शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

एआईमा ऐतिहासिक लगानीका लागि ठूला प्रविधि कम्पनीको दौडधुप, ६६० अर्ब डलरभन्दा बढी खर्च हुने

सोमबार, फागुन ४ २०८२
एआईमा ऐतिहासिक लगानीका लागि ठूला प्रविधि कम्पनीको दौडधुप, ६६० अर्ब डलरभन्दा बढी खर्च हुने

काठमाडौं- विश्वका ठूला प्रविधि कम्पनीहरू यस वर्ष एआईमा अभूतपूर्व लगानी गर्न लागिपरेका छन्। एआईमा तीव्र रूपमा बढ्दै गएको लगानीलाई धान्न उनीहरूले दशौँ अर्ब डलर नयाँ पुँजी जुटाउनुपर्ने अवस्था देखिएको छ। अत्यधिक नाफा कमाउने यी कम्पनीहरूमा समेत नगद प्रवाहभन्दा बढी खर्च बढिरहेको छ।

गुगलको मातृ  कम्पनी अल्फाबेट साथै अमेजन र मेटाले पछिल्ला दुई सातामा सार्वजनिक गरेका एआई खर्च योजनाको आकारले लगानीकर्तालाई चकित पारेको छ। धेरैले इन्टरनेटपछिको सबैभन्दा ठूलो नवप्रवर्तनको लहर मानिरहेको एआई क्षेत्रमा प्रभुत्व जमाउने प्रतिस्पर्धामा यी कम्पनीहरूले यस वर्षमात्रै चिप्स र डेटा सेन्टरमा ६६० अर्ब डलरभन्दा बढी लगानी गर्ने तयारी गरेका छन्।

यति ठूलो पूर्वाधार निर्माणले ठूला प्रविधि कम्पनीका कार्यकारीहरूलाई कठिन निर्णय लिन बाध्य बनाउने देखिन्छ। उनीहरूले सेयरधनीलाई दिइने प्रतिफल घटाउने, नगद सञ्चिति प्रयोग गर्ने वा पहिलेको भन्दा बढी ऋण तथा सेयर बजारबाट पुँजी उठाउने विकल्पमध्ये कुनै एक रोज्नुपर्नेछ। यसले उच्चस्तरीय ऋणपत्र जारी गर्ने प्रवृत्ति बढ्नेछ। प्रविधि तथा मिडिया कम्पनीहरूले यस वर्ष कम्तीमा ३३७ अर्ब डलरबराबरका उच्चस्तरीय बन्ड जारी गर्नेछन्।

यस्ता योजनाप्रति सेयरधनीहरू चिन्तित बनेपछि पछिल्ला दिनमा ठूला प्रविधि कम्पनीका सेयरमा तीव्र गिरावट आएको थियो। लगानी कहिले प्रतिफलमा परिणत हुन्छ भन्ने अनिश्चितताले बजार दबाबमा परेको हो। यद्यपि अहिले केही सेयरमा आंशिक सुधार देखिएको अवस्था छ।

फाइनान्सियल टाइम्सका अनुसार अमेजनले गएको शुक्रबार नियामक निकायमा दिएको विवरणमार्फत ऋण वा सेयरमार्फत नयाँ पुँजी उठाउने संकेत गरेको छ। यद्यपि रकम र समयतालिका खुलाइएको छैन। उक्त घोषणापछि अमेजनको सेयर मूल्य ५.६ प्रतिशतले घटेर बन्द भयो। एसएन्डपी क्यापिटल आईक्यूका अनुसार यस वर्ष अमेजनको योजनाबद्ध २०० अर्ब डलरको पुँजीगत खर्च, सञ्चालनबाट आउने अनुमानित १८० अर्ब डलर नगदभन्दा बढी हुने देखिएको छ।

उता ओरेकलले एआईमा ठूलो दाउ लगाउने क्रममा गत साता २५ अर्ब डलरको बन्ड जारी गरेको छ। यसले च्याटजिपिटी निर्माता ओपनएआईलाई कम्प्युटिङ शक्ति उपलब्ध गराउन गरिएको ३०० अर्ब डलरको सम्झौताको वित्तीय व्यवस्थापनबारे लगानीकर्ताको चिन्ता कम गरेको छ।

टीडी सेक्युरिटिजका अनुसार आउँदो सातामात्रै ८० अर्ब डलरसम्मका लगानी–ग्रेड कर्पोरेट बन्ड जारी हुन सक्छन्। जुन सामान्य मौसमी दरभन्दा दोबर हो। अमेजन, मेटा र अल्फाबेटजस्ता कम्पनीहरूबाट ‘मेगा डिल’ आउन सक्ने अनुमान छ।

च्याटजिपिटी, गुगलको जेमिनी र एन्थ्रोपिकको क्लाउडजस्ता एआई प्रणाली प्रशिक्षण र सञ्चालनका लागि नयाँ पूर्वाधार निर्माणमा हुने लगानीको आकारले अहिलेसम्म अत्यधिक नगद सिर्जना गर्दै आएका यी कम्पनीहरूको नाफालाई समेत छायामा पार्ने खतरा बढेको छ।

ओरेकल, अल्फाबेट, अमेजन र मेटाको फ्री क्यास फ्लो ‘ऋणात्मक दिशातर्फ खस्न’ थालेको संकेत देखिएको छ। माइक्रोसफ्ट मात्रै अहिलेसम्म तुलनात्मक रूपमा बलियो देखिएको जनाइएको छ।

मेटाले यस वर्ष अधिकतम १३५ अर्ब डलरसम्म पुँजीगत खर्च गर्ने जनाएको छ। जब कि सञ्चालनबाट आउने नगद १३० अर्ब डलर हुने अनुमान छ। फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले गत अक्टोबरमा ३० अर्ब डलर उठाउँदै इतिहासकै सबैभन्दा ठूलो बन्ड बिक्री गरेको थियो।

अल्फाबेटले अनुमानित १९५ अर्ब डलर सञ्चालन नगदबाट १८५ अर्ब डलरको क्यापेक्स धान्ने अपेक्षा गरिएको छ। तर सेयर पुनः खरिद र लाभांश भुक्तानीसमेत गर्नुपर्ने दबाब छ। कम्पनीको दीर्घकालीन ऋण २०२४ को १०.९ अर्ब डलरबाट गत वर्ष ४६.५ अर्ब डलरमा पुगेको छ।

यी इन्टरनेट कम्पनीहरू ‘कम पुँजी चाहिने व्यवसाय मोडेलबाट बढी पुँजीकेन्द्रित मोडेलतर्फ सर्दैछन्’ भन्ने चिन्ताले हालै प्रविधि कम्पनीको सेयरमा दबाब सिर्जना गरेको बताइन्छ। यसले उनीहरूको नगद प्रवाह पहिलेभन्दा कम देखिने र कम अनुमानयोग्य बनाएको छ।

 


प्रकाशित : सोमबार, फागुन ४ २०८२१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend