काठमाडौं- सरकारले आईसी इन्जिनयुक्त कारको तुलनामा विद्युतीय कारमा कर सहुलियत दिएकाले केही वर्षयता विद्युतीय कारको बिक्री उल्लेख्य बढेको छ। सोही कारण नेपालमा तीन/चार वर्षयता विद्युतीय कार नै मेनस्ट्रिम बनिसकेको छ।
आईसी इन्जिन कारको आयात पनि भइरहेको छ। विशेषगरी सुजुकी, हुन्डाई, किया, टोयोटालगायत ब्रान्डले धेरै आईसी इन्जिन कार आयात गरिरहेका छन्। सुजुकी र टोयोटाका आईसी इन्जिन कारमात्र आयात भइरहेका छन्।
२०२६ को जनवरीमा नेपाली बजारमा २५ ब्रान्डका कार आयात भएको भन्सारको तथ्यांक छ। आयात भएकामध्ये धेरै कार विद्युतीय छन्।
विद्युतीय कारमा पनि ५० किलोवाट र १ सय किलोवाट मोटर क्षमताको सेगमेन्टका धेरै छन्। सरकारले नेपालमा आयात हुने विद्युतीय कारमा मोटर क्षमताका आधारमा कर लाग्ने व्यवस्था गरेको छ।
२०२६ को जनवरीमा १ हजार ३३ वटा प्यासेन्जर कार आयात भएको छ। यसमा विद्युतीय तथा आईसीई दुवै प्रकारका कार रहेका छन्।
जनवरी महिनामा सबैभन्दा धेरै कार टाटा मोटर्सका आयात भएको छन्। टाटा मोटर्सका कार नेपाली बजारमा सिप्रदी ट्रेडिङले आयात गर्दै आएको छ। आयात भएकामध्ये अधिकांश विद्युतीय कार रहेका छन्। २०२६ को पहिलो महिनामा सिप्रदीले २ सय ५३ वटा कार आयात गरेको हो।
टाटाका विद्युतीय कार टियागो ईभी, पन्च ईभी, एक्सप्रेस- टी ईभी, नेक्सन केथ्री ईभी र कर्भ ईभी आयात गर्दै आएको छ। त्यस्तै सिप्रदीले टाटाका आईसी इन्जिन कार पनि आयात गर्दै आएको छ। तर आईसी इन्जिन कारको संख्या न्यून रहेको छ।
टाटापछि धेरै आयात हुनेमा महिन्द्रा रहेको छ। जनवरीमा महिन्द्राका १ सय ३२ वटा कार आयात भएको छ। महिन्द्राका स्कर्पियो, बोलेरोसहित बीई सिक्स ईभी र एक्सईभी नाइन ईलगायत कार आयात हुँदै आएको छ। तेस्रो स्थानमा बीवाईडीका कार आयात भएको छ। जनवरीमा बीवाईडीका १ सय १७ वटा विद्युतीय कार आयात भएको तथ्यांक छ।
हुन्डाईका कार तयारीभन्दा धेरै सीकेडी आयात हुँदै आएको छ। हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा र भेन्यु नेपालमै उत्पादन गर्दै आएको छ। सीकेडीको संख्या एकिन नभएपनि हुन्डाईका तयारी कार भने जनवरीमा १६ वटा आयात भएका छन्।
त्यस्तै चेरी अटोमोबाइलको सबब्रान्ड आईकार जनवरीमा १ सय वटा आयात भएको छ। चेरी अटोमोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले आईकारसँगै ओमोडा एन्ड जेइको ब्रान्डका विद्युतीय कार पनि आयात गर्दै आएको छ। कम्पनीले जेइकोका जे फाइभ र जे सिक्क, ओमोडाको ई फाइभ विद्युतीय एसयूभी आयात गर्दै आएको छ। आईकार भी२३ डिसेम्बरमा ५० वटा आयात भएको थियो भने २०२६ जनवरीमा १ सय वटा आयात भएको छ।
२०२६ जनवरीमा डोङफेङको नामी ब्रान्डका विद्युतीय कार ८० वटा र दिपलको एस०५ ७० वटा आयात भएको तथ्यांक छ। नामी र दिपल ब्रान्डका विद्युतीय कार एमएडब्लू समूहले आयात गर्दै आएको छ। एमएडब्लू समूहले विद्युतीय सवारी बिक्रीमा बलियो सर्भिस तथा बिक्री नेटवर्कसँगै आफूलाई स्थापित गरिसकेको छ। नामी र दिपल दुवै ब्रान्डका विद्युतीय कार नेपाली उपभोक्तामाझ लोकप्रिय रहेको छ।
त्यस्तै २०२६ जनवरीमा कियाका ६१, सुजुकीका ६०, जेएमईभीका २५, निसानका २०, इसुजुका २०, हुन्डाईका १८(एसेम्बल बाहेक), जीलीका १७, फक्सवागनका १३ र ओराका १० वटा कार आयात भएका छन्।
यी हुन् २०२६ जनवरीमा आयात भएका कारहरु :
टाटा- २५३
महिन्द्रा- १३२
बीवाईडी- ११७
चेरी(आईकार)- १००
डोङफेङ(नामी)- ८०
दिपल- ७०
किया- ६१
सुजुकी- ६०
जेएमईभी- २५
निसान- २०
इसुजु- २०
हुन्डाई- १८(एसेम्बल बाहेक)
जीली- १७
फक्सवागन- १३
ओरा- १०
टोयोटा- ८
स्कोडा- ८
लिपमोटर- ७
ल्यान्ड रोभर- ६
जुनियो- ६
अउडी- २
फोर्ड- १
माज्दा- १
एलएस अटो- १
ज्यागुअर- १