काठमाडौं- २०१९ यता विश्व बजारमा विद्युतीय कारको बिक्रीमा उछाल आएको छ। त्यतिबेला सीमित देशमा मात्र विद्युतीय कारको बिक्री भइरहेको थियो त्यसमा पनि वृद्धि दर न्यून थियो। तर २०२५ को अन्त्य हुँदा नयाँ कार बिक्रीमा विश्वभर विद्युतीय कारको हिस्सा मार्केवल रहेको छ।
युरोपेली देशहरु नर्वे, डेनमार्क, स्वीडेनलगायत देशमा नयाँ कार बिक्रीमा ईभीको हिस्सा अत्याधिक रहेको छ। त्यसमा एसियाली देश नेपालको गणनायोग देखिएको छ। २०२५ मा नेपालमा बिक्री भएका कुल नयाँ कारमा विद्युतीय कारको हिस्सा ७३ प्रतिशत रहेको तथ्यांक छ।
ठूला कार उत्पादकले विद्युतीय कार उत्पादन बढाउँदै लगेको, विश्वभर विद्युतीय सवारीको स्वीकार्यता उल्लेख्य रुपमा बढ्दै गएको, चार्जिङ पूर्वाधारको विस्तार हुँदै गएको, उपभोक्तामा रेन्ज एन्जाइटी र रिसेल भ्यालुको बुझाइमा बदलाव आउँदै गएको लगायत कारणले विश्व बजारमा विद्युतीय सवारीको बिक्री बढ्दै गइरहेको छ।
विद्युतीय कार बिक्री बढ्नुमा अर्को महत्वपूर्ण कारण भनेको आईसी इन्जिन कार र विद्युतीय कारको मूल्य करिब समान हुँदै गएकाले उपभोक्तामा कन्फिडेन्स बढेको हो। समयक्रमसँगै प्रविधिमा भएको विकासले पनि विद्युतीय कार उत्पादकहरुमा हौसला छ भने उपभोक्तामा चासो।
त्यसैले २०१९ मा अधिकांश देशमा एकोहोरो अंकमा रहेको विद्युतीय कार बिक्रीको हिस्सामा अहिले व्यापक बदलाब आएको छ। २०२५ नर्वेमा बिक्री भएका नयाँ कारमा विद्युतीयको हिस्सा ९७ प्रतिशत पुगेको छ भने दोस्रो स्थानमा रहेको नेपालमा ७३ प्रतिशत हिस्सा विद्युतीय कारको रहेको छ।
अन्य सयौँ देशमा २०२५ बिक्री भएका कुल नयाँ कारमा विद्युतीय कारको हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ। क्यापिटालिस्टले इन्टरनेसनल इनर्जी एजेन्सी(आईईए) र एम्बरले सार्वजनिक गरेको तथ्यांकका अधारमा उक्त सूची तयार पारेको हो।
विद्युतीय कार(ईभी)मा ब्याट्रीमा आधारित विद्युतय कार(बीईभी) र प्लग इन हाइब्रिड विद्युतीय कार(पीएचईभी) दुवैलाई समावेश गरिएको छ। पछिल्ला केही वर्षयता विश्वभरका अधिकांश सरकारहरुले विद्युतीय कार बिक्री प्रवर्द्धन गर्न विभिन्न सहुलियत दिएका थिए। यस्तो सहुलियत अब क्रमशः कम हुँदै गएको छ।
यस्तो छ देशअनुसार २०१९ र २०२५ मा बिक्री भएका नयाँ कारमा विद्युतीय कारको हिस्सा :
१. नर्वे- २०१९ मा ५६ र २०२५ मा ९७ प्रतिशत
२. नेपाल- २०१९ मा ८ र २०२५ मा ७३ प्रतिशत
३. डेनमार्क- २०१९ मा ४ र २०२५ मा ६९ प्रतिशत
४. स्वीडेन- २०१९ मा ११ र २०२५ मा ६१ प्रतिशत
५. आइसल्यान्ड- २०१९ मा २६ र २०२५ मा ५७ प्रतिशत
६. फिनल्यान्ड- २०१९ मा ७ र २०२५ मा ५६ प्रतिशत
७. नेदरल्यान्ड- २०१९ मा १५ र २०२५ मा ५६ प्रतिशत
८. चीन- २०१९ मा ५ र २०२५ मा ५३ प्रतिशत
९. बेल्जियम- २०१९ मा ३ र २०२५ मा ४३ प्रतिशत
१०. पोर्चुगल- २०१९ मा ६ र २०२५ मा ३७ प्रतिशत
११. आयरल्यान्ड- २०१९ मा ४ र २०२५ मा ३४ प्रतिशत
१२. लक्जम्बर्ग- २०१९ मा ४ र २०२५ मा ३४ प्रतिशत
१३. स्वीजरल्यान्ड- २०१९ मा ६ र २०२५ मा ३३ प्रतिशत
१४. बेलायत- २०१९ मा ३ र २०२५ मा ३३ प्रतिशत
१५. अस्ट्रिया- २०१९ मा ४ र २०२५ मा ३१ प्रतिशत
अन्य मुख्य देशहरु :
जर्मनी- २०१९ मा ३ र २०२५ मा २९ प्रतिशत
फ्रान्स- २०१९ मा ३ र २०२५ मा २५ प्रतिशत
थाइल्यान्ड- २०१९ मा १ र २०२५ मा २१ प्रतिशत
दक्षिण कोरिया- २०१९ मा २ र २०२५ मा १४ प्रतिशत
अमेरिका- २०१९ मा २ र २०२५ मा १० प्रतिशत
ब्राजिल- २०१९ मा ० र २०२५ मा ९ प्रतिशत
क्यानडा- २०१९ मा ३ र २०२५ मा ९ प्रतिशत
भारत- २०१९ मा ० र २०२५ मा ४ प्रतिशत
जापान- २०१९ मा १ र २०२५ मा ३ प्रतिशत