शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २८ २०८२
विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

विश्वभर विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसम्बन्धी सबै तहका विषयहरूमा लामो समयदेखि लैंगिक असमानता रहँदै आएको छ। महिलाहरूले उच्च शिक्षामा सहभागिता विस्तार गर्ने दिशामा उल्लेखनीय प्रगति गरे तापनि यी क्षेत्रहरूमा उनीहरूको प्रतिनिधित्व अझै पनि न्यून छ।

काठमाडौं- आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तर्राष्ट्रिय दिवस हो। महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै यो दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ।

संयुक्त राष्ट्रसंघले २२ डिसेम्बर २०१५ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ११ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेअनुरूप सन् २०१६ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो।

विश्वभर विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसम्बन्धी सबै तहका विषयहरूमा लामो समयदेखि लैंगिक असमानता रहँदै आएको छ। महिलाहरूले उच्च शिक्षामा सहभागिता विस्तार गर्ने दिशामा उल्लेखनीय प्रगति गरे तापनि यी क्षेत्रहरूमा उनीहरूको प्रतिनिधित्व अझै पनि न्यून छ।

लैंगिक समानता संयुक्त राष्ट्रसंघको प्रमुख ‘एजेन्डा’मध्ये एक रहँदै आएको छ। महिला तथा बालिकाहरूको सशक्तीकरण र लैंगिक समानताले विश्वको आर्थिक विकासमा मात्र नभई दिगो विकासका लागि २०३० कार्यसूचीअन्तर्गतका सबै लक्ष्य तथा उद्देश्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उक्त विश्व संस्थाले बताउँदै आएको छ।

महिलासम्बन्धी राष्ट्रसंघीय आयोगले सन् २०११ मार्च १४ मा सम्पन्न आफ्नो ५५ औँ अधिवेशनमा शिक्षा, तालिम तथा विज्ञान र प्रविधिमा महिला तथा बालिकाहरूको पहुँच र सहभागिता विस्तार तथा पूर्ण रोजगारी र सम्मानजनक काममा महिलाको समान पहुँच प्रवद्र्धन गर्ने विषयमा सहमत निष्कर्षसहितको प्रतिवेदन पारित गरेको थियो।

त्यसैगरी सन् २०१३ डिसेम्बर २० मा महासभाले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी प्रस्ताव पारित गर्दै सबै उमेर समूहका महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि र नवप्रवर्तनमा पूर्ण तथा समान पहुँच र सहभागिता सुनिश्चित गर्नु लैंगिक समानता र महिला सशक्तीकरणका लागि अपरिहार्य भएको बताएको थियो।

विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा प्रत्येक बालिकाले आफ्नो भविष्यको कल्पना गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने तथा प्रत्येक महिलाले आफ्नो वैज्ञानिक करियरमा निरन्तर प्रगति गर्न सक्ने अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।

यस अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले वक्तव्य जारी गर्दै विज्ञान तथा प्रविधिमा महिला तथा बालिकाको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। रासस


प्रकाशित : बुधबार, माघ २८ २०८२१०:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend