काठमाडौं- घरेलु औषधि उद्योगमा स्थापित पहिचान बनाइसकेको देउराली जनता फर्मास्युटिकल्स प्रालिले चितवनमा ४ अर्ब ७५ करोड रुपैयाँ लगानीमा नयाँ औषधि उत्पादन कारखाना थप्ने भएको छ। उत्पादन क्षमता विस्तार, बढ्दो घरेलु मागको व्यवस्थापन र आयात प्रतिस्थापनलाई लक्षित गर्दै कम्पनीले लगानी योजना अघि सारेको हो।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीको वित्तीय कार्यसम्पादन पछिल्ला वर्षमा सुदृढ बन्दै गएको छ। देउराली जनताले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३२ करोड ७० लाख रुपैयाँले बढी हो। आम्दानी वृद्धिसँगै कम्पनीले उत्पादन विस्तारका लागि दीर्घकालीन रणनीतिअन्तर्गत नयाँ कारखाना थप्ने निर्णय गरेको देखिन्छ।
कम्पनीले अल्पकालीन तथा दीर्घकालीन प्रयोजनका लागि कुल १ अर्ब ६ करोड रुपैयाँ बराबरको बैंक कर्जाका लागि रेटिङ गराएको छ। इक्राका अनुसार देउराली जनतासँग घरेलु बजारमा २०० भन्दा बढी वितरक समेटिएको बलियो आपूर्ति तथा वितरण सञ्जाल छ, जसले बिक्री स्थायित्व र बजार पहुँचलाई सुदृढ बनाएको छ।
इक्राले आफ्नो विश्लेषण प्रतिवेदनमा कम्पनीका बलिया पक्षका रूपमा साढे तीन दशकभन्दा लामो उद्योग अनुभव, दक्ष प्रवर्द्धक तथा व्यवस्थापन टोली, घरेलु औषधि उद्योगमा स्थापित ब्रान्ड छवि र प्रभावकारी बिक्री प्रणालीलाई उल्लेख गरेको छ। यी पक्षहरूले कम्पनीलाई विस्तार योजनामा जान सक्षम बनाएको इक्राको निष्कर्ष छ।
यद्यपि प्रतिवेदनले केही जोखिम र चुनौतीहरूप्रति पनि संकेत गरेको छ। नेपालमा औषधि उत्पादन क्षेत्रमा ५० भन्दा बढी उद्योग सक्रिय रहेकाले प्रतिस्पर्धा उच्च रहेको उल्लेख छ।
साथै सन् २०२६ नोभेम्बरमा नेपाल अतिकम विकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति भएपछि आयातित कच्चा पदार्थमा प्राप्त हुँदै आएको भन्सार तथा कर सुविधा अन्त्य हुने देखिन्छ। नेपाली औषधि उद्योगहरू कच्चा पदार्थका लागि ठूलो मात्रामा आयातमा निर्भर भएकाले यसले लागत वृद्धि, नाफामा दबाब र विस्तार क्षमतामा चुनौती ल्याउन सक्ने इक्राको आँकलन छ।
सन् १९९१ मा स्थापना भएको देउराली जनता फर्मास्युटिकल्स नेपालका पुराना र स्थापित औषधि उत्पादक कम्पनीमध्ये एक हो। कम्पनीले मुटुरोग, मधुमेह, स्त्रीरोग तथा शिशु हेरचाह, ग्यास्ट्रो र हेपाटोलोजी, छालारोगलगायत सामान्य तथा विशेष प्रकृतिका औषधिहरू उत्पादन गर्दै आएको छ। हाल कम्पनीले २५० भन्दा बढी प्रकारका औषधि बजारमा आपूर्ति गरिरहेको छ।
कम्पनीका कार्यकारी निर्देशक तथा अध्यक्ष हरिभक्त शर्मा हुन्। कम्पनीको कुल सेयरमध्ये ७१ प्रतिशत स्वामित्व शर्माकै रहेको छ।
चितवनमा प्रस्तावित नयाँ कारखाना सञ्चालनमा आएपछि देउराली जनताको उत्पादन क्षमता उल्लेख्य रूपमा बढ्ने, रोजगारी सिर्जना हुने र घरेलु औषधि बजारमा स्वदेशी उत्पादनको हिस्सा थप मजबुत हुने अपेक्षा गरिएको छ।