काठमाडौं- कर्णाली प्रदेशका जाजरकोट र रुकुम (पश्चिम) जिल्लामा २७० मेगावाट क्षमताको भेरी-१ जलविद्युत आयोजना निर्माण हुने भएको छ।
गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले निर्माण गर्न लागेको सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत भएको छ। जाजरकोट र रुकुम पश्चिममा निर्माण हुने आयजनाको रिपोर्ट २०८२ पुस २५ गते स्वीकृत भएको हो।
भेरी नदीमा अर्धजलाशययुक्त प्रविधिमा निर्माण हुने उक्त आयोजना पिकिङ सञ्चालन प्रणालीमा आधारित हुनेछ। अर्थात् दिनको विद्युत माग उच्च हुने समयमा बढी उत्पादन गर्ने ढाँचामा आयोजना सञ्चालन गरिनेछ। प्रतिवेदनअनुसार आयोजनाको लागत करिब ७१ अर्ब ९७ करोड रुपैयाँ अनुमान गरिएको छ।
आयोजना जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ४, ५ र ६ मा पर्नेछ। प्रतिवेदनमा उल्लेख भएअनुसार आयोजना क्षेत्रका यी वडाहरू प्रत्यक्ष प्रभावित हुनेछन्।
आयोजनामा समुद्री सतहबाट १ हजार ३ सय ९३ मिटर उचाइमा बाँध निर्माण गरिनेछ भने विद्युतगृहको आधार सतह १ हजार ७७ मिटर उचाइमा रहनेछ। पिकिङ जलाशयसहित स्पिलवे, इनटेक, टनेल, सेटलिङ बेसिन, सर्ज ट्यांक र पेनस्टकजस्ता संरचनाहरू निर्माण गरिने छन्।
विद्युतगृहमा उत्पादन हुने ऊर्जा राष्ट्रिय प्रसारण प्रणालीमार्फत वितरण गर्ने लक्ष्य लिइएको छ। आयोजनाबाट उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न वातावरणीय व्यवस्थापन योजना कार्यान्वयन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ।