काठमाडौं- भारतीय बजारमा विद्युतीय सवारीसाधनको बिक्रीमा आएको सुस्ततालाई चिर्न कार निर्माताहरूले अहिलेसम्मकै सबैभन्दा आक्रामक रणनीति अपनाउन थालेका छन्। सबैजसो उत्पादकले विद्युतीय कार उत्पादन थालेको र उपभोक्तामा कन्फिडेन्स बढाउन कम्पनीहरुले आकर्षक योजना ल्यान थालेका छन्।
भारतीय अटोमोबाइल क्षेत्रका मुख्य कम्पनीहरूले ग्राहकलाई शोरूमसम्म ल्याउन र ईभी रोज्न बाध्य पार्नका लागि मूल्यमा भारी कटौती, नयाँ व्यापारिक मोडल र आकर्षक वित्तीय योजनाहरू सार्वजनिक गरेका छन्।
भारतीय बजारमा टाटा मोटर्स, महिन्द्रा, हुन्डाई, एमजीले विद्युतीय कार बिक्री गरिरहेका छन्। त्यस्तै मारुती सुजुकी, किया, भिनफास्ट, टोयोटा, स्कोडालगायत कम्पनीले पनि विद्युतीय कार बिक्रीमा ल्याइसकेको र ल्याउने तयारीमा छन्। यसका लागि ती कम्पनीहरुले चार्जिङ पूर्वाधार तथा ईभी इकोसिस्टम निर्माणमा ठूलो लगानी गरिरहेका छन्।
हाल भारतीय बजारमा सबैभन्दा धेरै विद्युतीय कार टाटा मोटर्सले बिक्री गरिरहेको छ। त्यस्तै महिन्द्रा र एमजीले पनि विद्युतीय कार बिक्री बढाइरहेका छन्। अन्य कम्पनीहरु नयाँ मोडल सार्वजनिक गर्ने क्रममा रहेका छन्। सोही कारण सबैजसो विद्युतीय कार उत्पादकहरुले उपभोक्ता आकर्षित गर्ने योजना ल्याएको र ल्याउन थालेका छन्।
भारतीय बजारमा विद्युतीय कार उत्पादकहरुले ल्याएका योजनाहरुलाई यहाँ बुँदागत रुपमा उल्लेख गरिएको छ।
मूल्यमा ऐतिहासिक कटौती र ‘प्राइस प्यारिटी’
ईभी बजारको नेतृत्व गरिरहेको टाटा मोटर्सले आफ्ना लोकप्रिय मोडलहरू नेक्सन ईभी, टियागो ईभी र टिगोर ईभीको मूल्यमा ३ लाख रुपैयाँसम्मको कटौती गरेको छ। यो कदमको मुख्य उद्देश्य विद्युतीय गाडीको मूल्यलाई पेट्रोल वा डिजेल गाडीको मूल्यकै हाराहारीमा ल्याउनु हो।
यसअघि ईभीको मूल्य पेट्रोल गाडीको तुलनामा २५ देखि ३० प्रतिशत महँगो हुने गथ्र्याे। जसले गर्दा धेरै ग्राहकहरू ईभी किन्नबाट पछि हट्ने गर्थे। अब आईसी इन्जिन कार र ईभीको मूल्य अन्तर निक्कै कम भएको छ। अर्थात ईभी र आईसीई कारको मूल्य समान (प्राइस प्यारिटी) हुने अवस्था आउन लागेको छ। यसले उपभोक्तालाई ईभी तिर आकर्षित गर्नेछ। अन्य कम्पनीहरुले पनि प्राइस प्यारिटीलाई गम्भीरताका साथ लिएका छन्।
ब्याट्री-याज-अ-सर्भिस (बास)को उदय
एमजी मोटर इन्डियाले ईभी बजारमा एउटा आकर्षक कदम चालेको छ। कम्पनीले आफ्नो नयाँ विन्डसर ईभी र पुराना मोडलहरूमा समेत ब्याट्री याज अ सर्भिस (बास) मोडल लागु गरेको छ। यसको परिणाम स्वरुप भारतीय बजारमा एमजीका विद्युतीय कारको बिक्री उल्लेख बढेको तथ्यांक छ।
बास अन्तर्गत ग्राहकले गाडी किन्दा महँगो ब्याट्रीको पैसा तिर्नु पर्दैन। ब्याट्रीको स्वामित्व कम्पनीसँगै रहन्छ र ग्राहकले यसलाई प्रति किलोमिटर ३.५० देखि ५ भारतीय रुपैयाँसम्मको भाडामा चलाउन पाइन्छ। यसले ईभीको सुरुवाती मूल्यलाई सस्तो इन्ट्री-लेभल कारकै स्तरमा झारेको छ। यस्तै मोडल अन्य विद्युतीय कार उत्पादकले पनि अपनाउन सक्छन्। जसले उपभोक्तालाई ईभीतर्फ आकर्षित हुन प्ररित गर्छ।
बैंकहरूसँगको विशेष साझेदारी र न्यून ब्याजदर
विद्युतीय सवारी खरिद गर्न चाहनेहरूका लागि वित्तीय संस्था र बैंकहरूले विशेष ग्रिन कार लोन अघि सारेका छन्। सामान्यतया पेट्रोल गाडीमा लाग्ने ब्याजदर भन्दा ईभीमा १ देखि १.५ प्रतिशतसम्म कम ब्याजदर प्रस्ताव गरिएको छ। केही कम्पनीहरूले त ५ देखि ७ वर्षसम्मको सस्तो मासिक किस्ता योजना पनि ल्याएका छन् जसले ग्राहकलाई तत्काल ईभी किन्दा ठूलो भार नपरोस्। सबै सवारी उत्पादकले ईभीमा लगानी गरेकाले यस्तो योजनामा वित्तीय संस्थाहरुलाई सामूहिक दबाब सृजना गराउँछ।
पूर्वाधार र रेन्जको चिन्तालाई सम्बोधन
भारतीय ईभी प्रयोगकर्ताहरुमा अझै पनि रेन्ज एन्जाइटी कायम छ। यसलाई सम्बोधन गर्न टाटा, महिन्द्रा र हुन्डाई जस्ता कम्पनीहरूले देशभर चार्जिङ नेटवर्क विस्तार गर्न ठूलो लगानी गरिरहेका छन्। त्यस्तै पहिलो ईभी बिक्रीमा ल्याउने तयारी गरेको मारुती सुजुकीले पनि चार्जिङ पूर्वाधारमा लगानी थालिसकेको छ।
धेरैजसो ईभी निर्माताहरूले अहिले घरमै फास्ट चार्जर निःशुल्क जडान गरिदिने र सार्वजनिक चार्जरहरूमा निश्चित युनिटसम्म निःशुल्क चार्जिङको सुविधासमेत दिन थालेका छन्। यसले पनि उपभोक्तामा ईभीको स्वीकार्यता बढाउँदै लगेको छ।
भारतीय विद्युतीय सवारी बजार अहिले ‘अर्ली एडप्टर्स’बाट ‘मास मार्केट’तर्फ प्रवेश गर्दै गरेको विज्ञहरुको भनाइ छ। भारतीय मास मार्केट बायरहरु निकै मूल्य संवेदनशील मानिन्छन्। त्यसैले अहिले देखिएको यो प्राइस वार वा मूल्य घटाउने होडबाजीले दीर्घकालमा ईभीलाई मूलधारमा ल्याउन मद्दत गर्ने धेरैको बुझाइ छ।
ब्याट्रीको घट्दो मूल्य र सरकारको प्रोत्साहनका बीच कार निर्माताहरू अब नाफा भन्दा बढी बजार हिस्सा जोगाउन केन्द्रित देखिएका छन्। अहिले भारतमा विद्युतीय कार किन्नेहरुका लागि सबैभन्दा उपयुक्त अवसरको रुपमा रहेको छ।