बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

प्राविधिक समस्यापछि विश्वस्त भएनन् लगानीकर्ता, १०१ अंकको वृद्धिपछि पनि मिलेन साथ

मंगलबार, चैत १ २०७८
प्राविधिक समस्यापछि विश्वस्त भएनन् लगानीकर्ता, १०१ अंकको वृद्धिपछि पनि मिलेन साथ

काठमाडौं- टीएमएसमा देखिएको समस्याले सोमबार रोकिएको सेयर बजारमा मंगलबार गिरावट देखिएको छ। आइतबार १०१ अंकले बढेर सोमबार प्रभावित भएको सेयर बजारमा मंगलबार १७.१५ अंकले गिरावट आएको हो। 

सोमबारको समस्याले मंगलबार लगानीकर्ता विश्वस्त नहुँदा बजारमा झिनो गिरावट देखिएको विश्लेषकहरूले बताएका छन्। मंगलबार १७.१५ अंकले घटेर बजार २६५०.९७ बिन्दुमा झरेको छ। मंगलबार ३ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको छ। 

चैतमा ब्याजदर नबढाउने वाणिज्य बैंकहरूको भद्र सहमतिले यो साता कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको थियो। आइतबार बजार १०१.०७ अंकले बढेर २६६७.९७ बिन्दुमा पुगेको थियो।

सोमबार भने टीएमएसमा समस्या आएर १ घण्टा ५३ मिनेट मात्र कारोबार हुँदा बजार रोकिएको थियो। जसमा १ अर्ब ३४ करोड रुपैयाँ मात्रै कारोबार हुन सकेको थियो। दोस्रो बजारको अनलाइन कारोबार प्रणालीको सफ्टवेयरमा समस्या आएको बताइएको थियो। जसले बजारमा पारेको असर मंगलबार समेत खुलेर कारोबार हुन सकेन। 

लगातार घटिरहेको सेयर बजारको ओरालो लाग्ने क्रम गत साताको बिहीबारदेखि रोकिएको थियो। बिहीबार ५२ अंकले बजार बढेको थियो।

बैंकहरूले ऋण नदिए पनि नगद भएका लगानीकर्ताले सेयर बजारमा लगानी गर्न थालेकाले बजारमा सुधारको संकेत देखिएको विश्लेषण भइरहँदा मंगलबार भने बजारमा गिरावट देखिएको छ। लगानीकर्ताले सोमबारको अवस्थापछि विश्वस्त हुन नसक्दा मंगलबारको बजारमा असर देखिएको विश्लेषकहरूले बताएका छन्। बाँकी सबै परिस्थिति बजारको उकालो यात्रामा सहयोगी हुने देखिएको उनीहरूको भनाइ छ। 

चैत महिनामा नेपाल बैंकर्स संघले ब्याजदर नबढाउने निर्णयसमेत गरिसकेको छ। बैंकर्स संघको बैठकले चैत महिनामा ब्याज नबढाउने सहमति गरेका हुन्। संघको निर्णयसँगै चैतमा फागुनकै ब्याजदर लागु हुनेछ। यसको सेयर बजारमा सकारात्मक प्रभाव पर्ने आँकलन भइरहेका छन्। जसअनुरुप नै आइतबार सेयर बजारमा १०१ अंकको वृद्धि देखिएको थियो। प्राविधिक समस्या नआए त्यसको निरन्तरता हुँदै बजार उकालो यात्रामै लाग्ने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : मंगलबार, चैत १ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend