्टप कम्पनीहरुलाई झड्का दिएको हो। उक्त तथ्यांक अनुसार टीभीएस मोटर, बजाज अटो र हिरो मोटोकर्पजस्ता 'लिगेसी' कम्पनीहरूले बजारको ६० प्रतिशत हिस्सा ओगटेका छन्। यसअघिका महिनाहरुमा भारतीय दुईपांग्रे ईभी बजारमा स्टार्टप कम्पनीहरुको बिक्री हिस्सा धेरै  रहेको थियो। 

पछिल्लो तथ्यांक अनुसार यी तीन ठूला कम्पनीहरूको बजार हिस्सा एक वर्षअघिको ३४ प्रतिशतबाट बढेर अहिले २०२६ जनवरीमा आइपुग्दा ६० प्रतिशत पुगेको छ। यसले के संकेत गर्छ भने उपभोक्ताहरू अब नयाँ स्टार्टअपहरूभन्दा पुराना र स्थापित ब्रान्डहरूले उत्पादन गरेका विद्युतीय स्कुटर तथा मोटरसाइकलतर्फ आकर्षित भइरहेका छन्।

अटोमोटिभ रिसर्च फर्म जाटो डाइनामिक्सका अनुसार इलेक्ट्रिक स्कुटर अब केवल 'रहर' वा 'नयाँ प्रविधि' मात्र नभइ दैनिक जीवनको आवश्यकता बनेको छ। यस्तोमा भारीय उपभोक्ताहरूले स्थापित ब्रान्डहरूको अनुभव र व्यापक डिलर नेटवर्कलाई बढी विश्वास गरेको देखिएको जाटोले उल्लेख गरेको द इकोनामिक टाइम्सले लेखेको छ। यसले गर्दा आगामी दिनमा साना स्टार्टअपहरूलाई प्रतिस्पर्धा टिकाइराख्न निकै कठिन हुने देखिएको छ।

अझै भारतीय बजारमा स्थापित ब्रान्डहरु यामाहा होन्डालगात ब्रान्डले विद्युीय स्कुटर तथा मोटरसाइकल बजारमा ल्याइसकेका छैनन्। उत्पादन तयारी मोडलहरु परीक्षणमा देखिएका छन्। यस्ता मोडलहरु बजारमा आएपछि स्टार्टपहरुलाई थप दबाब पर्ने छ। यो अवस्थामा एकाध स्टार्टप विद्युतीय सवारी उत्पादकले मात्र भारतीय बजारमा आफूलाई टिकाइराख्न सक्छ। 

उपभोक्ताको विश्वास र सेवा सञ्जाल

अटोमोबाइल क्षेत्रका विज्ञहरूका अनुसार यो परिवर्तनको मुख्य कारण स्थापित कम्पनीहरूसँग भएको व्यापक डिलर सञ्जाल र बिक्रीपछिको भरपर्दो सेवा हो। सुरुवाती दिनहरूमा ओला इलेक्ट्रिक र एथर इनर्जीजस्ता स्टार्टअपहरूले बजारमा प्रभुत्व जमाएका थिए। तर अहिले उनीहरूले कडा प्रतिस्पर्धाको सामना गरिरहेका छन्। स्टार्टपहरुले मूल्यमा मात्र नभइ आरएन्डडी डिलर नेटवर्कलगायत धेरै कुरामा लिगेसी दुईपांग्रेसँग प्रतिस्पर्धा गर्न कठिन हुनेछ। 

विशेष गरी टिभिएसको आईक्युब र बजाजको चेतक मोडलहरूले बजारमा राम्रो प्रदर्शन गरिरहेका छन्। रिपोर्टका अनुसार टीभीएसले आफ्नो उत्पादन क्षमता र वितरण प्रणालीमा गरेको लगानीले गर्दा यसको बिक्रीमा उल्लेख्य वृद्धि भएको हो।

बजारको नयाँ समीकरण

विगतमा साना स्टार्टअपहरूले नयाँ प्रविधि र आकर्षक डिजाइनका कारण बजार तानेका थिए। तर मूल्यमा आएको उतारचढाव र सरकारी अनुदान फेम२ मा भएको कटौतीपछि ग्राहकहरूले 'सुरक्षित र टिकाउ' विकल्प खोज्न थालेका छन्।

यस दौडमा हिरो मोटोकर्पले पनि आफ्नो 'भिडा' ब्रान्डमार्फत आक्रामक रूपमा बजार विस्तार गरिरहेको छ। विश्लेषकहरूका अनुसार आगामी दिनमा सफ्टवेयर र प्रविधिमा मात्र केन्द्रित हुने कम्पनीहरूभन्दा बलियो उत्पादन र सेवा दिने कम्पनीहरूले नै बजारमा नेतृत्व गर्नेछन्।

हाल ओला इलेक्ट्रिक अझै पनि एकल कम्पनीका रूपमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कम्पनी त बनेको छ। तर समग्रमा 'लिगेसी' कम्पनीहरूको संयुक्त शक्तिले स्टार्टअपहरूको पकडलाई निकै कमजोर बनाइदिएको छ। भारतमा दर्जनौँ विद्युतीय दुईपा‌ग्रे स्टार्टप कम्पनीहरु रहेका छन्। 


प्रकाशित : आइतबार, फागुन ३ २०८२१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend