शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भारत-अमेरिका व्यापार सम्झौता : हार्लेडेभिडसनका मोटरसाइकल भारतमा सस्तो हुने, हिरोसँगको साझेदारीमा असर पर्ने सम्भावना न्यून

आइतबार, माघ २५ २०८२
भारत-अमेरिका व्यापार सम्झौता : हार्लेडेभिडसनका मोटरसाइकल भारतमा सस्तो हुने, हिरोसँगको साझेदारीमा असर पर्ने सम्भावना न्यून

भारतले अमेरिकाबाट आयात गरिने ठूला इन्जिन क्षमता भएका मोटरसाइकलहरूमा लाग्दै आएको उच्च भन्सार शुल्क घटाउन सहमति जनाएको छ।

काठमाडौं- अब हार्नेडेभिडसनका मोटरसाइकल भारतीय बजारमा सस्तो मूल्यमा उपलब्ध हुने भएको छ। अमेरिकामा बनेर भारत आउने तयारी मोटरसाइकलको मूल्य घट्ने भएको हो। 

अमेरिका र भारतबीच भएको द्विपक्षीय व्यापार सम्झौताको परिणामस्वरूप अमेरिकी मोटरसाइकल ब्रान्ड हार्लेडेभिडसनका मोटरसाइकलहरू भारतमा सस्तो हुने भएका हुन्। यो सम्झौताले विशेषगरी प्रिमियम मोटरसाइकल बजारमा ठूलो हलचल ल्याउने अनुमान गरिएको छ।

महँगो करका कारण हार्ले भारतमा हिरोसँगको साझेदारी गरेर प्रत्यक्ष व्यापारबाट बाहिरिने निर्णय गरेको थियो। भारतमा तयारी मोटरसाइकल आयातमा १ सय प्रतिशतसम्म भन्सार लाग्ने व्यवस्था रहेको छ। ८ सय सीसीभन्दा बढी इन्जिन क्षमताका आयातीत मोटरसाइकलमा यस्तो कर लाग्ने व्यवस्था छ। 

भारतले अमेरिकाबाट आयात गरिने ठूला इन्जिन क्षमता भएका मोटरसाइकलहरूमा लाग्दै आएको उच्च भन्सार शुल्क घटाउन सहमति जनाएको छ। यसअघि यी मोटरसाइकलहरूमा लाग्ने उच्च करका कारण भारतमा हार्लेका मोडेलहरूको मूल्य धेरै महँगो थियो। नयाँ सम्झौतासँगै कम्प्लिटी बिल्ड युनिटको रूपमा आयात गरिने मोटरसाइकलहरूको मूल्यमा उल्लेख्य गिरावट आउनेछ।

अमेरिकी राष्ट्रपति केही समयअघि भारतलाई 'धेरै कर लगाउने राष्ट्र' भनेका थिए। 'जब हामी भारतमा मोटरसाइकल पठाउँछौँ, उनीहरूले १ सय प्रतिशत कर लगाउँछन्,' ट्रम्पले भनेका थिए, ‘भारतले जब हामी मोटरसाइकल पठाउँछ तब हामी कुनै कर लगाउँदैनौँ।’ ट्रम्पको भनाइमा भारतले अमेरिकाबाट जाने मोटरसाइकलमा न्यून कर लगाओस् वा कर नै नलगाओस् भन्ने थियो।

हालै भएको भारत तथा अमेरिकाबीचको व्यापार सम्झौतापछि भारतले अमेरिकाबाट आयात हुने मोटरसाइकलमा न्यून कर लगाउन सहमत भएको हो। त्यस्तै भारतले युरोपियन युनियनबाट आउने कारमा पनि कर कम गर्दै जाने गरी केही समयअघि व्यापार सम्झौता गरेको थियो।  

हिरो मोटोकर्पसँगको साझेदारी

हार्लेडेभिडसनले भारतमा हिरो मोटोकर्पसँग साझेदारी गरेको छ। यो सम्झौताले हिरो र हार्लेको संयुक्त उपक्रमलाई खासै नकारात्मक असर नपार्ने विश्लेषण गरिएको छ। किनभने हिरोले भारतमै उत्पादन गर्ने हार्लेका मोडेलहरू पहिले नै किफायती मूल्यमा छन्। नयाँ शुल्क कटौतीले मुख्यतया अमेरिकाबाट सिधै आयात हुने हाइ इन्ड र महँगा क्रुज मोटरसाइकलहरूलाई मात्र सस्तो बनाउनेछ।

विज्ञहरूका अनुसार यो कदमले हार्लेडेभिडसनलाई भारतमा आफ्नो उपस्थिति बलियो बनाउन मद्दत गर्नेछ। यसले गर्दा अन्य प्रिमियम मोटरसाइकल ब्रान्डहरू जस्तैः ट्रायम्फ र बीएमडब्लूसँगको प्रतिस्पर्धा अझ रोचक हुनेछ। मूल्य घटेपछि प्रिमियम सेगमेन्टका मोटरसाइकल सौखिनहरूका लागि हार्लेका प्रतिष्ठित मोडेलहरू थप पहुँचयोग्य हुनेछन्।


प्रकाशित : आइतबार, माघ २५ २०८२१६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend