काठमाडौं- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकको रिठेपानी डाँडा १४ मिटर कटान नहुँदासम्म विमानस्थलमा क्यालिब्रेसन उडान नहुने भएको छ।
विमानस्थल आयोजनाका इन्जिनियर बिनेस मुनाकर्मीले विमानस्थलको निर्माणको काम सकिसँगै १४ मिटर डाँडा कटान नहुँदासम्म निर्माण कम्पनीले क्यालिब्रेसन उडान हुने नसक्ने जानकारी दिएको बताए।
‘विमानस्थल निर्माणको काम ९३ प्रतिशत सम्पन्न भइसकेको छ,’ उनले भने, ‘विमानस्थल निर्माणको काम तोकिएकै समयमा सकिए पनि क्यालिब्रेसन उडान गर्न भने १४ मिटर डाँडा कटान गर्नुपर्ने भएको छ।’
डाँडा कटानका लागि अहिले वन तथा वातावरण मन्त्रालयमा पुरक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पास हुने काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ। 'पुरक रिर्पोटका लागि गर्नुपर्ने सबै काम सकिएको छ’, उनले भने ‘अबको केही दिनभित्रै ७ दिनको समय दिएर वन तथा वातावरण मन्त्रालयले सुझाव माग्नका लागि सार्वजनिक गर्ने छ।’
सुझाव माग भएसँगै आएको सुझावलाई समावेश गरी वातावारणीय प्रभाव मूल्यांकन रिर्पोट स्वीकृत हुनेछ। पुरक वातावरणीय प्रभाव मूल्यांकन पास भएपछि टेन्डर गरेर डाँडा कटानको काम सुरु हुने छ। विमानस्थल सञ्चालनका लागि ४० मिटर डाँडा कटानी हुने पर्ने भएपनि क्यालिब्रेसन उडानका लागि भने १४ मिटर मात्रै डाँडा कटान गर्नु पर्ने ठेकेदारले जानकारी गराएको उनको भनाइ छ।
अहिले विमानस्थल निर्माणको काम धमाधम भइरहेको छ। विमानस्थलमा जडान हुने सञ्चार उपकरण जडान लगायत फिनिसिङको काम भइरहेको र जुलाईभित्रै काम सम्पन्न हुने मुनाकर्मीले जानकारी दिए। ‘विमानस्थल निर्माणमा बाँकी रहेको काम अहिले तीब्रताका साथ भइरहेको छ’, उनले भने, ‘विमानस्थल निर्माणमा ९३ प्रतिशत काम सम्पन्न भएको छ।’
अहिले विमानस्थलमा निर्माण भएको टर्मिननल भवनसहितका १४ वटा भवनमा फिनिसिङ गर्ने काम भइरहेको उनको भनाइ छ। विमानस्थल निर्माणका लागि आवश्यक सबै उपकरण साइटमा आइसकेका कारण अब निर्माणमा कुनै पनि समस्या नआउने मुनाकर्मी बताउँछन्।
उनका अनुसार २०२२ को जुलाईसम्म विमानस्थल निर्माणको काम सम्पन्न हुन्छ। अहिले विमानस्थलमा निर्माण भएका भवनभित्रको सजावट र बाहिरको सौन्दर्यकरणको काम पनि भइरहेको छ।
‘हाम्रो लक्ष्य २०२१ को जुलाईसम्म निर्माण सम्पन्न गर्ने भए पनि ६ महिना अगाडि नै विमानस्थल निर्माणको काम सक्ने भन्ने नै थियो’, उनले भने, ‘कोरोनाका कारण तोकिएको समयमा पनि काम सम्पन्न नभएपछि एक वर्षको समय थप भएको थियो। अब थप भएको समयभित्रै निर्माणको काम सम्पन्न हुन्छ।’
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रबर्द्धन गर्ने सरकारी लक्ष्य छ। सन् २०११ मा आयोजना सुरु भएता पनि नेपाल सरकार र चीन सरकारबीच २०१७ मार्चमा ऋण सम्झौता भइ सन् २०२१ सम्म सम्पन्न गर्ने लक्ष्यसहित काम थालनी भएको थियो।
चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। तर अहिले समय थप गरी २०२२ को जुलाईसम्म काम सक्ने लक्ष्य लिइएको छ। यो आयोजनाको कुल अनुमानित लागत २१ अर्ब ६० करोड रहेको छ।
आर्थिक वर्ष २०७५/७६ मा नै यो आयोजनको धावनमार्ग ट्याक्सी वे र एप्रोन निर्माण गर्ने कार्य सम्पन्न भएको थियो। अहिले विमानस्थलभित्र बन्ने टर्मिनल भवन र अन्य १४ वटा भवनहरू निर्माण काम सम्पनसँगै फिनिसिङको चरणमा छ।
अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मादण्डअनुसार फोरडी मोडलमा निर्माण हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यस्तरका जहाजबाट उडान तथा अवसतरण गर्न सकिने छ।
डाँडा कटानीको काम ६ महिनाभित्रै गर्ने राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति निर्देशन दिएको पनि एक वर्ष भइसकेको छ। समितिले २०७७ फागुनमा निर्देशन दिएको थियो। तर वन तथा वातावरण मन्त्रालयको लामो प्रक्रियाका कारण डाँडा कटानीमा ढिला भएको छ। जसका कारण विमानस्थल सञ्चालनमा समेत ढिला हुने भएको छ।