शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

एनसेल फाउन्डेसनले सुरु गर्‍यो 'सेफर इन्टरनेट टुगेदर' कार्यक्रम

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १ २०८२
एनसेल फाउन्डेसनले सुरु गर्‍यो 'सेफर इन्टरनेट टुगेदर' कार्यक्रम

अभियानले देशभरका विद्यालयहरूमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षहरूबारे विद्यार्थीहरूलाई ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ जसबाट ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदाय सदस्यहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

काठमाडौं- सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा एनसेल फाउन्डेसन र नासा सेक्युरिटिजले देशव्यापी रूपमा 'सेफर इन्टरनेट टुगेदर (एसआईटी)' कार्यक्रम आरम्भ गरेको घोषणा गरेका छन्।

मंगलबार घोषणा गरिएको यो सामाजिक अभियानले देशभरका विद्यालयहरूमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षहरूबारे विद्यार्थीहरूलाई ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ जसबाट ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदाय सदस्यहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

हाल नमुना परियोजनाका रूपमा अघि सारिएको यो कार्यक्रमअन्तर्गत बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूमा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्ष्य गरी साइबर सचेतना सत्रहरू सञ्चालन गरिने छ। कार्यक्रमअन्तर्गत इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तक पनि तयार पारिएको छ। ती पुस्तक कार्यक्रम सत्रपश्चात् सम्बन्धित विद्यालयका सहभागी छात्र, छात्राहरूलाई वितरण गरिने छ। पहिलो चरणमा तीन प्रदेशमा सफल कार्यान्वयनपश्चात् यो अभियान आगामी आर्थिक वर्षमा अन्य प्रदेशमा पनि सञ्चालन गर्ने योजना छ। 

यो वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा 'स्मार्ट टेक, सेफ चोइसेस : एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सीबल युज अफ एआई' तय गरिएको छ। नेपालमा एनसेल र नासा सेक्युरिटिजले संयुक्त रूपमा सुरु गरेको कार्यक्रमको औपचारिक घोषणा पोखरास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मंगलबार आयोजित एसआईटी सत्रका क्रममा गरिएको थियो।

कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले सम्बोधन गर्दै डिजिटल सुरक्षा तथा आजको डिजिटल युगमा कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोगबारे आफ्ना बुझाइहरू विद्यार्थीहरूसमझ साझा गरेका थिए। एसआईटी कार्यक्रम नेपालमा सुरक्षित अनि समावेशी डिजिटल इकोसिस्टम प्रवर्द्धन गर्ने एनसेल फाउन्डेसनको प्रतिबद्धतासँग जोडिएको छ।

यो सहकार्यले दुवै संस्थालाई जिम्मेवार डिजिटल प्रवर्द्धकका रूपमा स्थापित गर्दै र उदीयमान जोखिमहरूलाई सक्रिय रूपमा सम्बोधन गर्दै डिजिटल साक्षरता, दृढता तथा व्यापक डिजिटल इकोसिस्टममा विश्वास निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

हालसम्म एसआईटी सत्रहरू ९ वटा विद्यालयमा सञ्चालन गरिसकिएको छ जसमा कास्कीमा रहेका राष्ट्रिय माध्यमिक विद्यालय, अमरसिंह माध्यमिक विद्यालय, लिटल स्टेप सेकेन्डरी स्कुल, भास्कर मेमोरियल स्कुल, सेन्ट-मेरिज स्कुल र रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कुल छन्। साथै ललितपुरमा सेन्ट-मेरिज स्कुल, बानी विलास हाई स्कुल, र भक्तपुरमा आदर्श हाई स्कुलमा एसआईटी सत्रहरू सञ्चालन भइसकेका छन्। कार्यक्रम कार्यन्वयन साझेदारका रूपमा एस्टेरिस्क टेक्नोलोजीले सहकार्य गरेको छ। यी सत्रहरूबाट ७ हजारभन्दा बढी विद्यार्थीहरू लाभान्वित भइसकेका छन्।


प्रकाशित : शुक्रबार, फागुन १ २०८२१३:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend