काठमाडौं- भारतबाट फर्किने घोषणा गरेको करिब ५ वर्षपछि अमेरिकी कार उत्पादक कम्पनी फोर्ड मोटर्सले फेरि भारतीय प्लान्टबाट उत्पादन सुरु गर्ने भएको छ। फोर्डले आगामी जुनदेखि भारतीय प्लान्टबाट नयाँ पुस्ताको इन्जिन उत्पादन सुरु गर्ने भएको हो।
२०२१ सेप्टेम्रबमा फोर्डले भारतबाट उत्पादन तथा बिक्री बन्द गरेर बाहिरिने घोषणा गरेको थियो। व्यापक घाटा बेहोरेको भन्दै यस्तो निर्णयमा पुगेको फोर्डले जनाएको थियो। भारतमा उत्पादित फोर्डका इकोस्पोर्ट, फिगो, इन्डेभरलगायत मोडल भारतसहित नेपाली बजारमा पनि उल्लेख्य संख्यामा बिक्री हुन्दै आएको थियो।
उत्पादन र बिक्री बन्द गर्ने निर्णय गरेको फोर्डले भारतमा रहेका दुवै प्लान्ट भने बिक्री गरेको थिएन। गुजरातमा रहेको प्लान्ट बेचेको फोर्डले तामिलनाडूमा रहेको प्लान्ट बेचेको थिएन। यसले पनि फोर्ड भारतबाट बाहिरिने निर्णय गर्दा पनि उसले भारतलाई रणनीतिक महत्वको रुपमा राखेको देखिन्छ।
जुन २०२६ बाट तामिलनाडूमा रहेको फोर्डको प्लान्टबाट कार उत्पादन सुरु भएपनि ती कारहरु तत्काललाई भारतीय बजारमा बिक्री हुने छैनन्। उक्त प्लान्टबाट नयाँ पुस्ताको इन्जिन उत्पादनबाट सुरु भएर क्रमिक रुपमा कार उत्पादनतार्फ जानेछ।
फोर्डले अब भारतमा ३२ अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी गर्ने बताएको थियो। उक्त लगानीसँगै फोर्डले भारतको तामिलनाडू प्लान्टबाट २०२६ को मध्येतिरबाट इन्जिन उत्पादन सुरु गर्ने छ। उक्त प्लान्टबाट सुरुमा वार्षिक २ लाख ३५ हजार वटा इन्जिन उत्पादन गर्ने योजना फोर्डले अघि सारेको छ।
२०२४ मा फोर्डले चेन्नइ प्लान्टबाट निर्यात प्रयोजनका लागि मात्र कार उत्पादन गर्ने बताएको थियो। अमेरिकी सरकारले आयात हुने सामानमा कर बढाएपछि फोर्डले उक्त निर्णयलाई पेन्डिङमा राखेको थियो। २०२५ को अन्त्यतिर आइपुग्दा फोर्डले तामिलनाडू प्लान्टबाट इन्जिन उत्पादन गर्ने प्रस्ताव त्यहाँको सरकारसँग राखेको र उक्त प्रस्तावअनुसार तामिलनाडू सरकार र फोर्डबीच एमओयू नै भइसकेको छ।
फोर्ड मोटर कम्पनीले सन् १९९० को मध्यमा भारतमा पहिलो फ्याक्ट्री स्थापना गर्दा उसले चीनको जस्तैगरि बजार विस्तार हुने अपेक्षा राखेको थियो। भारतले १९९१ मा अर्थतन्त्रको उदारीकरणलाई स्वीकार गरेको थियो। त्यो नीति अख्तियार गरेसँगै भारत सरकारले सबैखाले लगानीलाई स्वागत गरिरहेको थियो। उदारीकरणको विस्तारसँगै आम मानिसको खर्च गर्ने क्षमता बढ्दै गयो।
यो समयसम्म भारतमा निजी कारको खपत ज्यादै न्यून थियो। त्यसमा पनि विदेशी कार उत्पादकहरूको बजार हिस्सा पुग नपुग १० प्रतिशत थियो। २०२१ को अन्त्यतिर पुग्दा फोर्ड मोटरले दुई अर्ब अमेरिकी डलर सञ्चित नोक्सानी पुगेको भन्दै भारतमा कार उत्पादन बन्द गर्ने निर्णयमा पुग्यो। २०१७ मा फोर्डको अमेरिकी प्रतिस्पर्धी जनरल मोटर्ससमेत भारतमा कार उत्पादन बन्द गरेर फिर्ता भएको थियो।
फोर्डले भारत प्रवेश गर्दा जुन सपना देखेको थियो त्यो सपना २०२१ मा आइपुग्दा चकनाचुर भएको हो। भारतबाट मात्र होइन फोर्डले ब्राजिलबाट समेत फिर्ता हुने निर्णय २०२१ जनवरीमा लिएको थियो। यसकाबीच आगामी दिन भारत बलियो अर्थतन्त्रका रुपमा विश्वमञ्चमा उभिँदै छ। यही कारण पनि फोर्डले भारत योजनामा पूर्णबीराम लगाउन नचाहेको हुनसक्छ।