शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

गोयन्का स्टिल्सको आम्दानी घटबढसँगै ऋणको चाप बढ्दै, वित्तीय सूचकमा गिरावट

बिहीबार , माघ २९ २०८२
गोयन्का स्टिल्सको आम्दानी घटबढसँगै ऋणको चाप बढ्दै, वित्तीय सूचकमा गिरावट

गोयन्का स्टिल्स प्रालिको पछिल्ला पाँच आर्थिक वर्षको वित्तीय विवरणअनुसार कम्पनीको आम्दानीमा उतारचढावसँगै नाफा, पुँजी संरचना र ऋण सेवा क्षमतामा गम्भीर दबाब परेको देखिएको छ।

काठमाडौं- गोयन्का स्टिल्स प्रालिको पछिल्ला पाँच आर्थिक वर्षको वित्तीय विवरणअनुसार कम्पनीको आम्दानीमा उतारचढावसँगै नाफा, पुँजी संरचना र ऋण सेवा क्षमतामा गम्भीर दबाब परेको देखिएको छ।

आम्दानीमा आंशिक सुधार देखिए पनि समग्र वित्तीय स्वास्थ्य भने कमजोर बन्दै गएको छ। इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो रेटिङ विवरणअनुसार गोयन्का स्टिल्स प्रालिको आम्दानीमा उतारचढाव देखिएको हो। 

कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६६ करोड २० लाख रुपैयाँ रहेकोमा २०७८/७९ मा बढेर ३ अर्ब ४३ करोड ४० लाख रुपैयाँ पुगेको थियो। तर त्यसपछि निर्माण क्षेत्रको सुस्तता र बजार संकुचनका कारण आम्दानी तीव्र रूपमा घट्दै २०७९/८० मा २ अर्ब २६ करोड ४० लाख रुपैयाँमा सीमित भयो।

२०८०/८१ मा झन् घटेर ७९ करोड ७० लाख रुपैयाँमा झरेको कम्पनीको आम्दानी २०८१/८२ मा १ अर्ब १७ करोड २० लाख रुपैयाँमा उक्लिएर केही सुधार भएको देखिन्छ। आम्दानीमा देखिएको यो सुधार नाफामा परिणत हुन सकेको छैन।

२०७७/७८ मा ६ दशमलव ३ प्रतिशत रहेको सञ्चालन नाफा दर २०७८/७९ मा ०‍.७ प्रतिशतमा झर्‍यो। त्यसपछि कम्पनी निरन्तर सञ्चालन घाटामा गएको छ। २०७९/८० मा ऋणात्मक ५.३ प्रतिशत, २०८०/८१ मा ऋणात्मक ७.३ प्रतिशत र २०८१/८२ मा पनि ऋणात्मक १.६ प्रतिशत नाफा दर कायम छ। यसले उत्पादन लागत, कच्चा पदार्थ मूल्य अस्थिरता र उच्च ब्याज खर्चले आम्दानीलाई दबाब दिएको देखाउँछ।

पुँजी संरचना झन् कमजोर बनेको छ। कुल ऋण र मूर्त खुद सम्पत्तिको अनुपात २०७८/७९ मा १.२ गुणा रहेकोमा २०७९/८० मा बढेर ९.१ गुणा पुगेको थियो। त्यसपछि निरन्तर घाटाका कारण कम्पनीको खुद सम्पत्ति नै ऋणात्मक अवस्थामा पुगेको छ, जसले ऋण-पुँजी अनुपात अस्वाभाविक रूपमा बिग्रिएको देखाउँछ। कुल बाह्य दायित्वको अनुपात पनि अत्यधिक उच्च अवस्थामा पुगेको छ।

ऋण भुक्तानी क्षमताका सूचकहरूमा पनि तीव्र गिरावट आएको छ। २०७७/७८ मा ५.२ गुणा रहेको ब्याज भुक्तानी क्षमता २०७८/७९ मा ०.५ गुणामा झर्‍यो। त्यसपछि लगातार ऋणात्मक अवस्थामा पुगेको यो सूचक २०८१/८२ मा ऋणात्मक ०.२ गुणामा सीमित छ।

ऋण सेवा आवरण अनुपात २०७७/७८ मा ४ गुणा रहेकोमा पछिल्ला वर्षहरूमा ऋणात्मक हुँदै २०८१/८२ मा लगभग शून्य अवस्थामा पुगेको छ। यसले आन्तरिक नगद प्रवाहबाट ऋण भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको संकेत गर्छ। हालसम्मको अभाव भने नयाँ पुँजी थप तथा बैंक कर्जा सीमाको उच्च उपयोगमार्फत व्यवस्थापन गरिएको देखिन्छ। 

कार्यशील पुँजी व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ। कार्यशील पुँजी र सञ्चालन आम्दानीको अनुपात २०७८/७९ मा १३ प्रतिशतमा झरेको थियो। तर २०७९/८० मा ३५ प्रतिशत र २०८०/८१ मा १०९ प्रतिशतसम्म उक्लियो। २०८१/८२ मा केही सुधार भई ६९ प्रतिशतमा सीमित भए पनि यो स्तर अझै उच्च मानिन्छ। चालु अनुपात २०७७/७८ मा १.२ गुणा रहेकोमा क्रमशः घट्दै २०८१/८२ मा ०.७ गुणामा झरेको छ, जसले अल्पकालीन दायित्व वहन क्षमता कमजोर भएको देखाउँछ।

आम्दानीमा सीमित सुधार भए पनि निरन्तर घाटा, ऋणको बढ्दो चाप र कमजोर नगद प्रवाहका कारण कम्पनीको वित्तीय अवस्था अझै दबाबमा देखिएको छ।


प्रकाशित : बिहीबार , माघ २९ २०८२०८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend