शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

चीनद्वारा सवारीमा 'प्राइस वार' रोक्न नयाँ निर्देशिका जारी : उत्पादन लागतभन्दा सस्तोमा गाडी बेच्न नपाइने

बिहीबार , माघ २९ २०८२
चीनद्वारा सवारीमा 'प्राइस वार' रोक्न नयाँ निर्देशिका जारी : उत्पादन लागतभन्दा सस्तोमा गाडी बेच्न नपाइने

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय, बजार नियामक निकाय र राष्ट्रिय विकास तथा सुधार आयोगले संयुक्त रूपमा अटोमोबाइल उद्योगका लागि नयाँ 'प्राइस कम्प्लायन्स' निर्देशिका जारी गरेका हुन्।

काठमाडौं- चीन सरकारले अटोमोबाइल बजारमा जारी प्राइस वार रोक्न नयाँ निर्देशिका जारी गरेको छ। चीनको अटोमोबाइल बजारमा लामो समयदेखि चल्दै आएको चरम प्रतिस्पर्धा र मूल्य कटौतीको होडबाजीलाई नियन्त्रण गर्न चिनियाँ सरकारले नयाँ निर्देशिका जारी गरेको हो। 

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय, बजार नियामक निकाय र राष्ट्रिय विकास तथा सुधार आयोगले संयुक्त रूपमा अटोमोबाइल उद्योगका लागि नयाँ 'प्राइस कम्प्लायन्स' निर्देशिका जारी गरेका हुन्। यसले सवारी उत्पादक कम्पनीहरुलाई उत्पादन लागतभन्दा कम मूल्यमा सवारी बिक्री गर्नबाट रोक लगाउँछ। 

नयाँ नियमअनुसार अब कुनै पनि सवारी उत्पादक कम्पनीले आफ्नो उत्पादन लागतभन्दा कम मूल्यमा गाडी बेच्न पाउने छैनन्। पछिल्लो समय बजार हिस्सा ओगट्ने वा बढाउने नाममा कम्पनीहरूले घाटा सहेरै पनि गाडीको मूल्य घटाउने गरेका थिए। यो कुरालाई चीन सरकारले अनुचित प्रतिस्पर्धाको रूपमा व्याख्या गरेको छ।

यस निर्देशिका कार्यान्वयनका लागि चिनियाँ नियामकहरूले एसएआईसि मोटर, जीएसी ग्रुप, चांगन र शाओमीलगायत १७ ठूला सवारी उत्पादक कम्पनीका प्रमुखहरूसँग विशेष बैठक गरेका छन्। बैठकमा सरकारले अव्यवस्थित प्रतिस्पर्धाले उद्योगको दीर्घकालीन विकास र गुणस्तरमा नकारात्मक असर पारेको भन्दै नियम उल्लंघन गर्ने कम्पनीलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

अत्यधिक उत्पादन क्षमता पनि चियामक निकायको चासोमा परेको छ। चीनमा धेरै कम्पनीहरूले ईभी उत्पादन गरिरहेका छन्। जसका कारण बजारमा मागभन्दा आपूर्ति बढी भएको छ। यसले कम्पनीहरुरलाई स्टक घटाउन लागतभन्दा कममा कार बिक्री गर्नुपर्ने बाध्यतामा पुर्‍याएको छ। 

लगातारको मूल्य कटौतीले कम्पनीहरूको मुनाफा शून्य वा घाटामा पुर्‍याएको छ। जसले गर्दा नयाँ प्रविधि र गुणस्तरमा हुने लगानी घटेको छ। गाडीको मूल्य निरन्तर घट्दा समग्र अर्थतन्त्रमा मूल्य गिरावटको जोखिम बढेको विश्लेषण चीन सरकारको छ।

कम्पनीहरूले प्रत्यक्ष मूल्य नघटाए पनि आकर्षक वित्तीय योजना, शून्य प्रतिशत ब्याज वा बढी फिचर्स नि:शुल्क दिएर मूल्य घटाउने 'क्रिएटिभ' उपायहरू अपनाउँदै आएका छन्। नयाँ निर्देशिकाले यस्ता अप्रत्यक्ष छुटहरूलाई पनि अनुगमनको दायरामा ल्याउने बताएको छ।

सरकारको यो कदमको मुख्य उद्देश्य कम्पनीहरूलाई प्राइस वारबाट बाहिर निकालेर गुणस्तर र प्रविधिको वारतर्फ प्रेरित गर्नु रहेकाे छ। चिनियाँ अधिकारीहरूका अनुसार अब अटोमोबाइल उद्योगले कम मूल्यको सट्टा उच्च गुणस्तर, नवीन प्रविधि (जस्तै सोलिड स्टेट ब्याट्री र सेल्फ ड्राइभिङ) र राम्रो आफ्टर सेल्स सर्भिसमा प्रतिस्पर्धा गरुन भन्ने रहेको छ। 

चीनले आफ्नो अटोमोबाइल बजारलाई शक्तिशालीको मात्र अस्तित्वको अवस्थाबाट जोगाएर एक स्वस्थ प्रतिस्पर्धात्मक वातावरण बनाउन खोजेको छ। यसले विश्व बजारमा पनि चिनियाँ गाडीको मूल्य स्थिरतामा प्रभाव पार्न सक्ने सरकारी अनुमान छ। 


प्रकाशित : बिहीबार , माघ २९ २०८२१२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend